अर्थ

कोरोनाको प्रभावः कन्टेनर संख्या साढे १७ हजारले घट्यो

नेपालको तेस्रो मुलुकसँगको व्यापारको लागि प्रयोगमा रहेको भारतको आन्ध्रप्रदेशस्थित बिशाखापटम बन्दरगाह। तस्बिर : रितेश/नगारिक

कोरोना महामारीले नेपालको तेस्रो मुलुकसँग हुने व्यापार भएर घटेको छ। सन् २०१९ सम्म नेपालको आयात प्रतिवर्ष औसत २० प्रतिशतले बढिरहेकोमा यसपटक अघिल्लो वर्षको तुलनामा १६.३२ ले कमी आएको तथ्यांकले देखाएको छ।

भारतको कोलकातास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा तेस्रो मुलुकबाट नेपालका लागि आउने कन्टेनर वर्ष २०२०/०२१ मा १७ हजार ६ सय ४५ ले घटेको छ।  

नेपालको भारत बाहेकका तेस्रो मुलुकसँग व्यापारको लागि भारतीय प्रान्त पश्चिम बंगालको कोलकाता र आन्ध्रप्रदेशको विशाखापटनम् बन्दरगाह प्रयोगमा छन्।  

यी बन्दरगाह हुँदै विदेशबाट नेपालका लागि मालवस्तु ल्याउने कन्टेनरको संख्या आर्थिक वर्ष २०१९/०२० मा एक लाख ८ हजार १११ थियो।  

यी दुई बन्दरगाह हुँदै वर्ष २०२०/०२१ मा तेस्रो मुलुकबाट आयात हुने मालसामान लिएर नेपाल भित्रिने कन्टेनरको संख्या खुम्चिएर अघिल्लो वर्षको तुलनामा ८३.६७ प्रतिशतमा मात्र झरेको छ। यस अवधिमा ९० हजार ४ सय ६६ वटा कन्टेनर आएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको कोलकातास्थित कार्यालयका प्रमुख हिमनाथ पौडेलले जानकारी दिएका छन्।  

उद्योग वाणिज्य संघका प्रदेश २ का अध्यक्ष गणेश लाठका अनुसार कोरोना कालमा नेपालको समग्र आर्थिक अवस्था प्रभावित भएको छ। उनको भनाइमा आम नेपालीको खर्च गर्ने क्षमता गुमेको छ र आम मानिसहरू, व्यापारी–व्यवसायी र उद्योगीहरू अहिले ‘सर्भाइभ’ गर्नका लागि मात्र खर्च गरिरहेका छन्।  

उनले व्यापारमा देखिएको कमीलाई स्वाभाविक भने। यसपालि पहिलोपटक अघिल्लो वर्षको तुलनामा तेस्रो मुलुकसँगको व्यापार यति धेरै परिमाणमा संकुचनमा परेको हो। साबिक अनुपातमा आयात व्यापारमा २० प्रतिशतले वृद्धि भएको भए एक लाख २९ हजार ७ सय ३३ वटा कन्टेनर भित्रिन्थ्यो। हासिल हुन नसकेको व्यापारको आपेक्षित वृद्धि समेत आकलन गर्ने हो भने करिब ३५ प्रतिशतले आयात व्यापार थिचिएको छ।  

‘मुख्य कारण कोरोना महामारीलाई मान्नु पर्छ, यसै अवधिमा ६ महिनासम्म बजार र व्यापार ठप्प पार्ने अवस्था आयो, उद्योग चलाउने वातावरण रहेन, त्यसको प्रभाव उत्पादन र बजार दुवैतिर परेको बुझ्न सकिन्छ,’ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानीले भने, ‘तयारी वस्तु, अर्धतयारी वस्तु र कच्चा पदार्थ तीनै किसिमका मालवस्तु खासमा आयात हुने गरेको छ।  

प्रतिकूल अवस्थामा यी तीनै थरी वस्तुको आयात प्रभावित भएपछि समग्रमा यसको परिणाम देखिएको हो।’ यसपटक फेरि पनि कोरोनाको कारण सबै ठूला सहरबजारसहित विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको हुनाले आयात र उत्पादनमा यसको प्रभाव देखिन थालेको  

टेमानीले बताए।  सन् २०२० सुरु भएसँगै महमारी फैलिन थालेपछि त्यसको रोकथामका लागि बन्दाबन्दीलाई उपायको रूपमा अपनाउन सुरु गरिएको थियो।  

यसै क्रममा नेपालको समुद्रपारका मुलुकसितको कारोबार खुम्चिएको जानकार बताउँछन्। वर्ष २०२०/०२१ को अवधिमा कोलकाता बन्दरगाह हुँदे ५८ हजार ६ सय ५ वटा कन्टेनर र विशाखापटनम्बाट ३१ हजार ८६१ कन्टेर मालसामान भित्रिएको छ।

प्रकाशित: २८ जेष्ठ २०७८ ०४:२३ शुक्रबार

कोरोनाको प्रभाव कन्टेनर संख्या