अर्थ

कृषि र संस्कृतिको अन्तर्सम्बन्ध

कृषि

नेपाल परम्परादेखि कृषि प्रधान देश हो। यहाँको भौगोलिक बनावट र त्यसअनुरूपको प्राकृतिक विविधताले विविध प्रकारका कृषिको उत्पादनका लागि आवश्यक वातावरण सिर्जना गरेको छ। समथर र उष्ण हावापानी रहेको तराई, समशीतोष्ण हावापानी रहेको पहाडी भूभाग तथा सधैँ चिसो रहने हिमाली क्षेत्रमा रहेको वातावरणीय भिन्नतानुसार हुने भिन्नभिन्न प्रकारका कृषि उपजले कृषिको उत्पादनमा रहेको विविधतालाई पुष्टि गर्छन्। यिनको उत्पादन, संवद्र्धन तथा भण्डारणमा यी क्षेत्रमा बस्ने विभिन्न जातजाति तथा धर्मावलम्बीका आ–आफ्नै मूल्य–मान्यता रहेका छन्। त्यसैले यिनको उत्पादन, संरक्षण तथा भण्डारणमा विविध सांस्कृतिक विविधतालाई देख्न पाइन्छ।  

कृषि कार्यको प्रारम्भ र संस्कृतिसँग आबद्धताको इतिहास खोज्न विश्वमा कृषि विकासको प्रारम्भिक चरणसम्मै पुग्नुपर्ने हुन्छ। कृषिकार्यको प्रारम्भ र विकासका आधार पनि परम्परागत धार्मिक र वैज्ञानिक मान्यताअनुसार अलग अलग छन्। धार्मिक मान्यतातिर हेर्दा ईश्वर वा प्रकृतिको अद्भुत शक्तिद्वारा संसारका सबै जीवजन्तु र बोटबिरुवाको उत्पत्ति भएको वा तिनीहरूको एकआपसमा उपयोगबाट उनीहरू बाँच्ने आधार तयार पारिएको मानिन्छ। त्यसै सन्दर्भमा मानवले आफू बाँच्नका लागि अन्नबालीको उपयोग गरेको मानिन्छ। यसको सन्दर्भ प्राचीन वेद वा उपनिषद् आदि ग्रन्थमा पनि देख्न पाइन्छ।  

ऋग्वेदमा भनिएको छ, ‘अक्षैर्मा दीव्याः कृषिमित्कृषस्य।’ अर्थात्, जुवा आदि खेल्ने काम छाडेर कृषिकार्य गर। अन्नको महत्वबारे तैत्तरीय उपनिषद्मा पनि एक सन्दर्भ छ। भृगु ऋषिले आफ्ना पिता वरुणसमक्ष गएर ‘मलाई ब्रह्मको बारेमा जानकारी गराउनुस्’ भन्छन्। वरुणले ब्रह्मप्राप्तिका द्वार ‘अन्न, प्राण, नेत्र, श्रोत्र, मन र वाक्’ हुन् भनी बताएको र भृगुले घोर तपस्या गरी ‘अन्नं ब्रह्मम्’ भनी ज्ञान प्राप्त गरेको सन्दर्भ त्यहाँ आएको छ। उपनिषद्मा भनिएको छ, ‘अन्नाद् हि एव खल्विमानि भूतानि जायन्ते। अन्नेन जातानि जीवन्ति। अन्नं प्रयन्त्यभिसंविशन्ति।’ अर्थात्, सबै प्राणी अन्नबाट जन्मन्छन्, अन्नबाट बाँच्छन् र अन्नमा अन्तमा लीन हुन्छन्। अन्न उत्पादनका लागि आवश्यक पर्ने वर्षाका लागि ठुल्ठूला यज्ञ गरिन्थे। यज्ञमा हालिएको घिउ, जौ, तिल र चामलको गन्धले वातावरण सुगन्धमय र शुद्ध हुन्छ र त्यस वातावरणमा वर्षाका देवता इन्द्र खुसी भई वर्षा गराउँछन् भन्ने विश्वास गरिन्छ। आजको वैज्ञानिक युगमा पनि यज्ञको धुवाँबाट वाष्पीकरणको प्रक्रिया चलाई वर्षा गराउने वातावरण सिर्जना हुन्छ भन्ने मानिएको छ। यही सन्दर्भमा आज पनि वर्षाका देवता इन्द्र वा नाग आदिको धुमधामसँग पूजा गरेका सन्दर्भ संस्कृतिका रूपमा चलिरहेको देख्न सकिन्छ।

