अर्थ

निर्माण सम्पन्न नहुँदै लिखु ४ को डिसेन्डिङ बेसिन फुट्यो

तस्बिर सौजन्य: रविन सुनुवार

निर्माण कार्य सम्पन्न नहुँदै ओखलढुंगा र रामेछापको सिमानामा निर्माणाधिन ५२.४ मेगावाट क्षमताको लिखु ४ जलविद्युत आयोजनाको डिसेन्डिङ बेसिन (बालुवा थिग्राउने पोखरी) फुटेको छ। ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका र रामेछापको लिखुतामाकोसी गाउँपालिकाको बीचबाट बग्ने लिखु खोलाबाट विद्युत उत्पादनका लागि सुरु गरिएको जलविद्युत आयोजनाको बालुवा थिग्राउने पोखरी परीक्षणकैक्रममा बिहीबार राती फुटेको हो। 

आयोजनाको काम सम्पन्न नहुँदै बालुवा थिग्राउने कंक्रिट पोखरीको करिब २० मिटर खण्ड फुटेर भत्किएको खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोकाले बताए। ‘तह–तहको पोखरीमा पानी जम्मा गर्दै सुरुङबाट पावरहाउसतर्फ पठाउनेगरी संरचना निर्माण भएको छ। त्यसमध्ये एउटा पोखरीको करिब २० मिटर पार्टचैं परीक्षणकै क्रममा खसेको हो,’ गाउँपालिका अध्यक्ष रोकाले भने, ‘आयोजनाको काम सकिएको होईन। पोखरीले पानी कति थाम्छ भनेर टेष्टिङ गर्नेक्रममा भत्किएको बुझिएको छ। के पुगेन, इन्जिनियरिङ फेल खायो अथवा के भयो। महिनादिनदेखि नै पोखरीमा पानी हाल्ने र छोड्ने कामचैं भइरहेकै थियो।’ रामेछापको लिखुतामाकोसी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले भने आयोजनाको धेरैजसो भाग खिजिदेम्बा गाउँपालिकामा पर्ने भएकाले डिसेन्डिङ बेसिन फुटेको विषयमा विस्तृत जानकारी लिन बाँकी रहेको बताए। 

लिखु चौथो जलविद्युत आयोजनाको सिभिल निर्माणको ठेक्का लिएको भारतको एसएसएनआर कम्पनीले गुणस्तरिय संरचना निर्माणमा ध्यान नदिएकै कारण बालुवा थिग्राउने पोखरी फुटेको स्थानीयको दावी छ। आयोजनाको कंक्रिट संरचना नै भत्किएपछि त्यसको डिजाइन र निर्माणको गुणस्तरमाथि प्रश्न उठेको छ। अहिले पानी जम्मा गर्ने पोखरी पानी थेग्नै नसकेर फुटेपछि ‘पानी थेग्नै नसक्ने कंक्रिट पोखरी बनाइएको’ भन्दै निर्माण कम्पनीको आलोचना भइरहेको छ। निर्माणाधिन आयोजनाको बाँधको पोखरी फुटेपछि काम थप पछि धकेलिएको छ। बालुवा थिग्राउने पोखरीको बलियो जग बनाउनमा समेत लापरबाही गरेको निर्माण कम्पनीमाथि आरोप छ। पोखरी फुटेको विषयमा प्रतिक्रिया लिनका लागि आयोजनाका जनसम्पर्क अधिकृत कृष्णदास श्रेष्ठलाई फोन गर्दा सम्पर्क हुन सकेको छैन। आयोजनाको प्रवद्र्धक कम्पनी त्रिवेणी समूहका अध्यक्ष सुवास सांघाईले भत्किएको पोखरी दुई÷तीन महिनाभित्र बनिसक्ने जवाफ दिएको ओखलढुंगाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले बताए।  

२०७७ साल भदौ–असोजमा पूरा गर्नेगरी नेपाल विद्युत प्राधिकरणसँग २०७३ असार २५ गते विद्युत खरिद सम्झौता गरेर लिखु ४ जलविद्युत आयोजनाको काम अघि बढाएको थियो।  आयोजनाका लागि खिजिदेम्बा गाउँपालिका–३ खिजिचण्डेश्वरीको बिमिरेमा ड्याम बनाएर भूमितगत सुरुङ हुँदै खिजिदेम्बा गाउँपालिका–१ रगनीको लिम्तीमा खसाएर विद्युत उत्पादन गर्ने तयारी छ। हालसम्म आयोजनाको करिब ९० प्रतिशतभन्दा बढी काम भइसकेको बताइएको छ। ग्रिन भेन्चर प्रालि प्रवद्र्धक रहेको आयोजनाको बाँधस्थल र डिसेल्डिङ च्याम्बर लगायतका संरचना निर्माणको जिम्मा एसएएनआर कम्पनीले तथा विद्युत गृह, भल्भ साउथ, सर्ज साफ्ट लगायतका संरचना निर्माणको जिम्मा साउथ एसियन इन्फ्रास्ट्रक्चरले लिएको छ। तर, आयोजनामा निर्माण कम्पनीको उत्तिकै चरम ढिलासुस्ती देखिएको छ। लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, नोबिल बैंक, सनराइज बैंक, नेपाल एसबीआई बैंक, सानीमा बैंक र प्रभु बैंकको ७५ प्रतिशत तथा त्रिबेणी ग्रुप र विशाल ग्रुपको २५ प्रतिशत गरी १० अर्व १६ करोडको लागतमा पुरा गर्नेगरी जलविद्युत् आयोजनाको काम अघि बढाइएको हो।  

सरकारले २०६५ सालतिरै लिखु ४ जलविद्युत आयोजनाको अनुमतिपत्र भारतको ग्रिन भेन्चर प्रालिलाई दिएको थियो। कम्पनीले १२० मेगावाटमा आयोजना निर्माण गर्ने र उत्पादित विद्युत् भारत निर्यात गर्ने गरी २०६७ सालमा विद्युत प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो। ग्रिन भेन्चरले बिजुली उत्पादन सुरु भएदेखि २७ वर्षसम्मका उत्पादन अनुमति लिएको थियो। पछि भारतीय बजारमा बिजुली बेच्ने सुनिश्चितता नभएपछि नेपालमै बेच्ने भन्दै पिपिए नवीकरण गर्न लबिङ गरेका थिए। जस अनुसार त्रिवेणी समूहका सुवास सांघाईले भारतीय कम्पनीबाट आयोजना किनेर निर्माणको काम अघि बढाएका थिए।  

उत्पादित बिजुली भारत निर्यात गर्ने भनेपछि ५२ मेगावाटको आयोजनाको क्षमता बढाएर १२० मेगावाट बनाइएको थियो। तर, सांघाईले किनेपछि पुनः क्षमता घटाएर ५२.४ मेगावाटमा झारिएको हो।

प्रकाशित: ९ जेष्ठ २०७८ १२:३७ आइतबार

लिखु ४ को डिसेन्डिङ बेसिन निर्माण कार्य सम्पन्न ५२.४ मेगावाट क्षमताको लिखु ४ जलविद्युत आयोजना