अर्थ

कोरोनाले भन्सार राजस्वमा कमी

राजस्व भार र आयात–निर्यातको दृष्टिले मुलुकको सबभन्दा ठूलो व्यापारिक नाका वीरगन्जस्थित भन्सार कार्यालयबाट हुने राजस्व असुलीमा कमी आएको छ। चालु आर्थिक वर्षको वैशाखमा यो भन्सार कार्यालयले लक्ष्यको ८७.८० प्रतिशत मात्र राजस्व संकलन गरेको छ।  

वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार वैशाखमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र अन्य गरी यसले १९ अर्ब ४४ करोड ५८ लाख ९७ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा १७ अर्ब ८४ करोड ५७ लाख ९२ हजार रुपैयाँ असुली गरेको छ। भन्सार महसुलतर्फ सात अर्ब नौ करोड ५४ लाख लक्ष्य रहेकोमा ६ अर्ब २२ करोड ९७ लाख संकलन गरेको छ। साबिकको इनर्वा नाका र नयाँ संरचनामा सञ्चालित एकीकृत जाँच चौकी (आइसिपी) गरी दुई नाकाको भन्सार राजस्व यसमा समावेश छ।  

कोरोना महामारी रोकथामको लागि मुख्य सहरमा निषेधाज्ञा सुरु भएपछि यसको प्रभाव भन्सारमा परेको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले बताए। ‘वस्तुको माग बजारमा घटेपछि स्वाभाविक रुपमा त्यसको आयात खस्किन्छ,’ गुप्ताले भने, ‘उद्योग, कलकारखाना प्रभावित भएर त्यसका कच्चा पदार्थको आयात पनि घटेको छ। यसको असर भन्सारको राजस्व असुलीमा पनि परेको हो।’  वीरगन्ज नाकाबाट पैठारी हुने मुख्य वस्तुमा पेट्रोलियम इन्धन, सवारी साधन, औद्योगिक कच्चा पदार्थको रुपमा आउने फलाम, तयारी कपडा, गार्मेन्ट उद्योगका कच्चा पदार्थको रुपमा भित्रिने कपडा, हार्डवेयरका सामान, खाद्यान्न लगायतको आयात अहिले घटेको तथ्यांक छ। निषेधाज्ञा जारी भएपछि वस्तु आयात र क्लियरेन्समा कमी आएको भन्सार अधिकारीहरू बताउँछन्।  

वैशाखसम्मको राजस्व १ खर्ब ४१ अर्ब

पोहोरको कोरोना प्रभावमा कमी आएको बेला बढेको आयात व्यापारको प्रभावले वैशाखसम्मको राजस्व असुली भने लक्ष्य अनुसारै देखिन्छ। चालु आर्थिक वर्षको वैशाखसम्ममा वीरगन्ज भन्सार कार्यालयले एक खर्ब ४१ अर्ब १५ करोड रुपैयाँ संकलन गरेको छ। कार्यालयलाई एक खर्ब ३५ अर्ब ९५ करोड रुपैयाँ असुलीको लक्ष्य थियो। कोरोनाको पहिलो लहर उत्कर्षमा रहेको बेला आर्थिक वर्ष सुरु भएको थियो। त्यतिबेला साउन र भदौमा वीरगन्ज भन्सार कार्यालयले मुस्किलले ९५ प्रतिशत राजस्व असुली गर्न पाएको थियो।  

असोजदेखि वीरगन्ज भन्सारले लक्ष्य भेट्न सुरु गरेको देखिन्छ। असोजमा शतप्रतिशत राजस्व उठाएको भन्सारले कातिकमा लक्ष्यभन्दा १५, मंसिरमा १८, पुसमा १९ र चैतमा ३१ प्रतिशत  बढी राजस्व उठाएको थियो। माघ, फागुन र वैशाखमा भन्सारले लक्ष्य भेटेन।  

सुक्खा बन्दरगाहमा पनि कमी

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि राजस्व लक्ष्य भेट्न सकेको छैन। भारतीय बन्दरगाहहरूसँग रेलमार्गबाट जोडिएको सुक्खा बन्दरगाहमा खास गरी विदेशबाट मालसामान आउने गरेको छ। कोरोनाको लहर नेपालमा सुरु हुनुअघि अन्य मुलुकमा त्यसको असर बढिसकेकोले त्यसको मार मुख्य रुपमा तेस्रो मुलुकबाट हुने आयातमा परेको व्यवसायी बताउँछन्। व्यापारीले नयाँ खेप घटाएकोले त्यसको असर आयातमा र राजस्वमा परेको देखिन्छ।  

वैशाखमा सुक्खा बन्दरगाह भन्सार कार्यालयले तीन अर्ब ७८ करोड एक लाख राजस्व असुली गरेको छ। यो भनेको लक्ष्यको ७३.५९ प्रतिशत हो। वैशाखको लक्ष्य पाँच अर्ब १३ करोड ६६ लाख थियो। समग्रमा वैशाखसम्म ३५ अर्ब एक करोड लक्ष्य पाएकोमा ३३ अर्ब ९३ करोड ६२ लाख संकलन गरेको भन्सार अधिकृत चूडामणि शर्मा कट्टेलले बताए। यो भनेको लक्ष्यको करिब ९७ प्रतिशत हो।

प्रकाशित: १२ जेष्ठ २०७८ ०२:०९ बुधबार

कोरोनाले भन्सार राजस्वमा कमी