अर्थ

एकै दिन १ सय ५० आरोही सगरमाथामा

वसन्तयामको जारी सगरमाथा आरोहण क्रममा आज एकै दिन झण्डै १ सय ५० आरोहीले सगरमाथा आरोहण गरेका छन्। आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरातर्फ लागेका १ सय ५० भन्दा बढी आरोही आइतबार बिहान सगरमाथाको शिखरमा पुगेको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।  

पर्यटन विभागबाट खटिएका सम्पर्क अधिकृत श्रेष्ठले अहिलेसम्म १ सय ५० भन्दा बढीले आरोहण गरेको खबर आएको जानकारी दिए। “मौसम राम्रो भएकाले उल्लेख्य सङ्ख्याका आरोही चुचुरातर्फ गएका थिए, १ सय ५० भन्दा बढीले आरोहण गरिसकेको खबर आएको छ, अझै केही आरोहण जारी छ”, उनले भने। मौसमले साथ दिए आगामी २८ र २९ तारिख सर्वाधिक आरोहण हुने जनाइएको छ।  

अहिले विश्व कीर्तिमानी कामीरिता शेर्पा २६औँ पटकको आरोहणका लागि आधार शिविरमा छन्। अझै पनि बाक्लो सङ्ख्यामा आरोही सगरमाथा आरोहणका लागि आधार शिविरमा रहेका सम्पर्क अधिकृत श्रेष्ठले बताए।

यसअघि प्रतिकूल मौसमका कारण एक साता सगरमाथा आरोहण प्रभावित बनेको थियो। वसन्तयामको जारी आरोहणका क्रममा पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकेका कारण नेपालको मौसम बिग्रिएपछि सगरमाथासहितका हिमाल आरोहण प्रभावित बनेको थियो।

वसन्तयामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि शुरु भयो। कामिरिता शेर्पा नेतृत्वको १२ जनाको टोलीले सगरमाथाको चुचुरामा पुगेर डोरी टाँगे (रोप फिक्सगं) सँगै सगरमाथाको व्यावसायिक आरोहण शुरु भएको थियो। पर्यटन विभागले सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहलाई आरोहण अनुमति दिएको छ। यो सङ्ख्या सन् २०१९ को वसन्तयामको भन्दा बढी हो। वसन्तयामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७ सय ७४ आरोहीले आरोहण अनुमति लिएका छन्।

प्रकाशित: ९ जेष्ठ २०७८ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App