अर्थ

नेपाली उद्यमीको लागि उद्यमशील विश्वकप

नेपाल युवा उद्यमी मञ्चले उद्यमशील विश्वकप २०२१ को लागि आवेदन खुला गरेको छ। पहिलो वर्षमा जस्तै यस वर्ष पनि २०० भन्दा बढी देशबाट एक लाख ७५ हजारभन्दा बढी प्रतियोगीले भाग लिने अपेक्षा राखिएको छ।  

यस कार्यक्रमले एक लाख अमेरिकी डलर राशीको नगद पुरस्कार विश्वव्यापी रूपमा घोषणा गरेको छ। साथै थप सात लाख ५० हजार डलर बराबरको अन्य प्रकारको सहयोग र थप लगानी गर्ने अवसर उपलब्ध गराउने बताइएको छ।

यस प्रतियोगिता नेपालमा भने पहिलोपटक आयोजना हुन गइरहेको छ। नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) यस वर्ष नेपालको लागि अधिकारिक रूपमा राष्ट्रिय आयोजकमा छ। यसले नेपालभित्र र बाहिर रहेका उद्यमीलाई यस प्रतियोगितामा भाग लिन सहयोग पुर्‍याउनेछ।

एनवाइइएफ युवा उद्यमीको लागि सदस्यमा आधारित गैरनाफामुखी संस्था हो। व्यवसायमा सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यका साथ यसको स्थापना भएको जनाइएको छ। उल्लेखनीय व्यवसायको विकास गरी नेपाली युवाबीच विचारको आदानप्रदान गर्नु यसको लक्ष्य रहेको र व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने साझेदारी, शिक्षा, तालिम तथा अन्तरक्रिया आयोजना गर्नु यसको उद्देश्य रहेको छ। सन् २००३ को सेप्टेम्बर २६ तारिखमा नेपाल उद्योग वाणिज्य महासंघले मञ्च स्थापना गरेको थियो।

एनवाइइएफले देशभरीबाट युवा उद्यमीलाई एकसाथ ल्याएको छ। अति आवश्यकीय र मजबुत सञ्जालले गर्दा युवा उद्यमीहरू लाभान्वित छन्। यसले व्यावसायिक मानसिकता र समान उद्देश्य भएकाहरूलाई सहयोग पुर्‍याइरहेको जारी विज्ञप्तिमा उल्लेख छ।

इडब्लुसी एउटा विश्वव्यापी कडा प्रतिस्पर्धात्मक प्रतियोगिता हो, जसको पुरस्कार राशीले एकैपटकमा जीवन परिवर्तन गर्नेछ। यसका साथै यसले व्यवसायीलाई आफ्नो व्यवसाय प्रवद्र्धन गर्न स्रोत, साधन उपलब्ध गराउन पनि मदत गर्नेछ। इडब्लुसीले भर्चुअल माध्यमको तालिम र विषयगत कार्यक्रमलाई अगाडि लैजान र व्यवसायीको ज्ञान, सीपमा निखार ल्याई राष्ट्रिय प्रतिस्पर्धा जित्ने मौका मिल्नेछ। यसैगरी, उनीहरू विश्वस्तरीय फाइनलमा भाग लिन सक्नेछन्।

इडब्लुसी अनलाइन प्लेटफर्मले सफल रूपमा आवेदन दिएका प्रतियोगीलाई २५ हजार डलरभन्दा बढी रकम बराबरकाको गुगल क्लाउड, हटस्पट, स्ट्रिप आदिमा आकर्षक पहुँच दिने बताइएको छ।

राष्ट्रिय स्तरको अन्तिम प्रतियोगिता सन् २०२१ को जुलाइमा आयोजना गरिने छ। सन् २०२१ को नोभेम्बरमा छानिएका सयजना प्रतियोगी साउदी अरेबियाको रियाद जानेछन्। त्यहाँस्थित शिविरमा रही इडब्लुसी सम्बन्धी विशेष कार्यक्रममा सहभागी भई अन्त्यमा इडब्लुसीको फाइनलमा भाग लिने छन्। 

प्रकाशित: १९ जेष्ठ २०७८ ०८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App