उपनिषद्मा भनिएको छ, सबै प्राणी अन्नबाट जन्मन्छन्, अन्नबाट बाँच्छन् र अन्नमा अन्तमा लीन हुन्छन्। अन्न उत्पादनका लागि आवश्यक पर्ने वर्षाका लागि ठुल्ठूला यज्ञ गरिन्थे। यज्ञमा हालिएको घिउ, जौ, तिल र चामलको गन्धले वातावरण सुगन्धमय र शुद्ध हुन्छ र त्यस वातावरणमा वर्षाका देवता इन्द्र खुसी भई वर्षा गराउँछन् भन्ने विश्वास गरिन्छ।  

कृषिको विकास भएको इतिहास खोज्दै प्राचीन पाषाण युगसम्म पुग्न सकिन्छ। पाषाण युगलाई पनि पुरापाषाण, मध्यपाषाण र नवपाषाण युग गरी तीन भागमा विभाजन गरिएको पाइन्छ। नवपाषण युगभन्दा अघिसम्म मानिस घुमफिर गर्ने र सिकार गरेर जीवनयापन गथ्र्यो। उसको स्थायी बसोवास हुँदैनथ्यो। नवपाषाण कालमा आएर मात्र मानवले कृषि युगमा प्रवेश गरेको मानिन्छ। यसै कृषि युगमा आएर मात्र मानवले तुलनात्मक रूपमा स्थायी बसोवास गर्न थाल्यो। नवपाषण युगको समय इ.पू ७००० देखि १००० वर्ष अगाडिको मानिएको छ। त्यसै कालदेखि मानवले बाँच्नका लागि जल, आगो, पृथ्वी, वायु र आकाशको महत्व बुझ्न थाल्यो। मानिसलाई नभइनहुने यी चिज बनाउने कोही अद्भुत शक्तिवाला छ र त्यो भनेको ईश्वर हो भन्दै ईश्वर वा कुनै अद्भुत शक्तिलाई मान्यता दिइयो। त्यो अद्भुत शक्तिलाई पनि कतिपयले मानवीय आकार–प्रकारका मानी साकार देवताका रूपमा माने भने कतिपयले प्रकृति नै यसको मुख्य स्रोत हो भनी मानी यही ईश्वर वा प्रकृतिका विविध रूपलाई पुज्न थाले।  

मानवले जल, वायु आकाश, अग्नि र पृथ्वीका अतिरिक्त समय समयमा वर्षा गराउने, जन्माउने, मार्ने, पालनपोषण गराउने आदिलाई ईश्वर मान्दै पुज्न थाल्यो। यहाँसम्म कि आफूलाई दुःख दिन भूतप्रेत, डाकिनीसाकिनी, मरिमसान आदिलाई पूजा गरेर मनाउने कार्य गर्न थाल्यो। यिनीहरूका बारेमा कैयौँ कथा बनाउन थाल्यो। तिनीहरूलाई आफूभन्दा अघिल्लो पुस्ताले आफूलाई राम्रो होस् भनी पुज्ने परम्परा बसाएकाले पछिल्लो पुस्ताले पनि तिनलाई पुज्न थाल्यो। त्यसरी एक पुस्ताबाट अर्को पुस्ता हुँदै त्यस मान्यताले संस्कृतिको रूप लियो। यसलाई यिनीहरूले आफ्ना हरेक काममा उपयोग गर्न थाले। यसको प्रभाव कृषिकार्यमा पनि पर्‍यो। कृषि कार्यमा के गर्दा कृषिलाई फाइदा हुन्छ भन्ने विश्वासका आधारमा कैयौँ प्रचलन चलाइयो। यी प्रचलनमध्ये आज कतिपय हराउँदै र कतिपयले नयाँ रूप लिँदै गइरहेका छन्। यिनीहरूलाई आज वस्तुताका आधारमा हेर्दा कतिपय चलन पुर्खाले अनुभवबाट सिद्ध गरेर प्रचलनमा ल्याएको देखिन्छ। ती अनुभव सिद्ध कतिपय प्रचलन आज वैज्ञानिक आँखाबाट हेर्दा पनि जायज देखिन्छन् भने कतिपय अन्धविश्वासमा आधारित रहेका पाइन्छन्। तापनि यी प्रचलनले हालसम्म कृषिकार्यमा गहिरो गरी प्रभाव पारेका छन्। कृषिकार्यमा यिनको प्रयोग अनिवार्य जस्तै मानिँदै आएको छ। यसैले कृषि र संस्कृतिका बीचमा गहिरो अन्तर्सम्बन्ध रहेको देखिन्छ।  

