अर्थ

करेन्ट लगाएर माछा मार्दा जलचर नै जोखिममा

तमोर नदीमा जाल हानेर माछा मार्दै युवक । तस्बिर : गिरीराज बाँस्कोटा

पाँचथर जिल्ला हुँदै बग्ने तमोरको गडतीरमा बस्ने माझीहरू अचेल माछा मार्ने काममा त्यति रमाउँदैनन्। कुनै समय तमोर नदीमा माछा मारेर परिवारका लागि नुन–भुटुनको जोहो गर्ने उनीहरू माछा मार्ने पुख्र्यौली पेसा छाडेर अर्कै कामधन्दामा लागेका छन्।

हुन त खोलामा पर्याप्त माछा नै कहाँ पाइन्छ र ? पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमानामा रहेको माझीटारका ६२ वर्षीय जसबहादुर माझी सम्झन्छन्, ‘पहिले तमोर नदीमा प्रशस्त माछा पाइन्थ्यो। अहिले त्यस्तो माछा कहाँ पाइन्छ र ? पाउनै मुस्किल छ। यसरी माछा घट्दै गएको १०/१५ वर्ष जति भयो।’  

जसबहादुर माझी उत्थान संघको जिल्ला अध्यक्ष पनि हुन्।  

पाँचथरको हिलिहाङ गाउँपालिका, पिनासिघाटका टीकाराम माझीको अनुभवमा पनि तमोर र काबेली नदीमा विगतमा जस्तो माछा अहिले पाइँदैन। उनी भन्छन्, ‘पहिला जस्तो माछा लाग्दैन।’ यसको कारण उनले खोजेका छैनन्, भन्छन्, ‘खै किन हो ? माछा नै नपरेपछि यतिबेला माछा मार्न मरिहत्ते गरिँदैन।’  

धनकुटाको सहिदभूमि गाउँपालिका, त्रिवेणीका भानु राई पनि पहिले तमोरमा जाल हान्दा प्रशस्त पर्ने तर अचेल नपर्ने बताउँछन्। उनका अनुसार माछाको प्रजनन प्रणालीमै असर परिरहेको छ। यसले माछा मात्र नभई खोलाका अन्य जलचरमा पनि असर परिरहेको छ।

पाँचथरको उत्तरी याङवरक गाउँपालिकाको च्याङ्थापु, फलैचामा प्रशस्त पाइने तितेमाछा अचेल कमै मात्र देखिन्छ। स्वादिष्ट र औषधीय गुण भएको रैथाने तितेमाछालाई अंशमा पनि बाँडिन्थ्यो। अहिले त यो घटेर लोप हुने पो हो कि भन्ने चिन्ता बढ्दै गएको स्थानीय अगुवा मचिन्द्र बेघा बताउँछन्। उनी भन्छन्, ‘खोलामा माछा मार्न करेन्ट लगाइदिने गर्दा समस्या भयो। जिम्मेवारहरूले नै आडभरोसा दिएको हो कि जस्तो लाग्छ।’  

तमोर, काबेली जस्ता ठूला नदीमा मात्र होइन, स–साना नदीमा पनि माछा मार्न करेन्टको प्रयोग भइरहेको छ। कतै लुकिछिपी तथा कतै स्थानीय अगुवासँगै मिलेर पनि करेन्ट लगाउने गरेको पाइन्छ। कतै रमाइलोका लागि त कतै माछाबाट छिटै आम्दानी लिनका लागि पनि खोलामा करेन्ट लगाइन्छ।

स्थानीय सन्त बेघा अचेल रैथाने तितेमाछा फाट्टफुट्ट मात्र देखिएको बताउँछन्। उनका अनुसार, पहिले तितेमाछा मूलमा फुल पार्न आउँथे। मुहान सफा गरिन्थ्यो। अहिले न मुहान संरक्षण गरिएको छ, न सफा। करेन्ट लगाएपछि सबैखाले माछा सकिन लागे। अब हाइड्रो बनाउने हल्ला सुनिन्छ। झन् असर पार्ला नै।  

माछाको शत्रु करेन्ट

माछा मार्न खोलामा करेन्ट लगाउने क्रम बढ्दै गएपछि माछा हराउँदै गएको स्थानीयको अनुभव छ। जेनेरेटर, ब्याट्री र इन्भर्टरको प्रयोग गरेर माछा मार्ने गरिएको स्थानीय बताउँछन्। भानु राई तमोरमा करेन्ट लगाएर माछा मार्ने काम अत्यधिक भएको ठान्छन्। उनी भन्छन्, ‘मान्छेसँग माछा प्रत्यक्ष जोडिन्छ, किनकि हामी खान्छौँ।’  

