अर्थ

प्रदेश १ नीति तथा कार्यक्रमः सत्तारूढ सांसदकै आलोचना

प्रदेश १ को सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षी दलका सांसदहरूले मात्रै हैन सत्तापक्षका सांसदहरूले पनि आलोचना गरेका छन्। शनिबारको प्रदेशभा बैठमा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिने सत्तारुढ दल नेकपा एमालेका सांसदहरूसमेत नीति तथा कार्यक्रमको आलोचना गरेका हुन्।  

रसत्तारुढ नेकपा एमालेका सांसद घिमिरेले सरकार सत्तापक्षका सांसददेखि पनि डराएको आरोप लगाए। सांसद घिमिरेले सत्तापक्षका सांसदहरूलाई चिठ्ठी लेखेर निति तथा कार्यक्रमको पक्षमा बोल्न लगाइएको बताए। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राज भण्डारीद्वारा मुख्यमन्त्री शेरधन राईको हवला दिएर नीति कार्यक्रमको पक्षमा बोल्न चिठी पठाएको प्रदेशसभा बैठकमा घिमिरेले बताए। नीति तथा कार्यक्रमको पक्षमा बोल्नकै लागि चिठी लेखिनु संसदीय अभ्यासको गरिमालाई ठेस पुग्ने क्रियाकलाप भएको घिमिरेको भनाइ छ। ‘सरकारलाई आफ्नै सांसदहरू प्रतिसमेत विश्वास रहेन छ,’ घिमिरेले भने, ‘नीति तथा कार्यक्रमको पक्षमा बोल्न भनेर चिठी नै पठाइयो।’  

सत्तारुढ दलकी सांसद खिनुलङ्वा लिम्बुले सरकारले पेश गरेको नीति तथा कार्यक्रम गोलमोल र अष्पष्ट भएको बताइन्। गत वर्ष र यो वर्षको नीति तथा कार्यक्रम दाँज्दै उनले गत वर्ष कार्यान्वयन हुन नसकेका कार्यक्रम फेरि नीति तथा कार्यक्रममा समावेश गरेको बताइन्। ‘कार्यान्वयनमा ल्याउन नसकेका कार्यक्रम आगामी वर्षको नीति तथा कार्यक्रममा दोहोर्‍याएर ल्याइएका छन्,’ उनले भनिन्।

पहिले किन कार्यान्वयन भएनन् र अब, कसरी कार्यान्वयन हुन्छन् भन्ने आधार उल्लेख नगरी हचुवाकै भरमा नीति तथा कार्यक्रम आएको उनको टिप्पणी छ। उनले ठोस योजनासहित नभई सामान्य समन्वय गर्ने किसिमको मात्रै नीति कार्यक्रम सरकारले ल्याएको बताइन्। लिम्बुले गाउँपालिकाको वडा कार्यलय र गैरसरकारी संस्थाले गर्ने खालका कार्यक्रम प्राथमिकतामा राखेर प्रदेशसरकारले नीति तथा कार्यक्रममा समेटेको बताइन्। कार्यान्वयन गर्न नसक्ने तर, प्रत्यक वर्ष कार्यक्रम दोहोर्‍याएर ल्याउनु राम्रो नभएको लिम्बुको धारणा छ। उनले भनिन्, ‘कार्यान्वयन गर्न नसक्ने कार्यक्रम सकिंदैन भने भइगो नि किन दोहोर्‍याइ तेहेर्‍याइ नीति कार्यक्रममा ल्याउनुपर्‍यो।’ लिम्बुले कार्यान्वयन गर्ने कार्यक्रम ल्याउन र गर्न नसक्ने कार्यक्रम नीति तथा कार्यक्रममा नराख्न सुझाव दिइन्।  

रसत्तारुढ सांसद सर्वध्वज साँवाले विषम परिस्थितिमा सरकारले ल्याएको नीति तथा कार्यक्रम ठिकै रहेको बताए। साँवाले नीति तथा कार्यक्रमले यथार्थबाहेक सपना पनि देखेको टिप्पणी गरे। उनले नीति तथा कार्यक्रमको बारेमा सांसदहरूले आकाशमा उड्ने, चिलले, परेवाले, कोकालेले भूइँमा फरक–फरक चारो देखेजस्तो आ–आफ्नो दृष्टिकोण राखेको बताए। कतिपय सांसदले खिचडी भनेर पनि टिप्पणी गरेको भन्दै उनले कोरोनामा खिचडी नै भए पनि खान पाउनु राम्रै भएको बताए। ‘कतिपय माननिय ज्यूहरूले खिचडी भन्नुभयो,’ उनले भने, ‘केही त पाकेकै रहेछ नि। कोरोनाकालमा खिचडी नै भए पनि खान पाउनु राम्रै हो।’  

आगामि वर्षको नीति तथा कार्यक्रम सकारात्मक भए पनि चालु आर्थिक वर्षको बजेट कार्यान्वयन नभएकोमा भने चित्त दुखेको साँवाको गुनासो छ। आगामि वर्षको बजेटमा कार्यान्वयन हुने कार्यक्रम ल्याउन सुझाव दिँदै बजेटमा प्रदेशका सबै जनतालाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्न साँवाले माग गरे। शनिबार बसेको प्रदेशसभा बजेट अधिवेशनको बैठकमा नेकपा एमाले पक्षका सांसदहरू अम्बिका थापा, आशारत्न जबेगु, उत्तमकुमार बस्नेतलगायले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमको सर्मथन गरेका थिए।

प्रकाशित: ३० जेष्ठ २०७८ ०२:१३ आइतबार

प्रदेश १ नीति तथा कार्यक्रम सत्तारूढ सांसद