अर्थ

'निषेधाज्ञामा चामल सकियाे ? हामीलाई फोन गर्नुस्'

नयाँ भेरियन्टको कोरोना संक्रमणको शृङ्खला तोड्नका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बिहीबार रातीदेखि थप कडाइ हुँदैछ।

कोरोना संक्रमणको शृङ्खला नतोडिएको भन्दै काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बिहीबार रातीदेखि लागू हुने निषेधाज्ञा थप कडाइ हुने भन्दै सो क्रममा किराना पसल र डिपार्टमेन्टल स्टोर समेत बन्द गर्ने निर्णय निर्णय गरेको थियो।

उक्त निर्णयबाट बजारमा खाद्य सामग्री अभाव हुने चिन्ता बढेको बेला नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने खाद्य सामग्री अभाव नहुने जनाउँदै किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द भए पनि नआँतिन आग्रह गरेको छ।

लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खाद्य सामग्री अभाव हुने नदिनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले लिमिटेड लगायत साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग समन्वय गरेको जानकारी दिँदै खाद्यका अत्यावश्यक सामग्रीका लागि चिन्ता नलिन आग्रह गरे।

उनले नागरिकको समस्यालाई ध्यानमा राखी आफूहरु खटिने जानकारी दिँदै त्यसका लागि सिधा सम्पर्क गर्न समेत अनुरोध गरे। ‘अहिले प्रशासन कार्यालयले हाम्रो नाम र नम्बर सार्वजनिक गरेको छ, हामी यसमा अझ थप नम्बरहरु र खाद्यान्नको विवरण र मूल्य समेत राखेर अर्को सूचना निकाल्छौं, कुनै ग्राहकले फोन गरेपछि हामी ग्राहकको मागअनुसारको सामग्री घरमै पुर्‍याउँछौं,’ प्रमुख कार्यकारी अधिकृत चन्दले नागरिकन्यूजसँग भने।

उनले २०७२ सालको विनासकारी भूकम्पको बेला र नाकाबन्दीको बेलामा पनि लिमिटेडले खाद्य सामग्री घरघरमा पुर्‍याएर सहयोग गरेको बताउँदै अहिलेको विषम परिस्थितिमा पनि घरघरमा खाद्य सामग्री पुर्‍याउन तत्पर रहेको बताए। उनले भने, ‘हामी खाद्य सामग्री पुर्‍याउन तयार छौं, त्यसका लागि हामीलाई फोन गरे पुग्छ, निषेधाज्ञाको कारण कोही पनि भोकै बस्नु पर्दैन।’

उनले दैनिक उपभोग्य खाद्य सामग्रीहरु अन्तर्गत दाल, चामल, नुन, तेल, चिउरालगायत पर्याप्त मात्रामा रहेको बताए।

प्रकाशित: १३ जेष्ठ २०७८ ०८:५१ बिहीबार

नयाँ भेरियन्टको कोरोना संक्रमण निषेधाज्ञा