पाँचथरको शिवा दोभानकी राधिका तामाङ खाने भन्दैमा माछालाई करेन्ट लगाएरै मार्नु ठीक नभएको बताउँछिन्। उनी भन्छिन्, ‘यहाँ त करेन्ट लगाउन आए भने गाउँले मिलेर लखेट्छौँ, तर बस्ती नभएका ठाउँमा लगाइहाल्छन्। निवु र तमोर जोडिने ठाउँमा लगाउँछन् भन्ने सुनिन्छ।’

तमोर, काबेली जस्ता ठूला नदीमा मात्र होइन, स–साना नदीमा पनि माछा मार्न करेन्टको प्रयोग भइरहेको छ। कतै लुकिछिपी तथा कतै स्थानीय अगुवासँगै मिलेर पनि करेन्ट लगाउने गरेको पाइन्छ। कतै रमाइलोका लागि त कतै माछाबाट छिटै आम्दानी लिनका लागि पनि खोलामा करेन्ट लगाइन्छ।  

कुम्मायक गाउँपालिकाको सिमराघाट नजिकैका माछा व्यवसायी जोगप्रसाद सम्बाहाफे भन्छन्, ‘टाढा टाढाबाट आएर पनि करेन्ट लगाउँछन् भन्ने सुनेको छु। यसले ठूलो असर पार्ने नै भयो।’

विगत पाँच वर्षदेखि माछा अनुसन्धानमा सक्रिय रहेकी अञ्जना श्रेष्ठ करेन्टले सबैखाले माछा, अन्डा पार्ने बेलाका माछा र अन्डालाई समेत असर गर्ने बताउँछिन्। ‘खोलाका अन्य जलचरहरूलाई पनि ठूलो असर परेको छ। यसले समग्र इकोसिस्टममै असर पार्ने गर्छ। यो गैरकानुनी काम हो,’ श्रेष्ठ भन्छिन्, ‘यी सब कुरा जान्दाजान्दै पनि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रम रोकिएको छैन।’ अनुसन्धानले माछाका लागि करेन्ट लगाउँदा अन्य जलचरमा पनि ठूलो असर परेको देखाएको छ।

तमोरको किनारै किनार भएर यात्रा गर्दा करेन्ट लगाएर माछा मार्ने गरेको पटकपटक देखेको बताउँछन्, त्रिवेणीका भानु राई। ‘तमोर वारिपारि नै ब्याट्रीको प्रयोग गरेर माछा मारिरहेको देखिन्छ,’ २०५१–२०५२ सालदेखि माछा संरक्षणको प्रयासमा लागिरहेका उनी भन्छन्, ‘समूह बनाएर माछा संरक्षण गर्ने अवधारणा आएपछि मत्स्य विभागको सहयोगमा समूह बनाएर हामीले काम गरेका हौँ।’  

खोलाको माछा संरक्षणमा सक्रिय महासिर नामक संस्थाका नेपाल प्रमुख सुसनमणि शाक्यको अनुभवमा पनि करेन्ट लगाएर माछा मार्ने क्रम बढेको छ। उनका अनुसार, खान मिल्ने उमेरका माछा मात्र नभई साना माछा पनि करेन्टका कारण मर्छन्। भुरा माछा, माछाको अन्डा समेत नष्ट हुन्छन्। त्यस्तै, माछाको आहार कीरा फट्याङ्ग्रा समेत मर्छन्। बचेका माछालाई पनि आहारको अभाव हुन्छ।

करेन्ट लगाएपछि सबैखाले माछा मर्ने भएकाले माछा व्यवसायी सम्बाहाफे चिन्तित छन्। उनी भन्छन्, ‘माछाका लागि ठूलो शत्रु नै करेन्ट भएको छ। यसलाई नियन्त्रण गर्न सकिएन भने तमोर जस्ता नदीमा पनि माछाको सङ्ख्या घट्दै जाने देखिन्छ।’

कानुन छ, कार्यान्वयन छैन

करेन्ट लगाएर माछा मार्नु गैरकानुनी कार्य हो। करेन्ट प्रयोग गरी कुनै जलचर समात्न तथा मार्न झन्डै अढाइ दशकअघि नै प्रतिबन्ध लगाइएको हो। २०५५ सालमा संशोधन गरिएको जलचर संरक्षण ऐनमा उल्लेख छ, ‘कुनै व्यक्तिले पनि कुनै जलमा रहेको कुनै जलचरलाई समात्ने तथा मार्ने अभिप्रायले जानीजानी त्यस्तो जलमा वा त्यसको आसपासमा कुनै पनि विद्युतीय धार (करेन्ट), विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गर्न हुँदैन।’ सो ऐनको उक्त प्रावधान उल्लंघन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।  

