अर्थ

मेलम्ची मेलोः हतारमा उद्घाटन, अहिले परीक्षण

मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै सुरुङ परीक्षणको बहानामा करिब दुई महिना वितरण रोक्ने भएको छ । यसबाट आयोजनाको सम्पूर्ण काम नसकिँदै सरकारले हतारमा आयोजना उद्घाटन गरेको बुझ्न सकिन्छ । संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आयोजना हतारमा उद्घाटन र शिलान्यास गरेको भनी आरोप लाग्दै आएको छ । 

सरकारले काम गरेको देखाउने, निर्वाचन भए सोझासाझाबाट मत तान्ने र इतिहासमा आफ्नो नाम राख्ने इच्छाका कारण उनले जथाभाबी तरिकाले आयोजनाको शिलान्यास र उद्घाटन गरेको भनेर चर्चा हुने गरेको छ ।  मेलम्चीको पछिल्लो परिस्थितिले ओली सरकारले आयोजनाका सम्पूर्ण काम पूरा नहुँदै परीक्षणका रूपमा पानी वितरण गरेको अवसर छोपेर उद्घाटन गरेको संकेत गर्छ ।

आयोजनाका एक उच्च अधिकारीका अनुसार सम्पूर्ण निर्माण कार्य र परीक्षणका काम सकेर नियमित रूपमा पानी वितरण सुरु गरेपछि मात्र आयोजनाको उद्घाटन हुनुपर्ने हो । तर काठमाडौं उपत्यकामा परीक्षणका रूपमा पानी झर्नेबित्तिकै सरकार उद्घाटनमा आतुर देखियो । ती अधिकारीले पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण सरकारको आयु अनिश्चित नभएपछि प्रधानमन्त्री ओली मेलम्ची आयोजना उद्घाटनका लागि हतारिएको बताए । ‘लामो समयदेखि चर्चामा रहेको मेलम्ची आयोजना आफ्नो पालामा सम्पन्न भएको देखाउन जुनसुकै राजनीतिक दल पनि लालायित थिए । यसमा अहिले ओलीले बाजी मार्ने काम गरे,’ ती अधिकारीले भने, ‘पछिल्लो समय आयोजनाको निर्माण चाँडो सक्न ओली आफैंले चर्को दबाब दिएका थिए ।’

ती अधिकारीका अनुसार आयोजनाको सम्पूर्ण परीक्षण पूरा नभई राजधानीमा पानी वितरण सुरु गरिएको थियो । यही कारण अहिले फेरि ४० देखि ५५ दिनसम्म पानी वितरण रोकेर परीक्षण सुरु गर्नुपरेको हो । आयोजनाको बेलाबेलामा परीक्षण र मर्मत हुनु स्वाभाविकै हो । तर सबै परीक्षण सकेर मात्र नियमित रूपमा पानी वितरण सुरु गरेको भए यति छिट्टै फेरि रोक्नुपर्ने अवस्था आउँदैनथ्यो । आयोजनाले आगामी असार १ देखि सुरुङमार्गको प्राविधिक निरीक्षण तथा सुपरीवेक्षण गर्ने कार्यतालिका बनाएको छ । यसका लागि ५५ दिनदेखि दुई महिनासम्म लाग्ने र यो अवधिमा पानी वितरण रोकिने जनाइएको छ ।

आयोजना कार्यालयले आफ्नो मुख्य हेडवक्र्स अम्बाथानस्थित कोफर ड्याम (अस्थायी) बाट फागुन १० गते सुरुङमा पानी पथान्तरण गरेको थियो । मेलम्चीको पानी सुन्दरीजलमा गत फागुन २२ गते आइपुगेको थियो ।  मेलम्चीको टेस्टिङ एन्ड कमिसनिङ प्रोटोकलअनुसार सुरुङमा पानी भरिएसँगै करिब १० देखि १५ दिनसम्म सुरुङको दुवैतर्फको मुख बन्द गराएर भित्रै होल्ड गराउनुपर्ने हुन्थ्यो । १० देखि १५ दिन सुरुङमा पानी होल्ड गरेसँगै बिस्तारै पानी खाली गराएर सुरुङको परीक्षण तथा सुपरीवेक्षण गर्नुपथ्यों । विज्ञसहितको टोलीले सुरुङको आवश्यक अध्ययन गरेपछि देखिएका त्रुटि सच्याएर मात्रै फेरि सुरुङमा पानी भरेर वितरण गर्नुपथ्र्याे ।

खानेपानी मन्त्रालयका अर्का एक उच्च अधिकारी प्रधानमन्त्रीको चर्काे दबाबकै कारण आयोजनाको टेस्टिङ एन्ड कमिसनिङको सम्पूर्ण प्रोटोकल पूरा नगरी मेलम्चीको पानी उपत्यकावासीलाई वितरण गरिएको बताउँछन् । ‘मेलम्ची आयोजना २५ वर्ष ढिलो हुँदा पनि केही भएन । तर २५ दिन टेस्टिङको प्रक्रिया पर्खनसमेत राजनीतिक नेतृत्व तयार भएन,’ उनले भने, ‘अब फेरि मेलम्चीको सम्पूर्ण पानी  नै ठप्प पारेर परीक्षण गर्नुपर्ने बेला भएको छ ।’

