अर्थ

कारोबार र सूचकमा कीर्तिमान

आर्थिक वर्ष २०७८/७९ को बजेटमा अल्पकालीन लगानीकर्तालाई लाभकरमा कडाइ गरिए पनि सेयर बजारमा त्यसको कुनै प्रभाव परेन। बजेट घोषणपछिको पहिलो कारोबारमा बजार मापक नेप्से र कारोबार रकममा कीर्तिमान कायम भएको छ। सेयर बजारमा कीर्तिमान कायम हुनुलाई लगानीकर्ताले बजेटको स्वागतको रूपमा बुझेका छन्।  

केही दिनअघि नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिका लागि बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबार गर्न रोक लगाएको थियो। सोही नीति पछ्याउँदै अर्थमन्त्री विष्णु पौडेलले एक वर्षभन्दा थोरै अवधिमा सेयर बिक्री गर्नेले साढे सात प्रतिशत लाभकर तिर्नुपर्ने नियम लगाए। एक वर्ष नाघेपछि बिक्री गर्ने लगानीकर्ताले भने पाँच प्रतिशत लाभकर तिर्नुपर्छ।  

साताको पहिलो कारोबारमा नेप्से १२.५४ बिन्दुले बढेर २८२७.९३ मा पुगेको छ। यो हालसम्मकै उच्च हो। यसअघि गत साताको सोमबार नेप्से २८२३.४० बिन्दुमा बन्द भएको थियो। यस दिन सेन्सेटिभ इन्डेक्स ३.३५ ले बढेर ५०७.०५ बिन्दुमा पुग्यो भने फ्लोट इन्डेक्स १.५९ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०६ बिन्दुले बढ्यो।  

कारोबार रकमले पनि कीर्तिमान बनाएको छ। दुई सय १९ कम्पनीका चार करोड २६ लाख ३६ हजार तीन सय ४८ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब दुई करोड ८४ लाख ३२ हजार दुई सय ४५ रूपैयाँ बराबरको कारोबार भयो। यसअघि १४ अर्ब ७६ करोड रूपैयाँ बढीको सेयर कारोबार भएको थियो।  

यस दिन १३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ज्योति विकास बैंक, घलेम्दी हाइड्रो, आँखुखोला जलविद्युत्, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक, साइन डेभलपमेन्ट बैंक, सोल्टी होटल, ओरियन्टल होटल, खानीखोला हाइड्रो, जोशी हाइड्रो लगायतका कम्पनीका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ७.३९ प्रतिशतले बढ्दा फाइनान्स ५.०८, होटल तथा पर्यटन ४, म्युचुअल फन्ड ३.८७ र बैंकिङ उपसमूह १.०७ प्रतिशतले बढ्यो।  

प्रकाशित: १७ जेष्ठ २०७८ ०३:५९ सोमबार

कारोबार र सूचकमा कीर्तिमान