कानुन छ तर त्यसको कार्यान्वयन निकै फितलो छ। माछाको लोभमा करेन्ट लगाउँदा केही व्यक्तिले ज्यान समेत गुमाइसकेका छन्। तैपनि करेन्टबारे खोलाछेउका बासिन्दा खुलेर कुरा गर्न चाहँदैनन्। स्थानीय प्रशासनसँग पनि त्यस्तो ठूलो जानकारी र तथ्यांक छैन।  

भानु राई भन्छन्, ‘खोला नजिकै रहेका प्रहरी चौकीहरूको पनि चासो छैन। हामीले आवाज उठाउने हो। हाम्रो आवाज स्थानीय प्रशासनले सुनेको छैन।’  

महासिर नेपालका प्रमुख शाक्य पनि करेन्ट लगाएर माछा मार्ने काम गैरकानुनी भनिए पनि कानुन कार्यान्वयनको अवस्था कमजोर रहेको बताउँछन्। अर्को पिँढीलाई खोलामा माछा मार्ने वातावरण बनाउन खोलामा करेन्ट लगाउने जस्ता अप्राकृतिक रूपमा माछा मार्ने काम रोकिनुपर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘सरकारी निकायले यसमा विशेष ध्यान दिनुपर्छ। जनचेतना जगाउनुपर्छ। गैरकानुनी काम गर्नेलाई कारबाही गरी त्यस्तो काम गर्न निरुत्साहित बनाउनुपर्छ।’

माछा मार्न करेन्ट लगाएकोबारे उजुरी गर्ने, बोल्नेहरू कमै मात्र भेटिन्छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी दानबहादुर थापाका अनुसार, पछिल्ला वर्ष यस्ता उजुरी आएका छैनन्। उनी भन्छन्, ‘त्यस्तो सूचना प्राप्त भए हामी कानुनको दायरामा ल्याउँछौँ। सबै प्रहरी युनिटलाई यसबारे ख्याल गर्न निर्देशन दिएको छु।’  

फिदिम–१० हेवा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर हिलिहाङ गाउँपालिका–७ टारीका २८ वर्षीय बलबहादुर राईको २०७६ जेठ १८ गते मृत्यु भएको रेकर्ड जिल्ला प्रहरी कार्यालयसँग छ।  

जलचर संरक्षण ऐनमा २०७५ सालमा भएको संशोधनले ‘प्रदेश र स्थानीय तहले आफ्नो क्षेत्रभित्र जलचरको संरक्षण गर्नुपर्ने’ व्यवस्था गरेको छ। तर, यसतर्फ प्रदेश सरकार र स्थानीय सरकारले खासै ध्यान दिएको देखिँदैन। विकासको प्राथमिकतामा सडकलाई राखेका स्थानीय तहहरूको ध्यान जलचर संरक्षणमा कमै मात्र पुग्ने गरेको छ।

विनाशका अरू पनि कारण

नेपालमा माछाबारे ठोस अध्ययन हुनसकेको छैन। डा. तेजकुमार श्रेष्ठको सन् २०१९ मा प्रकाशित पुस्तक ‘इथियोलोजी अफ नेपाल’ मा २५२ किसिमका माछा नेपालमा पाइने उल्लेख छ। तमोर र काबेली नदीहरूमा १२ प्रजातिका माछा पाइएको काबेली– ए जलविद्युत् आयोजनाले सन् २०१० मा गरेको अध्ययनले देखाएको छ। सो अध्ययनमा सहभागी प्रकाश पौडेलका अनुसार, स्थानीयले ३१ प्रजातिका माछा पाइने बताए पनि १२ प्रजातिको रेकर्ड गरिएको थियो।  

महासिर नेपालका प्रमुख शाक्य विदेशी स्तरको अनुसन्धान नेपालमा हुन नसकेको स्वीकार गर्छन्। उनी माछाको विनाशका अन्य कारण देखाउँदै भन्छन्, ‘नेपालका खोलामा करेन्ट लगाएर, बम पड्काएर माछा मार्ने र जलविद्युत् आयोजनाका ड्यामका कारण माछा संकटमा पर्ने गरेका छन्। रैथाने माछा घटिरहेका छन्।’

