अर्थ

एनसेलद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

एनसेल आजियाटा लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई डेढ सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन्।

कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालहरूमा ती कन्सन्ट्रेटर हस्तान्तरण गरिने बताइएको छ। मन्त्रालयसँगको सहकार्यमा एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत आएको यो सहयोगले गम्भीर बिरामी भई श्वासप्रश्वास प्रणालीमा समस्या झेलिरहका मानिसको जीवन बचाउन योगदान पुग्ने र जिल्लास्तरका अस्पतालको चिकित्सा पूर्वाधार विकासमा सहयोग पुग्ने कम्पनीको विश्वास छ।

अहिलेको परिस्थितिमा ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले डेटा प्याकमा बोनस, वर्क फ्रम होम प्लानहरू, डिजिटल प्लेटफर्मबाट सेवाहरू खरिद गर्दा बोनस डेटा, सापटी सेवामा थप विकल्प जस्ता विभिन्न राहत प्याक ल्याएको पनि विज्ञप्तिमा छ।

प्रकाशित: ९ जेष्ठ २०७८ ०४:५१ आइतबार

एनसेलबाट अक्सिजन कन्सन्ट्रेटर सहयोग