प्रधानमन्त्री ओलीको दबाबकै कारणले सुरुङमा पानी खाली गरेर आवश्यक टेस्टिङ (परीक्षण) बिनै मेलम्चीको पानी उपत्यकावासीका घरघरमा पठाइएको थियो । मेलम्चीको पानी गत चैत १३ गतेदेखि सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट प्रशोधन गरेर आंशिक रूपमा  वितरण गर्न थालिएको थियो । प्रधानमन्त्री ओलीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ चैत २० गते भृकुटीमण्डपमा आयोजित एक कार्यक्रमबीच मेलम्चीको पानी वितरण औपचारिक रूपमा उद्घाटन गरेकी थिइन् ।

मेलम्चीले वैशाख ६ गतेदेखि पूर्ण क्षमता अर्थात् १७ करोड लिटर पानी वितरण गर्दै आएको छ । आयोजनाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले असार १ गतेदेखि मेलम्चीको वितरण प्रणाली रोकेर सुरुङको प्राविधिक निरीक्षण गर्न लागिएको  बताए । ‘अहिले भरिभराउ भएको टनेललाई बिस्तारै खाली गर्न मात्रै करिब १५ दिनजति लाग्छ होला,’ उनले भने, ‘हतारमा टनेल खाली गर्दा क्षति हुन सक्ने भएकाले बिस्तारै गर्न लागेका हौं ।’ आयोजनाले मेलम्चीको भरिभराउ सुरुङ खाली गर्न १५ दिनको अवधि राखेको छ । भरिएको सुरुङ खाली भएसँगै आवश्यक प्राविधिक निरीक्षण र सुपरीवेक्षणका लागि पनि १० देखि १५ दिने कार्ययोजना बनााएको छ ।

यदि सुरुङभित्र कुनै प्राविधिक त्रुटि देखिए मर्मतसम्भारका लागि १० देखि १५ दिन लाग्नेछ । मर्मतसम्भारपछि फेरि सुरुङमा पानी भर्न पनि थप १५ दिन गरेर कुल ५५ देखि ६० दिन समय छुट्ट्याइएको छ । कार्यकारी निर्देशक श्रेष्ठले सुरुङमार्गमा यदि कुनै समस्या नदेखिएको खण्डमा भने ४० दिनभित्रै मेलम्चीको पानी उपत्यकामा वितरण गरिने बताए । आयोजनाले सुरुङमार्गको प्राविधिक निरीक्षणका लागि खानेपानी मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग अनुमति लिइसकेको बताउँछन् ।  

‘पानी चलेको केही समयपछि नै लिकेजहरू हेर्ने हो। केही समय पानी सञ्चालन भएपछि नै हेर्ने कुरा हुन्छ। पानी राखेको १०–१५ दिनमै बाहिर निस्कने कुरा त हुँदैनथ्यो। दुई/तिन महिना चलाएपछि नै लिकेजहरू छन् कि भनेर अहिले निरीक्षण गर्न लागिएको हो,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘हो, पहिला त त्यो नै थियो तर सप्लाई सुरु गरिहालियो। केही समय काठमाडौंवासीलाई पानी सप्लाई गरौं, त्यतिबेला हाम्रो सिस्टमसमेत परीक्षण गरौं न त भनेर काम गरेका हौं,’ उनले भने, ‘बाहिर भनेजस्तो सुरुङको प्राविधिक निरीक्षण गर्न ढिलाइ भइसकेको भन्नेचाहिँ होइन।’

प्रधानमन्त्रीको दबाबका कारण टेस्टिङ एन्ड कमिसनिङ नगरीकनै हतारमा पानी ल्याइएको हो भन्ने नागरिकको प्रश्नको जवाफ दिँदै कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘त्यो गलत कुरा हो। प्राविधिक रूपमा गर्नुपर्ने कुरा हामीले नियमित रूपमा गर्दै आइरहेका छौं। आगामी असार १ देखि परीक्षण गर्ने कुरा हामी आफैंले अगाडि बढाएका छौं।’ सिन्धुपाल्चोकको अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किलोमिटरभन्दा लामो सुरुङ निर्माण गरेर मेलम्चीको पानी उपत्यका भित्र्याइएको हो। मेलम्चीको सुरुङ तथा हेडवक्र्सलगायतको प्याकेज १ मा अहिलेसम्म २९ अर्ब रुपैयाँ खर्च भइसकेको छ।

त्यसैगरी पाइपलाइनको वितरण लाइनतर्फ पनि २० अर्ब खर्च भइसकेको छ। उपत्यकावासीलाई तीन दशकअघि नै मेलम्ची सपना देखाइए पनि डेढ दशकअघि मात्रै निर्माण कार्य थालिएको थियो।

प्रकाशित: २४ जेष्ठ २०७८ ००:४० सोमबार

उद्घाटन र शिलान्यास बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना मेलम्ची मेलो प्रधानमन्त्री केपी शर्मा ओली