अर्थ

डिजिटल भुक्तानीको महत्व बढ्दो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी आफैंमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको बताएका छन्। राजधानीमा आयोजित ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ कार्यक्रम उद्घाटन गर्दै उनले नेपालको अर्थतन्त्रमा डिजिटलाइजेसनको ठूलो महत्व रहेको बताए।

बैंक तथा वित्तीय संस्थाले समयको माग अनुसारको सेवा सुविधा दिनुपर्ने भन्दै गभर्नर अधिकारीले फाइनान्सियल सेक्टरमा डिजिटल सर्भिस बढाउनुपर्ने बताए। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गाउँगाउँको वित्तीय पहुँचमा ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। फरवार्ड माइक्रोफाइनान्सका अध्यक्ष भगवती चौधरीले  डिजिटलाइजेसन सेक्टरमा ‘फाइनान्सियल डजिटलाइजेसन लिट्रेसी’ अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। टेक्नोलोजीमार्फत गाउँघरमा वित्तीय साक्षरता दिँदा अति उत्तम हुने उनको भनाइ छ। बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले फाइनान्सियल डिजिटलाइजेसनलाई ग्रामीण अर्थतन्त्र र कृषि क्षेत्रमा अगाडि बढाउन सके अर्थतन्त्रमा टेवा पुग्ने उल्लेख गरे।  

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले डिजिटलाइजेसनका विषयलाई ग्राहकसम्म बुझाउन जरुरी रहेको बताए। अहिलेको युगमा पनि फिजिकल कारोबारमै अल्झिराखेमा डाइनोसर नै हुने उनको बुझाइ छ।

नेपाल बैंकर संघका पूर्वअध्यक्ष उपेन्द्र पौड्यालले वित्तीय साक्षरतालाई स्कुल कलेज स्तरका पाठ्यक्रममा राख्न सबै लाग्नुपर्ने बताए। डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेलले ग्राहकहरूलाई खाता खोल्ने मात्र नभई डिजिटल्ली ऋण लिने व्यवस्था पनि गर्न सकिने बताए। लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले गाउँ–गाउँका नागरिकमा उद्यमशीलता विकासका लागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए। जीवन बिमक संघका कोषाध्यक्ष प्रविनरमण पराजुलीले सम्पूर्ण वित्तीय क्षेत्र डिजिटलाइजेसनका रूपमा अगाडि बढ्न आवश्यक रहेको बताए।

फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी कार्यक्रमका कोअर्डिनेटर माधव निर्दोषले फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसीलाई सबै जिल्ला र स्थानीय तहमा सञ्चालन गरिने बताए।

प्रकाशित: २४ जेष्ठ २०७८ ०५:१५ सोमबार

डिजिटल भुक्तानी