अर्थ

चैते धान भित्र्याउन किसानलाई चटारो

मुलुकभर फैलिएको कोरोना भाइरस रोकथामका लागि निषेधाज्ञा भइरहँदा सिन्धुलीको तीनपाटन गाँउपालिकाका किसान धान काट्न व्यस्त भएका छन्। यहाँको तीनपाटन गाँउपालिका वडा नम्बर १० का किसान बर्खे धान काट्न व्यस्त भएका हुन्।  

किसानलाई धान भित्र्याउन यतिबेला भ्याइनभ्याइ छ। तीनपाटन गाँउपालिकाका केही स्थानमा तीन बाली हुने भएकाले हिउँदे धान र चैते  धान किसानले रोप्दै आएका छन्। ‘गाँउमा बर्खे धान काट्न सबै किसान व्यस्त छन्’, स्थानीय युवा राजन कार्कीले भने। चैतमा रोपेको धानलाई जेठ अन्तिमदेखि असार पहिलो साता थन्क्याएर पुनः हिउँदे धान रोप्ने यस क्षेत्रका किसानले गरेका छन्।

चैते धान काट्ने काम अन्तिम चरणमा पुगेको स्थानीय पदमबहादुर कार्कीले बताए। ‘अब केही दिनमै धान भित्र्याएर पुन धान लगाइन्छ, यहाँका खेतमा दुईपटक धान किसानले लगाउँदै आएका छन्’, उनले भने,  ‘किसानको जिउने मजबुत आधार नै यही धान बाली हो।’

किसानहरुले सरकारले बेलैमा मल बिउ उपलब्ध गराएर किसानलाई सघाउनुपर्ने बताए। विगतको वर्षझैं यसवर्ष पनि चैते धान राम्रो फलेको किसानको भनाइ छ।

प्रकाशित: २९ जेष्ठ २०७८ १०:३६ शनिबार

उपेक्षामा उखु किसान धान