कुनै पनि कृषिकार्य गर्दा केही न केही संस्कार गर्ने परम्परा हाम्रो समाजमा आज पनि यथावत छ। कृषिलाई आवश्यक पानीको जोहो गर्दा, खेती लगाउँदा, खेतीपातीको संरक्षण गर्दा, खेती स्याहार्दा, आफूले लगाएको अन्न पाकेर देवीदेवतालाई अर्पण गरेर खान लाग्दा र भण्डारण गर्दासम्मका अनेकौँ संस्कार छन्। यी कार्यले कृषि र संस्कृतिबीचको सम्बन्धलाई बुझाउन महत्वपूर्ण सहयोग गर्छन्। यद्यपि आजकल कतिपय कार्यमा आफ्नो संस्कृतितिर त्यति ध्यान नदिएको अवस्था पनि देखिँदै जान थालेको छ। यस सानो आलेखमा कृषिकार्य गर्दा अपनाइने केही संस्कृतिलाई सङ्क्षेपमा प्रस्तुत गरिएको छ।  

पानीको जोहो गर्दा अपनाइने संस्कृति  

कृषिकार्यमा जमिन, अन्न र पानीको महत्वपूर्ण स्थान रहन्छ। यथेष्ट जमिन उपलब्ध भए पनि पानीको अभावमा कृषिको उत्पादन हुन सक्दैन। नदी वा खोलामा हुने पानीको सतह कृषियोग्य जमिनको सतहभन्दा तल हुने र लामो समयसम्म आकाशको पानीको अभाव भयो भने नदीनालाको पानी पनि सुक्ने हुनाले आकाशको पानीको महत्वलाई बुझ्न सकिन्छ। त्यसैले कुनै साल ठूलो खडेरी परेर हाहाकार भयो भने त्यो खडेरीलाई हटाउन सक्ने इन्द्र, महादेव वा नाग आदि देवीदेवता हुन् भनी तिनको पूजाआराधना गर्ने परम्परा रहिआएको छ। यिनको पूजा गर्ने पद्धति पनि ठाउँ र जातअनुसार फरक फरक छन्। उदाहरणका लागि गोरखनाथले नागहरूको आसन बनाई ध्यानमा बसेपछि ठूलो खडेरी पर्दा मत्स्येन्द्रनाथलाई काठमाडौं उपत्यका ल्याएको थाहा पाई गोरखनाथले गुरुलाई प्रणाम गर्न नागासन छोडी हिँड्दा नाग फुक्का भई वर्षा भएको सन्दर्भलाई आधार बनाएर आज पनि त्यसै खुसियालीको सन्दर्भमा मत्स्येन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ। 

यस्तै कतिपय ठाउँमा आज पनि ठूलो खडेरी परेपछि शिव वा इन्द्रको पूजा गर्न खुला चौर, मन्दिर, चौबाटो आदिमा जम्मा भई त्यहाँ धुमधामसँग शिव वा इन्द्रको पूजा गर्ने परम्परा छ। त्यस पूजापछि ‘खरानीको डल्लो कति सारो महादेवलाई पानी दिन कति गाह्रो’ भन्ने गीत गाउँदै पानी छ्याप्ने गरिन्छ। यसरी पानी छ्यापाछ्याप गरेपछि पानी पर्छ भन्ने विश्वास रहेको छ। यी कार्य गर्दा संस्कृतिविद् प्रा. डा प्रेमकुमार खत्रीले दोलखामा प्रत्यक्ष रूपमा पानी परेको भन्ने कुरा नेपाली लोकवार्ताको भाग दुईमा उल्लेख गरेका छन्।  

