अर्थ

आज ४ बजे बजेट सार्वजनिक हुँदै

सरकारले संविधानले व्यवस्था गरेअनुसार आज ४ बजे आर्थिक वर्ष २०७८/७९ को आय–व्यय विवरण (बजेट) सार्वजनिक गर्न लागेको छ।

संसद्को संयुक्त बैठकमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि अहिले संसद् विघटन भएका कारण सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो। अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार अर्थमन्त्री विष्णु पौडेलले बजेटमा केही चुनाव लक्षित कार्यक्रम राखेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पौडेलले सामाजिक सुरक्षा भत्ता बढाएका छन्।

मध्यावधि निर्वाचन खर्च, सामाजिक सुरक्षा भत्ता वृद्धि, कोरोनाविरुद्धको खोप खरिद, कोरोना संक्रमितको उपचार, स्वास्थ्य संस्थाहरूमा पूर्वाधार निर्माणलगायत यस वर्ष एक खर्ब रुपैयाँ हाराहारीमा अतिरिक्त बजेट आवश्यक परेकाले सरकारलाई स्रोतमा चाप परेको छ। अतिरिक्त खर्च गर्नुपरेका कारण आयोजनाहरूलाई बजेट धेरै दिन सकिएको छैन। 

अर्थ स्रोतका अनुसार सबैतिर मिलाउँदा बजेटको आकार १५ देखि १६ खर्ब रुपैयाँ बीचमा रहने छ।

प्रकाशित: १५ जेष्ठ २०७८ ०२:३९ शनिबार

आर्थिक वर्ष २०७८/७९