अर्थ

कृषिमा काेना प्रभाव: किसानको फसल ‘घुइँयाको भाउ’ मा

वसन्ते तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने सोचेका किसानको उब्जनीको मूल्य अहिले ‘घुइँयाको भाउ’ भएको छ। सबैभन्दा सस्तो मूल्यमा बिक्ने पिँडालुलाई संकेत गर्दै ‘घुइँयाको भाउ’ भन्ने चलन छ। यो बेला किसानले उब्जाएको तरकारी घुइँयाको भाउमा पनि बिक्न छाडेको छ।  

गत वर्षको कोरोना कहरमा घाटा बेहोरेका किसानले यस वर्ष नाफा कमाउने उद्देश्यसाथ माघ–फागुनमा वसन्ते तरकारी खेती गरे। चैत अन्तिमतिर उत्पादन हुन थालेपछि हौसिएका किसान प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेपछि निराश भएका हुन्।  

कोरोनाको दोस्रो लहरले सुदूरपश्चिममा निषेधाज्ञा भएपछि आफूहरूको फसलले मूल्य नपाएको मौरीफाँटाका किसान हरिप्रसाद ओझाले बताए। ‘निषेधाज्ञा हुनेबित्तिकै हाम्रो फसल ‘घुइँयाको घाउ’मा पनि बिक्न छोड्यो,’ उनले भने। तरकारी बेच्दा उत्पादन लागत पनि नपाइने गरेको उनले सुनाए। ‘तरकारी फलाउँदासम्म परेको लागत पनि नउठ्ने भयो,’ उनले भने, ‘तरकारीको खपतै घट्यो, थोकमा किन्ने पसलेले पनि एकदमै सस्तोमा र थोरै परिणाममा किन्दा हाम्रो उत्पादन बारीमै कुहिन थाल्यो।’ 

निषेधाज्ञाअघि बारीबाटै खुर्सानी ८०, करेला ८०, काँक्रा ३०, लौका ३०, भिण्डी ८०, बोडी ८० रूपैयाँका दरले बिक्री भएको सुनाउँदै उनले थपे, ‘अहिले आधाभन्दा सस्तोमा पनि किनिदिने कोही छैन।’ लागतभन्दा कममा बेच्न खोज्दा समेत कसैले नकिनिदिएको उनी बताउँछन्।  

वर्षाैंदेखि तरकारी खेती गर्दै आएकी गौरीगंगा नगरपालिका–४, राजीपुरकी टीका भण्डारीले पनि यसपालि तरकारीको मूल्य पाइनन्। १० कट्ठा जमिनमा लगाएको तरकारी बारीमै कुहिन थालेको उनको भनाइ छ। ‘सस्तोमा बिक्न छाडेको छ,’ उनले भनिन्, ‘बारीमै कुहिन थाल्यो।’  

उनले तरकारी खेतीसँगै १५ कट्ठा जमिनमा केरी खेती पनि गरेकी छिन्। केराले राम्रो फसल दिएको छ। तर २५ रूपैयाँ दर्जनमा बेच्न खोज्दा पनि नबिकेको उनको भनाइ छ। ‘नबिकेपछि भैंसीलाई खुवाउने गरेको छु,’ भणडारीले भनिन्। उनको बारीमा करिब पाँच सय घरी केरा छ।ओझा र भण्डारी मात्रै होइनन्, अहिले वसन्ते तरकारी खेती गरेका सबै किसान मारमा छन्।  

धनगढी उपमहानगरपालिका–१७, पत्थरीका चेतराम चौधरीले टमाटर, खुर्सानी, काँक्रा, खर्बुजाले सोचे अनुसारको मूल्य नपाउँदा सपना चकनाचुर भएको बाए। अघिल्ला वर्षमा बारीबाटै ५० रूपैयाँ किलोमा टमाटर बेचेको सम्झँदै भने, ‘पोहोर र अहिले उही समयमा भएको निषेधाज्ञाले १५ रूपैयाँ केजीमा पनि टमाटर बिक्न छोड्यो।’ मूल्य घटाउँदा पनि कसैले नकिनिदिएको दुखेसो पोख्दै उनले भने, ‘घुइँयाकै भाउमा लैजाऊ भन्दा पनि कसैले उठाएन।’  

गौरीगंगाका फूलराम चौधरीले काँक्रा र खुर्सानी खेती गरेका छन्। काँक्राले अघिल्लो वर्ष राम्रो बजार पाएपछि हौसिएका उनी यसपालि निराश बनाएको बताउँछन्। ‘अघिल्लो वर्ष राम्रै आम्दानी दिएको थियो,’ उनले भने, ‘यसपालि बजार नै पाइएको छैन।’ काँक्रा बारीमै पहेँलो हुन थालेको उनको गुनासो छ।

प्रकाशित: २१ जेष्ठ २०७८ ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App