यस्तै कतिपय ठाउँमा बर्खाका समयमा पानी नपरी खडेरीले सताएमा भ्यागुताको विवाह गराएमा पानीका देवता इन्द्र खुसी भई पानी पार्छन् भन्ने विश्वास गरिन्छ। यसका लागि गाउँका सबै मानिस पाइक पर्ने खेत वा चौरमा जम्मा भई एउटा गाउँको भाले र अर्को गाउँको पोथी भ्यागुतालाई समातेर तिनीलाई विभिन्न रङ लगाई विवाहपद्धति अनुसार धुमधामसँग विवाह गराइन्छ। विवाहपश्चात् उनीहरूलाई एउटै पोखरीमा छाडिन्छ। यसरी विवाह गराउँदा पानी पर्ने विश्वास गरिन्छ। यस्तै, पाल्पाको तानसेन नगरपालिका– १४ अर्गली गाउँका मानिस ठूलो खडेरी परे गाउँको बीचमा रहेको और्व ऋषिको आश्रम मानिने मुस्लुकको डाँडामा रहेको शिव मन्दिरमा रुद्री लगाई अखण्ड कीर्तन गरे पानी पर्ने विश्वास गर्छन्। यो कार्यलाई आवश्यकतानुसार आज पनि निरन्तरता दिइरहेका छन्।  

नेपालको मध्यतराई चितवन नवलपरासी आदि जिल्लामा ठूलो खडेरी परे जिल्लाको मुख्य मानिसलाई चौबाटो वा खुला चौरमा ल्याई खाँबामा बाँधी लछारपछार गर्दै गाग्रीका गाग्री पानी खन्याएर दुःख दिएमा पानी पर्छ भन्ने विश्वास गरिन्छ। दाङ आदि थारू बस्तीमा मध्यरातमा सर्वाङ्ग नाङ्गा भएर महिलाले हलो जोतेको अभिनय गरेमा पानी पर्छ भन्ने विश्वास गरिन्छ। यस सम्बन्धमा थारू जातिमा ‘गैया नेहना’ नामक पर्व मनाइँदै आइएको छ। यस पर्वमा थारू महिला निर्वस्त्र भएर रातमा गाउँ घुम्दै पानी माग्ने गर्छन्। मैथिली बहुल पूर्वी तराईमा प्रसिद्ध कवि विद्यापतिका कविता÷गीतलाई लय हालेर गाएमा पानी पर्छ भन्ने विश्वास गरिन्छ।  

पश्चिम बझाङ आदि जिल्लामा विभिन्न पाँच ठाउँको पानी ल्याई पाँचवटी कन्याले त्यो पानीलाई ओखलमा कुटेमा पानी पर्छ भन्ने विश्वास गरिन्छ। कतिपयले यी पूजापाठ वा कार्य गरेपछि मुसलधारे पानी परेको कुरा सुनाउँछन्। पानी पार्ने यी कार्य सबै खेतीपाती गर्ने अर्थात् धान लगाउने समयमा गरिन्छन्। यसबाट कृषि र संस्कृतिको सम्बन्धलाई बुझ्न सकिन्छ। कहिलेकाहीँ पानी माग्न गरिने कार्यका अतिरिक्त पानी बढी भएर खेतीपाती बिगार्न वा बाढी वा पहिरोले आफू वा खेतीबाली नोक्सान पु¥याउन खोजेमा, असिना परिरहेमा वा चट्याङ पर्ने सम्भावना रहेमा ओदानलाई आँगनमा उल्टो पारेर राख्ने चलन छ। यस्तै कतिपय जातिमा बञ्चरो, सिलौटो बाहिर आँगनमा फ्याँक्ने चलन पनि छ।  

प्रारम्भ र समापन संस्कृति  

कृषिकार्य सुरु र समापन गर्दा विशेष सांस्कृतिक सन्दर्भ जोडिएर आउँछन्। यी सांस्कृतिक सन्दर्भमा आउने पर्व हुन्– हलसारो र हरेलो।  

हलसारोबाट त्यो वर्षको कृषिकार्य प्रारम्भ भएको मानिन्छ भने हरेलोबाट समापन भएको मानिन्छ। पूर्वीय मान्यताअनुसार वसन्त पञ्चमीदेखि बर्खा सुरु हुन्छ भने नागपञ्चमीदेखि हिउँद सुरु हुन्छ। यिनै हिउँद र बर्खाको हावापानीअनुसार हाम्रा खेतीपाती हुन्छन्। खेतीपाती सुरु गर्दा वा समाप्त गर्दा सिमेभूमे देवीदेवताको पूजापाठ गरी खेतीपातीको सुरक्षाको कामना गरिएको हुन्छ। त्यसै सन्दर्भमा वसन्त पञ्चमीका दिन बर्खा लागेको मानी त्यसै दिन वा पञ्चमीपछि पानी परेको बेला त्यस वर्षको पहिलोपटक हलो चलाउँदा खेती गर्ने औजार र भूमिको पूजा गर्ने गरिन्छ। यसलाई हलसारो भनिन्छ।  

