अर्थ

फोक्सिङटारको अस्थायी बेलिब्रिज हटाउन सुरु

खोटाङ र उदयपुरको सुनकोसीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज। तस्बिर: नागरिक

खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज हटाउन सुरु गरिएको छ। खोटाङलाई पुर्वी शहरसँग जोड्ने दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा गत मंसिर २८ गतेदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज मंगलबारदेखि खोल्न सुरु गरिएको हो।

गाईघाट–दिक्तेल सडक आयोजनाको करिब ८४ लाखमा बेलिब्रिज राख्ने, हटाउने र सामान स्टोर गर्ने ठेक्का लिएको रेग्मी निर्माण सेवा गाईघाटले करिब हप्ता/दश दिनमा बेलिब्रिज हटाइसक्ने गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए।

हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी फोक्सिङटारस्थित सुनकोसीमा पुलको विकल्पमा हरेक वर्ष ५० मिटर लम्बाई भएको अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ। १०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारको बेलिब्रिज हटाइएसँगै कम्तीमा ६ महिनाका लागि दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने दोश्रो र छोटो बाटो बन्द हुने छ । फोक्सिङटारमा बेलिब्रिज नभएको अवस्थामा जिल्लावासी दिक्तेलबाट घुर्मी–कटारी हुँदै पुर्वी शहर आउने र जाने गरेका छन्।

फोक्सिङटारमा निर्माणाधिन पक्की आर्क डिजाईनको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती भएपछि सो स्थानमा विगत ६ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ। फोक्सिङटारको पक्की पुल निर्माणको काममा ढिलासुस्ती भइरहेको अवस्थामा अस्थायी बेलिब्रिज राख्ने गरिएको हो। फोक्सिङटारस्थित सुनकोसीको पक्की पुल दुई पल्ट म्याद गुज्रदा समेत पुरा हुन सकेको छैन। निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीको जिम्मामा रहेको पक्की पुलको काम हालसम्म करिब ५०–५५ प्रतिशत मात्र पूरा भएको अनुमान छ।

म्याद गुज्रेको वर्षौँ बित्दा समेत पक्की पुल निर्माणको काम पूरा हुन नसकेको अवस्थामा फोक्सिङटारमा बेलिब्रिज राख्ने र हटाउने काममै नेपाल सरकारको वार्षिक करोडौं खर्च भइरहेको छ। फोक्सिङटारमा ५ वर्षअघिदेखि निर्माण सुरु गरिएको पक्की पुल निर्माण भए बाह्रैमास दिक्तेलबाट पुर्वी शहर आउ–जाउ गर्ने छोटो र स्थायी मार्ग खुल्ने छ।

प्रकाशित: १२ जेष्ठ २०७८ ०७:२५ बुधबार

फोक्सिङटारको अस्थायी बेलिब्रिज हटाउन सुरु