हेवा र हेवासँगै जोडिएको फेमे खोलामा पानी नहुँदा माछा मात्र होइन, अन्य जलचरलाई पनि समस्या भएको छ। तल्लो हेवा जलविद्युत् आयोजनाले खोलामा पानी नछाड्दा समस्या भएको हो। काबेली बी–१ जलविद्युत् आयोजनाले पनि हिउँदको समयमा पानी खोलामा छाड्दैन। नियमन गर्ने निकायले माछा तथा जलचर संरक्षणमा ध्यान पुर्‍याएको देखिँदैन।

गर्दा हुन्छ पालिकाबाटै

जलचर संरक्षणको बढी दायित्व स्थानीय तहको हुने गर्छ। केही स्थानीय तहले करेन्ट लगाएर माछा मार्ने कामलाई निरुत्साहित गर्न थालेका छन्।

पाँचथरको दक्षिणी मिक्लाजुङ गाउँपालिकाको नुवा खोलामा पूजा गर्न पनि माछा पाइन छाडेको अवस्था थियो। यहाँ घरमा गरिने देवीदेवताको पूजामा माछा राखिन्छ। गाउँपालिकाले खोलामा करेन्ट लगाउनेलाई कारबाही गर्ने कडा नियम ल्यायो। पाँच हजार रूपैयाँ जरिवाना तोक्यो। फलस्वरूप करेन्ट लगाउन रोकियो र खोलामा माछा बढ्न थाले। ‘पूजा गर्न माछाको भुरा समेत पाउने अवस्था थिएन। हामीले करेन्ट लगाउन रोकेपछि माछा बढ्यो। जाल हालेर माछा मार्नका लागि पाँच लाखमा ठेक्का नै लगायौँ,’ गाउँपालिका प्रमुख अमरराज माखिमले भने, ‘हामीले करेन्ट लगाउनेलाई कारबाही गर्ने भनेर सार्वजनिक सूचना गर्‍यौँ। १० जना रुगालो नै राखेका छौँ। अहिले त खोलामा माछा बढेका छन्।’  

गाउँपालिका प्रमुख माखिमका अनुसार, अहिले खोलाबाट भुरा निकालेर फर्ममै राखिएको छ। गाउँपालिकाले अघि सारेको नमुना कृषि फर्ममा डेढ लाख भुरा सारिएको छ। मछडदानी प्रयोग गरी भुरा निकालिन्छ। खोलामा माछा बढेकाले पोखरी बनाएर माछा पाल्नेलाई पाँच हजारसम्म भुरा निकालेर दिने तयारी समेत भएको छ। ‘करेन्ट लगाउन रोकेसँगै माछाको संख्यामा वृद्धि भएको हो,’ माखिम भन्छन्, ‘लुकिछिपी करेन्ट लगाएको सूचनाका आधारमा गत वर्ष केहीलाई कारबाही समेत गर्‍यौँ।’

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ का अध्यक्ष सन्तोष चाम्लिङ पालिकाबाट नीति बनाएर माछा संरक्षण गर्ने काम अघि बढाइएको बताउँछन्। उनका अनुसार, करेन्ट लगाउने, रासायनिक विषादि प्रयोग गरेर माछा मार्ने काममा रोक लगाइएको छ। विगतमा नियम उल्लंघन गर्ने तीन जनालाई कारबाही समेत गरियो। गैरकानुनी काम रोक्न सार्वजनिक सूचना जारी गरी कडाइ गरिएको थियो।

स्थानीय तहले प्रहरीसँग समन्वय गरेर खोलामा करेन्ट लगाउने, विषादि हाल्ने तथा विस्फोेट गराउने काम रोक्न सक्ने देखिन्छ। पाँचथरको मिक्लाजुङ गाउँपालिका र ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका मात्र होइन, देशका अन्य जिल्लाका केही गाउँपालिकाले पनि जलचर संरक्षणमा उत्साहप्रद काम गरिरहेका छन्।  

(इन्टरन्युज/अर्थ जर्नालिजम् नेटवर्कको सहयोगमा एन्टेना फाउन्डेसन नेपालले सञ्चालन गरेको वातावरण पत्रकारिता : रिपोर्टिङ कार्यशालापछि तयार पारिएको।)

प्रकाशित: १५ जेष्ठ २०७८ ०५:०३ शनिबार

करेन्ट लगाएर माछा मार्दा मार्दा जलचर नै जोखिममा