हलसारोमा पहिलोपटक हलो चलाउँदा साइत हेर्न पर्दैन भन्ने मानिन्छ। त्यस समयमा हलो र फाली पूजा गरी अन्नको उत्पादन राम्रो होस् भन्ने कामना गरिन्छ। यस्तै कृषि कार्य समापनका रूपमा आउने पर्व हरेलो हो। हरेलो पर्व धान लगाइसकेपछि भाद्र महिनाको पहिलो मङ्गलबार, तीजपछिको मङ्गलबार वा कतै अन्तिम मङ्गलबार मनाइन्छ। यो पर्व मनाइसकेपछि धान रोप्ने वा गोरु जोत्ने आदि कुनै कार्य गरिँदैन। यहाँसम्म कि धानमा रहेको झार उखेल्दा धान गोडियो भने त्यो धान फेरि रोप्ने गरिँदैन।  

खेती लगाउँदा अपनाइने संस्कृति

खेतीपाती हाम्रो जीवनको मूल आधार हो। यसलाई लगाउँदा ठूलै र निरन्तरको मिहिनेत आवश्यक हुन्छ। यो मिहिनेतलाई पनि सांस्कृतिक स्वरूप दिएर सम्पन्न गर्ने हाम्रो परम्परा छ। खेतीपातीका पनि लगाउनेदेखि भण्डारण गर्नेसम्मका विभिन्न चरण छन्। तीमध्ये खेतीपाती लगाउने एउटा चरण हो।  

खेतीपाती लगाउँदा कतिपय संस्कार सम्पन्न गरिन्छन्। कुनै पनि खेती लगाउँदा सकभर शुक्लपक्षलाई राम्रो मानिन्छ। खेतबारी सुक्ने वा समय घर्कने भएमा कृष्णपक्षमा पनि खेतीपाती लगाउने गरिएको छ। सकभर राम्रो दिन पारेर शुभसाइतमा बीउ छर्ने वा रोप्ने गरिन्छ। बीउ छर्दा वा रोप्दा घरको मूल मान्छे वा जसलाई जुरेको छ, त्यसबाट सुरु गराई त्यसपछि आवश्यकतानुसार अरूले छर्ने वा रोप्ने चलन छ।

खेतबारीमा बीउ छर्नुअघि बीउलाई सुनपानी वा जौ–तिलको पानीले छर्की शुद्ध गरिन्छ। त्यसपछि सम्पूर्ण देवीदेवता, नागनागिन कुलकुलायन, भूतप्रेत मरिमसान आदिले अन्नको संरक्षण गरुन् भन्ने उद्देश्यले उनीहरूलाई केही दाना चढाएर मात्र छर्ने गरिन्छ। त्यस्तै खेतको मुहानको गरामा सिमली वा पातीको लिंगो गाडी देवीदेवता आदिलाई सम्झेर बीउ त्यसमा चढाएर मात्र रोप्न थालिन्छ। कतिपय ठाउँमा आफ्नो खेतको ठूलो वा बीचको गराको बीच भागमा भकारी बनाई त्यहीँबाट रोप्दै आउने चलन पनि छ।  

औँसी, पूर्णिमा, नराम्रो बार वा घरमा श्राद्ध परेको छ भने त्यस दिन जोत्ने, बीउबिजन छर्ने आदि कार्यको प्रारम्भ गरिँदैन। यस्तै, कतिपय ठाउँमा मकै छर्नु अगाडि मकैको विवाह गरिन्छ। विवाहका बेला प्रसादका रूपमा पाइएको बीउलाई आफ्नो बीउमा मिसाएर मात्र छर्ने गरिन्छ।  

