अर्थ

साउनबाटै बजेट कार्यान्वयन: मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार मन्त्रालय मातहत समावेश गरिएका परियोजनाको कार्ययोजना तयार पारेर कार्यान्वयन गर्ने बताएका छन्। मन्त्री नेम्बाङले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक खर्ब ६२ अर्ब ५० करोड बजेट प्राप्त भएको र त्यसलाई कार्ययोजना तयार पारेर साउन १ गतेदेखि नै प्रभावकारी ढंगले कार्यान्वयन गर्ने दाबी गरे।  

‘सरकारले निर्वाचन घोषणा गरिसकेको छ। तर निर्वाचनसँगै भौतिक पूर्वाधार निर्माणको कामलाई पनि चलायमान गराउनुपर्ने अवस्था छ,’ उनले भने, ‘कोभिड १९ महामारीबीच पनि राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनाको निर्माण अघि बढाइनेछ।’ बजेटमा भौतिक पूर्वाधारका ३२ भन्दा धेरै परियोजना तोकिएरै आएका छन्। ती परियोजनालाई कार्ययोजना तयार पारेर आर्थिक वर्ष सुरुदेखि नै कार्यान्वयन गर्ने मन्त्रालयले जनाएको छ।  

मन्त्री नेम्बाङले बजेट वक्तव्यमा उल्लेख भएका परियोजना र योजनाको आगामी साउन १ गतेदेखि नै कार्ययोजना बनाएर काम थाल्ने बताए। ‘असार मसान्तभित्रै योजना तर्जुमा गर्ने गरी काम गरिरहेका छौं,’ उनले भने, ‘मन्त्रालय स्तरमा नै कार्ययोजना बनाएर काम सुरु गरिसकेका छौं।’  

मन्त्री नेम्बाङले ठूला परियोजनाको चालु आर्थिक वर्षको मसान्तभित्रै आवश्यक प्रशासनिक तथा प्राविधिक कुरा टुंगो लगाउने तयारी गरिरहेको बताए। उनले विगतमा दक्ष जनशक्ति अभावले सोचेजति उपलब्धि हासिल गर्न नसकेको दाबी गर्दै अब त्यसो नहुने बताए।  

मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ओएमएस सर्वे अनुसारको कर्मचारी थप गर्ने स्वीकृति दिइसकेको नेम्वाङले बताए। सरकारले निर्वाचन घोषणा गरिसकेको अवस्थामा लोकप्रियता कमाउन नभई दायित्व पूरा गर्न बजेट ल्याएको उनले बताए। 

मन्त्री नेम्बाङले भने, ‘सरकारले रेलमार्ग, सुरुङमार्ग, जलमार्गलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ।’ मन्त्री नेम्बाङले आगामी आर्थिक वर्षका कार्यक्रमहरू समय सीमाभित्र कार्यान्वयन हुने दाबी गरे। सरकारले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत एक खर्ब ६२ अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।  

सरकारले चालु आर्थिक वर्ष ०७७/७७ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत एक खर्ब ३४ अर्ब बजेट विनियोजन गरेको थियो। आगामी वर्षको बजेट बढाएर एक खर्ब ६२ अर्ब पुर्‍याएको छ। आगामी वर्षको बजेटमा रेलमार्गको अध्ययन, निर्माण र सञ्चालनको लागि १० अर्ब रूपैयाँ बजेट विनियोजन गरिएको छ। जलमार्ग सम्बन्धी अध्ययन, निर्माणको लागि ८ करोड ६७ लाख रूपैयाँ छ। सुरुङमार्ग विकास कार्यक्रमको लागि एक अर्ब ९९ करोड रूपैयाँ छ। नागढुंगा सुरुङमार्गको लागि नौ अर्ब ८४ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।  

कोटेश्‍वरको सवारी चापलाई व्यवस्थित गर्न तीनकुने–जडीबुटी खण्डमा सुरुङमार्ग निर्माण गर्न एक अर्ब ८० करोड रूपैयाँ विनियोजन गरेको छ। चक्रपथको ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा फ्लाइओभर निर्माणको लागि दुई अर्ब ६४ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।  

पूर्व–पश्चिम राजमार्गलाई सुरक्षा मापदण्ड सहितको चार लेनमा विस्तार गर्ने कार्यक्रम छ। सरकारले आगामी वर्षको बजेटमा कञ्‍चनपुर–कमला, कमला–ढल्केवर–पथलैया र नारायणगढ–बुटवल खण्डको विस्तार कार्यलाई तीव्रता दिने जनाएको छ। 

काँकडभिट्टा–इनरुवा, पथलैया–नारायणगढ, बुटवल–कोहलपुर र कोहलपुर–वनवासा खण्डको विस्तृत डिजाइन सम्पन्‍न गरी निर्माण कार्य थालनी गर्ने कार्यक्रम बजेटमा उल्लेख गरेको छ। राजमार्गको सघन बस्ती भएको क्षेत्रमा सर्भिस लेन, अन्डरपास तथा फ्लाइओभर, चुरे क्षेत्रमा टनेल र वन क्षेत्रमा वन्यजन्तु टनेल समेत निर्माण गरिनेछ। यो कार्यको लागि १५ अर्ब बजेट विनियोजन गरेको छ।  

सरकारले पुष्पलाल राजमार्गलाई चार लेनमा विस्तार गरी मध्यपहाडी क्षेत्रको विकास मेरुदण्डको रूपमा निर्माण गर्ने जनाएको छ। राजमार्गको दुरी घटाउन सम्भाव्यता अध्ययन गरी पुनःरेखांकन, सुरुङ प्रविधिको प्रयोग र अग्ला पुल निर्माण गर्न आठ अर्ब बजेट विनियोजन गरेको छ।

प्रकाशित: २० जेष्ठ २०७८ ०२:४६ बिहीबार

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङ