अर्थ

किसानलाई कोरोनाभन्दा मलको चिन्ता

धादिङबेसीस्थित नीलकण्ठ सहकारीले वितरण गरेको मल पाएपछि किसान। तस्बिर : सरिता/नागरिक

पानी अभावबीच जसोतसो चैते धान रोपेका किसानलाई यतिबेला रासायनिक मलको अभावले सताउन थालेको छ। गत वर्ष पनि यही बेला मलको अभाव भएपछि किसान आन्दोलित भएका थिए। यस वर्ष पनि मल अभाव देखिन थालेको छ। मंसिरे धानको बीउ राख्ने समय सुरु भएसँगै धादिङका किसान मल नपाइने हो कि भन्ने चिन्तामा छन्। किसानले जसोतसो बाली लगाएपछि त्यसलाई हुर्काउने समयमा मलको हाहाकार हुने गरेको छ।  

कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा किसानलाई कोरोनाभन्दा मलको चिन्ता भएको नीलकण्ठ नगरपालिका वडा नं ४ की गीता ठकुरीले बताइन्। ‘चैतमा रोपेको रोपोमा मल हाल्ने बेला भएको छ, अब मंसिरे धान लगाउन बीउ राख्ने समय पनि भएको छ,’ उनले भनिन्, ‘खेती गर्ने समयमा बर्सेनि मलको अभाव झेल्दै आइरहेका छौं, अहिले कोरोनाभन्दा पनि मल नपाइने हो कि भन्ने चिन्ता छ।’  

गत वर्ष कोरोना महामारीको समेत बेवास्ता गर्दै किसान मल लिन निकै लामो लाइन बस्नु परेको थियो। यस वर्ष पनि गत बुधबार सदरमुकामस्थित नीलकण्ठ सहकारीमा मल किन्न किसानको भिड थियो। मल वितरण गर्ने थाहा पाएपछि सहकारीको प्रांगणमा विहानैदेखि किसानको भीड लागेको थियो। चर्को घाममा दिनभर बसेर जसोतसो मल पाएका किसान खुसी देखिन्थे। केही भने रित्तो हात घर फर्कनुपरेको थियो।  

जिल्लामा किसानलाई मल वितरणको जिम्मा विभिन्न कृषि सहकारीलाई दिइएको छ। स्थानीय तहलाई तोकिदिएको कोटाअनुसार स्थानीय तहले सिफारिस गरेको विवरणका आधारमा मल उपलब्ध गराउने गरिएको छ। यस वर्ष पनि सहकारीमा मल लिन तथा मलका बारेमा चासो राख्ने किसान देखिन थालेका छन्। सहकारीमा उपलब्ध सय बोरा एकजनालाई १० किलोको दरले वितरण गरेको नीलकण्ठ सहकारी सञ्चालक समितिका उपाध्यक्ष खगेन्द्र कोइरालाले जानकारी दिए। मल एक सय बोरा मात्रै आएकाले धेरै किसान रित्तो हात फर्किन परेकोे कोईरालाले बताए।  

कृषि सामग्री कम्पनी लिमिटेडको गजुरी शाखाले भने गत वर्ष जस्तो यो वर्ष मल अभाव नहुने बताएको छ। किसानको माग बमोजिम मल उपलब्ध गराउन नसके पनि गत वर्षको तुलनामा यस वर्ष बढी मल वितरण भइसकेकाले त्यस्तो समस्या नपर्ने कम्पनीको गजुरी कार्यालय प्रमुख विनोद शर्माले बताए। ‘गत वर्ष जस्तो यो वर्ष मल अभाव हुँदैन, कोभिड १९ को कारण पर्याप्त मात्रामा ढुवानी हुन नसक्दा अन्य स्थानमा केही समस्या भए पनि धादिङमा मल आइरहेको छ, समस्या हुँदैन,’ शर्माले भने, ‘निषेधाज्ञाका कारण कृषकका मागलाई मध्यनजर गर्दै हप्तामा दुई दिन मल वितरण गर्ने गरिएको छ।’

कम्पनीको गजुरी शाखामा सूचीकृत ९५ सहकारीले मल वितरण गरिरहेका छन्। रुविभ्याली गाउँपालिका बाहेक धादिङको १२ वटै स्थानीय तहका सहकारीले मल वितरण गरिरहेका छन्। अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ र बिक्रेता व्यवस्था कार्यविधि २०७७ बमोजिम मल वितरण भइरहेको शर्माले बताए। बुधबार मात्रै ३७ सहकारीले एक सय ५२.३०० मेट्रिक टन युरिया, २३.०५ मेट्रिक टन डिएपी र १.२५० मेट्रिक टन पोटास मल कम्पनीबाट लिएका छन्। अहिलेसम्म २३ सय टन युरिय, ८ सय २० टन डिएपी, एक सय १४ टन पोटास र ३३.२ टन कृषि चुन वितरण भएको छ।

धादिङ जिल्लामा वार्षिक तीन हजार टन युरिया, नौ सय टन डिएपी र ५५ टन पोटास मलको माग हुनेको गरेको छ। सरकारले किसानका लागि अनुदानमा दिएको मल कृषि कम्पनीले सहकारीमार्फत वितरण गर्दै आएको छ। कम्पनीमा कृषि सहकारीले ढुवानी खर्च र सरकारले तोकेको केही प्रतिशत नाफा लिएर बिक्री गर्दै आएका छन्।

प्रकाशित: २३ जेष्ठ २०७८ ०४:१७ आइतबार

मल पानी अभाव चैते धान रोपेका किसान