खेतीपाती लगाउँदा सम्बन्धित खेतीको विशिष्ट पहिचान दिने गीतसङ्गीतका साथ खेतीपाती गर्ने चलन छ। उदाहरणका लागि जेठमा घैया छर्दा, कोदो रोप्दा जेठे गीत वा गोडेलो गीत गाइन्छ भने असारमा धान रोप्दा बाली, असारे वा रसिया गीत गाउने चलन छ। केही समय अगाडिसम्म बेठी जाने परम्परा थियो, हाल यो परम्परा हटेको छ।  

रोपाइँमा गाइने गीतको इतिहास खोज्दै जाँदा कपिलवस्तुका राजा शुद्धोधनले सुनको फाली भएको हलोले खेतमा जोतेर रोपाइँको सुरु गर्ने र त्यसपछि सबै किसानले गीत गाउँदै खुसियाली मनाउँदै रोप्न सुरु गर्ने परम्परा रहेको किंवदन्ती पाइन्छ। रोपाइँमा खेताली, हली, बाउसेको विशेष चहलपहल हुन्छ। अघिल्लो दिनदेखि खेतमा पानी र आलीकुना तासतुस गरेर खेतलाई तयार गरिएको हुन्छ। बीउको तयारी पनि पहिलेदेखि गरिएको हुन्छ। रोपाइँलाई हिलोमा खेल्ने, गीत गाउने, दहीचिउरा खाने, विशेष प्रकारका खाना (चिचर, रोटी, पुवा) खाएर रमाइलो गर्ने पर्वकै रूपमा लिइन्छ। त्यसकै सम्झनास्वरूप आजकल असार १५ लाई रोपाइँ दिवस मानी त्यस दिनलाई दहीचिउरा खाने दिन भनी सहरमा बस्नेले पनि दही र चिउरा खाएको देखिन्छ।  

रोपाइँमा खेतका धनीले खेताल्नी, बाउसे, हलीलाई यथाशक्य बक्सिस् दिने चलन पनि छ। यस समयमा खेत सम्याउँदा गोरु कुदाएको, खोकमा चढेर हुइँकिएको, बाउसेले खेतका गरा मिलाउनेदेखि बीउ पाँजेको, खेताल्नी र बाउसे भएर बाजागाजासहित बाली, असारे र रसिया गीत गाएको, साँझ गीत गाउँदै घर आएको र घरमा पनि बाली गीत गाउँदै घरमूलीलाई आशीर्वाद दिएको आदि दृश्य अत्यन्त मनमोहक हुन्छन्।  

सुदूरपश्चिमतिर यस दिन घरका सम्पूर्ण परिवार खेतमा जाने चलन छ। त्यहाँ बाजागाजासहित बीच खेतमा बनाइएको अन्नपूर्णा देवीको प्रतीक मानिने भकारीको ज्येष्ठ सदस्यबाट पूजाआजा गर्ने र धानका पातबाट तयार पारिएको भुरुणीलाई प्रसादका रूपमा लगाइन्छ। यस अवसरमा घरबाट पकाएर ल्याएका निसौसे, चिउरा, माणा, कसार, खाजा जस्ता मिठामिठा परिकार खाइन्छ। डोटेलीहरू यस समयमा चाँचरी, घरगीत, ढुस्को, डेउडा गाएर र खेलेर रमाइलो गर्छन्।

यस्तै धान रोपिसकेपछि यसको खुसियालीमा भाद्र कृष्णपक्षको द्वितीया तिथिका दिन नेवार जातिमा रोपाइँ जात्रा मनाउने प्रचलन छ। यस जात्रामा रोपाइँकै नक्कल गरिन्छ। काठमाडौंमा पशुपतिको देवपत्तन, पाल्पा तानसेनको भगवती टोल, इलाम आदि स्थानमा यो जात्रा विशेष रूपले मनाइन्छ। यो जात्रा मनाउँदा नेवारले विभिन्न बाजा बजाउँदै आ–आफ्नो जातीय वेशभूषामा सजिएका नरनारीमध्ये पुरुषले हलो जोतेको, गोरु कुँदाएको, आली लगाएको, बीउ पाँधेको अभिनय गर्छन्। महिलाले विभिन्न असारे गीत गाउँदै धान रोपेको अभिनय गर्छन्। कर्णालीको विभिन्न जिल्लामा यसलाई चोपाइँ जात्राका नामबाट मनाइन्छ। यहाँको भाषामा चोपाइँ भन्नाले पानीमा चोप्नु अर्थात् पानीमा डुबाउनु भन्ने हुन्छ। यहाँ रोपाईंका समयमा घरमुलीलाई खेतको हिलो पानीमा चोपेर रमाइलो गर्ने पनि गरिन्छ।  

