अर्थ

फर्जी समितिद्वारा रसुवागढी नाकामा नयाँ प्रणाली लागु प्रयास

रसुवा पोर्ट म्यानेजमेन्टले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा नयाँ प्रणाली अगाडि बढाएको छ । सरकारी कागज किर्ते गरेर बनाइएको उक्त कमिटीले क्रेनबाट सामग्री हाल्ने प्रक्रिया अघि बढाएको हो ।  

यसका लागि चीनतर्फ सामग्री हाल्ने फ्रेम निर्माण गरिएको छ । उक्त फ्रेम एक पटक प्रयोगमा ल्याएपछि दोहोर्‍याएर प्रयोग गर्न नमिल्ने सिलिक ट्रान्सर्पोटका निर्देशक सोनाम वाङ्दी लामाले बताए । ‘एक महिनाअघिदेखि सामग्री हाल्ने फ्रेम निर्माण भएको सुनिएको छ,’ उनले भने, ‘यो प्रक्रिया लागु भयो भने नाका बन्द हुन्छ ।’ यो एक पटक प्रयोग गर्दा करिब ८ हजार ९ सय ९० आरएमबी तिर्नुपर्छ ।  

कमिटीले चीनको केरुङ पोर्ट म्यानेजमेन्ट कमिटीलाई उक्त प्रणाली सञ्चालनमा ल्याउन आवश्यक रहेको बताएर पत्र पठाएको छ । यसले चिनियाँ पक्षलाई फाइदा हुन्छ र सुरक्षित पनि हुन्छ । तर नेपाली व्यवसायीले नाकाबाट हात झिक्नुपर्ने अवस्था आउने उनको भनाइ छ । गोसाइँकुण्ड गाउँपालिका–२ को छाप तथा लेडरप्याड किर्ते गरेर कमिटी निर्माण गरिएको हो । नाका व्यवस्थापनका लागि कसैलाई पनि अनुमति नदिएको वडाध्यक्ष दावा दोर्जे तामाङले बताए । ‘हामीले नाका व्यवस्थापनका लागि कसैलाई पनि अनुमति दिएका छैनौं,’ उनले भने, ‘हाम्रो वडाको छाप निर्माण गरेर कमिटी गठन गरेको सुनेका छौं ।’  

रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले नेपालीले नै फर्जी समिति बनाएर चिनियाँ पक्षलाई पत्र पठाएको जानकारी पाएपछि अनुसन्धान अघि बढाइएको बताए । ‘हामीले चिनियाँ पक्षलाई उक्त कमिटी आधिकारिक नभएकाले मान्यता नदिनु भनेर पत्र पठाएका छौं,’ उनले भने, ‘फर्जी कमिटीबारे अनुसन्धान भइरहेको छ ।’ यसबारे मन्त्रालय तथा विभागमा समेत जानकारी गराइएको उनले बताए ।

प्रकाशित: ३० जेष्ठ २०७८ ०१:२९ आइतबार

फर्जी समिति रसुवागढी नाका नयाँ प्रणाली लागु