अर्थ

बजेटको प्राथमिकता स्वास्थ्य र रोजगारी

प्रदेश १ को आर्थिक वर्षको बजेटले स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेको छ। मंगलबारको प्रदेशसभा बैठकमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै स्वास्थ्य र रोजगारी सिर्जनाका कार्यक्रमलाई बजेटले प्राथमिकतामा राखेको जानकारी दिए। 

बजेटलाई स्वास्थ्य, शिक्षा, सामाजिक विकास, पूर्वाधार, कृषि, उद्योग, पर्यटन, वन तथा वातावरण लगायतका क्षेत्रमा विभाजन गरिएको उनले बताए। आर्थिक वर्ष ०७८/७९ को बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने आर्थिक मामिलामन्त्री आङ्बुहाङले जानकारी दिए। स्वास्थ्य, सरसफाइ सुरक्षा लगायतका अग्रपंक्तिका कर्मचारीलाई प्रोत्साहन गर्ने, बेरोजगारी समस्या समाधान गर्न जीवन उपयोगी प्राविधिक तथा व्यवसायीक र रोजगारमूलक शिक्षामा जोड दिने, मुख्यमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइने उनले बताए।  

ज्येष्ठ नागरिक ग्राम, चौतारी लगायतका कार्यक्रमहरू, गरिबी निवारणमा सहयोग पुग्ने कार्यक्रमहरूलाई बजेटले जोड दिनेछ। स्रोत सुनिश्चित भएका योजना सम्पन्न गर्न बजेटले प्राथमिकता दिने, मुख्यमन्त्री ग्रामीण सडक योजना, विपन्न परिवारको आवासको व्यवस्था गर्ने कार्यक्रम बजेटले समेट्ने छ। प्रदेशको पानी जनताको लगानी भन्ने नारासाथ स्थानीय तहसँगको सहकार्यमा जलविद्युत् आयोजना निर्माण गरी सरकारको आम्दानीको स्रोत बढाउने योजनालाई पनि बजेटले समेटेको छ।

प्रकाशित: २६ जेष्ठ २०७८ ०२:४९ बुधबार

बजेटको प्राथमिकता स्वास्थ्य र रोजगारी