खेतीपाती संरक्षणमा अपनाइने संस्कृति

खेती लगाइसकेपछि पनि त्यसको संरक्षणका सन्दर्भ वा अन्य कतिपय सन्दर्भमा विभिन्न संस्कृति सम्पन्न गर्ने परम्परा रहेको छ। त्यसमध्ये एक हो, हरेलो। हरेलो धान लगाइसकेपछि भाद्र महिनाको पहिलो मङ्गलबार वा तीजपछिको मङ्गलबार वा कतै अन्तिम मङ्गलबार पनि मनाइन्छ। यस पर्वलाई भूमिपूजा वा धानको न्वारन गर्ने पर्वका रूपमा लिइन्छ। यस पर्वमा यस वर्षको धान रोपाईं सकिएकाले धान राम्रो होस्, चरामुसाले नाश नगरोस् र देवीदेवता तथा मानवका लागि यो अन्न शुद्ध/पवित्र होस् भनी कामना गरिन्छ। हरेलो गर्दाको दिन बिहानै नुहाएर शुद्ध भई पाती, सिमली वा मियालको हाँगा खेतको मुहान्को गराको आली वा बारीमा गाडिन्छ। विभिन्न अन्न र जाँतो वा ढिँकीको माटो तथा काठको भुसलाई मिसाएर मकैको खास्टोमा राखिन्छ। खास्टोलाई बाबियोले बाँधेर पोका पारिन्छ। ती पोकालाई हतेउरीले बाँधेर गाडिएका पाती, सिमली वा मियालको हाँगामा झुन्ड्याइन्छ। ती बाँधिएका पोका नै चरा–मुसाको आहारा मानिन्छ। त्यसपछि घरबाट लगेको पूजा सामग्रीले पूजा गरी आगाको कोइलामा धूपबत्ती बालिन्छ। एउटा अमिलो/निबुवा काटी खेतमा जाने पानीमा चुहाइन्छ। 

यस समयमा चराको चुच्चो भाँचियोस् र मुसाको दाँत कुँडियोस् भनी प्रार्थना गरिन्छ। यो हरेलो धानमा मात्र नभएर मकै, काँक्रा, घिरौँला आदिमा पनि गरिन्छ। बाँधेर राखिएका पोकाका अन्न उम्रेका आधारमा खेतीबाली सप्रने विश्वास गरिन्छ। यस दिन हलो, जुवा, गोरु आदि धोइपखाली गरिन्छ। त्यसपछि रोपाइँ गरिँदैन। यहाँसम्म कि धानको झार गोड्दा धान उखेलियो भने त्यसलाई पुनः नरोप्ने चलन छ। पाल्पाको अर्गलीमा भने भदौको दोस्रो मङ्गलबारका दिन जेठी कुलाकी देवी मधुमतीलाई पञ्चबलि दिने चलन छ। त्यहाँ पञ्चबलि दिँदा त्यसको रगत कुलामा पस्ने र त्यहाँ चढाएको प्रसाद त्यहाँदेखि तल साँचा भन्ने ठाउँबाट लिइने हुनाले त्यस दिन कसैले खेतमा पानी नपसाल्ने र आफू पनि खेतमा नपस्ने चलन छ। सुदूरपश्चिममा भने साउने सङ्क्रान्तिमा हरेलो मनाइन्छ।  

यस्तै तराईमा धान रोपेर सबैको धान हरियो हरियो वर्णको भएपछि मनाइने पर्व हरिहरिबर्ना हो। यो पर्व थारु जातिमा प्रचलित छ। यो पर्व मनाउँदा गाउँभरिका मुढेर अर्थात् घरमुलीले गोसाईं बाबास्थानमा बत्ती बालिदिने र गाईको दूध, चामल, मार्किनको कपडा चढाइदिने गरिन्छ। त्यसपछि त्यहाँबाट ल्याएको अक्षता घर तथा वरपर छर्किने गरिन्छ। यसबाट कीराफट्याङ्ग्रा आदिले बालीलाई नोक्सान नपु¥याउने, चट्याङ, बाढीजस्ता प्राकृतिक प्रकोप नहुने विश्वास गरिन्छ। हरिहरिबर्ना गरेपछि त्यो दिन अरू कुनै पनि काम नगर्ने चलन छ। त्यसैले त्यस दिनका लागि घाँसपातको व्यवस्था अघिल्लो दिन नै मिलाइएको हुन्छ। यस्तै तराईमा धानको बाला फुट्ने बेला गबहा सँकराती मनाइन्छ। यस दिन बिहानै कृषक चौरमा गएर ‘सैर बराबर’ (धानका सबै बाला बराबर निस्किऊन्) भनी जोडजोडले चिच्याउने गरिन्छ।

