अर्थ

धरानमा बैंक तथा बित्तिय संस्थाको प्रत्यक्ष सेवा ७ गतेसम्मलाई बन्द

धरानमा रहेका बैंक तथा बित्तिय संस्थाहरुले सेवाग्राहीहरुलाई दिँदै आएको प्रत्यक्ष सेवा बन्द गर्ने निर्णय भएको छ। 

कोरोना संक्रमणको दर तीव्रदरमा वृद्धि हुँदै गएको र जिल्लामा लकडाउनसमेत भएकोले जोखिम न्यूनीकरणको लागि बैंक तथा बित्तिय संस्थाहरुको प्रत्यक्ष सेवालाई जेठ ७ गतेसम्मको लागि बन्द गर्ने निर्णय गरिएको हो। आज धरान उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा बैंक तथा बित्तिय संस्थाहरुको प्रतिनिधिहरुको उपस्थितिमा यो निर्णय भएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए।  

जिल्ला प्रशासनले सुनसरीमा जेठ १५ गतेसम्मलाई लकडाउन गरेपनि बैंक तथा बित्तिय संस्थाहरुमा सेवा सुचारु थियो। जसले गर्दा सेवाग्राहीहरुको भिड भएको र संक्रमणको जोखिम बढेको गुनासो आएपछि उपमहानगरपालिकाले छलफल गरेको हो। खतिवडाका अनुसार बैंक तथा बित्तिय संस्थाहरुमा सेवाग्राही आफै प्रत्यक्ष पुगेर लिने सेवा बन्द गरिएको हो। बैक तथा बित्तिय संस्थाहरुको इ तथा मोवाइल सेवा, एटिएम सेवा भने बन्द सुचारु नै हुने छ। ‘सेवाग्राही आफै प्रत्यक्ष आएर लिने सेवा चै बन्द गर्ने निर्णय भएको हो तर एटिएम, मोवाइल बैंकिग सेवा सुचारु नै हुन्छ। बैंकहरुको आन्तरिक काम पनि हुन्छ,’ खतिवडाले भने।

प्रकाशित: ३ जेष्ठ २०७८ १०:२३ सोमबार

बैंक तथा बित्तिय संस्था