खेतीपाती स्याहार्दा गरिने संस्कृति  

कृषिकार्यलाई उपयोगको अवस्थामा ल्याउने अन्तिम कार्यमा आफूले मिहिनेतका साथ उब्जाएको अन्नबालीलाई विनानोक्सानी स्याहार्नु हो। यसलाई पनि हामीकहाँ सांस्कृतिक सन्दर्भबाटै सम्पन्न गर्ने परम्परा रहिआएको छ। यसमा धान पाक्न लागेपछि शुभसाइतमा मुठी लिने, शुभ दिन पारेर नै न्वागी खाने, धानको बिटा उठाउने, दाइँ गर्ने आदि कार्य पनि संस्कृतिमय हुन्छन्। त्यसैले यी काम गर्ने दिन पनि उल्लासमय हुन्छन्, जस्तै दाइँ गर्दा सिमलचरी गीत गाउने, पुल्टुङबाजी खेल्ने, दाइँका गोरुबाट सह माग्ने, सहबाट आएको गोबरलाई धन्सारमा राख्ने, धानको रासलाई खरानीले घेर्ने, रासको टुप्पोमा हँसिया राख्ने, रासबाट धानलाई बीचबाट ननिकाल्ने आदि गरिन्छ। यी हाम्रा कृषि र संस्कृतिका अभिन्न अंग हुन्। यस्तै मकै पाकिसकेपछि विभिन्न देवीदेवतालाई नचढाई नखाने आदि कार्य पनि हाम्रो संस्कृतिका ज्वलन्त नमुना हुन्।  

तराईमा नयाँ गहतको दाललाई बगियाभित्र राखी पुस महिनामा पकाएर खाने चलन छ। यसलाई बगिया वा यमरी पर्व भनिन्छ। बगिया वा यमरी पर्वमा नयाँ गहतलाई खेतबाट उखलेर ल्याई त्यसलाई मिल वा जाँतोमा दलेर दाल बनाइन्छ। त्यो दाललाई उसिनेर चामलको पिठामा राखी तेलको प्रयोगविना नै पानीको बाफमा पकाएर वा तारेर बगिया÷यमरी तयार पारी बगिया खाने परम्परा रहेको छ। यसपछि मात्र नयाँ अन्न खान खुलेको मानिन्छ।  

समग्रमा भन्दा नेपाल सांस्कृतिक सन्दर्भमा अत्यन्त सम्पन्न छ। यसको उदाहरणका रूपमा कृषि कार्यसँग सम्बिन्धित संस्कृतिलाई हेर्दा पनि यसको पुष्टि हुन्छ। खेतीपाती मिहिनेतको काम हो। मिहिनेतको काम भए पनि यिनमा सुरुदेखि अन्तसम्म भिन्नभिन्न प्रकारको संस्कृतिका साथ सम्पन्न गरिन्छन्। यसले गर्दा खेती गर्दा हुने मिहिनेतलाई दुःखको काम मानिनुभन्दा सांस्कृतिक कार्य गर्दा हुने उल्लास र उमङ्गले खुसी दिने काम मानिन्छ। त्यही खुसियालीमै नेपालमा कृषि कार्य सम्पन्न गरिँदै आएका छन्। त्यसैले नेपालको कृषि र संस्कृतिलाई अलग गरेर हेर्न मिल्ने अवस्था देखिँदैन। यद्यपि आजकल यी संस्कृतिलाई बेवास्ता गरिएकाले कृषिलाई झन्झटिलो पेसा मान्न पनि थालिएको छ। त्यसैले कृषिलाई संस्कृतिकै रूपमा अगाडि बढाउन सके हाम्रो परम्परा पनि जोगिने र संसारका हरेक जीवजन्तुको संरक्षण पनि हुने देखिन्छ।

प्रकाशित: २२ जेष्ठ २०७८ ०४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App