अर्थ

द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण सम्झौता

नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्गका दुवै प्याकेजका सुरुङ निर्माणका लागि सम्झौता गरेको छ। सुरुङको प्याकेज नं १ चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन लिमिटेड र प्याकेज नं २ का लागि पोली च्याङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेडसँग शुक्रबार ठेक्का सम्झौता भएको हो।

पहिलो प्याकेज करीब २१ अर्ब ६१ करोड र दोस्रो २८ अर्ब ५३ करोड बराबरको रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। पहिलो प्याकेजमा एउटा र दोस्रो प्याकेजमा छोटा–छोटा दुई सुरुङ हुनेछन्।

सम्झौतापत्रमा द्रुतमार्गतर्फबाट आयोजना प्रमुख एवं सहायकरथी विकास पोखरेल तथा निर्माण कम्पनीका तर्फबाट प्याकेज १ का लागि कार्यकारी निर्देशक सु यान र प्याकेज २ का प्रोजेक्ट प्रबन्धक प्रमुख झु तीनग्यु बारबराले हस्ताक्षर गरे।

सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक नियमावली २०६४ को परिधिभित्र रही जारी गरिएको आशयपत्रमा सात दिनसम्म कसैको उजूरी नपरे तथा १५ दिनभित्र सम्झौता गर्नुपर्ने प्रावधान अनुसार बैंक ग्यारेन्टीसहित दुवै कम्पनी आएपछि ऐन र नियमावलीअनुरूप सम्झौता गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशक पौडेलले बताए।

सेनाले पूर्णरूपमा पारदर्शी ढंगले सार्वजनिक खरीद ऐनको दफा र प्रावधानमा टेकेर सम्झौता प्रक्रिया सम्पन्न गरिएको जनाएको छ। सम्झौता बमोजिम निर्माण कम्पनीलाई ६ महिना डिजाइन अवधि र तीन वर्ष निर्माण समय प्रदान गरिएको छ। आयोजनालाई तोकिएको अवधिभित्र सम्पन्न गर्न सेनाले बनाएको ११ क्लस्टरमध्ये बाँकी नौ क्लस्टरका ठेक्का अघि बढ्ने जानकारी दिइएको छ। त्यसपछि समानान्तर रूपमा सबै कामले एकैचोटि गति लिनेछ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले भने उक्त ठेक्का सार्वजनिक खरिद ऐनको प्रस्तावना विपरीत रहेको जनाउँदै रद्द गर्ने निर्देशन दिएको थियो। समितिको निर्देशनपछि सेनाले संसदीय समितिलाई सबै काम पारदर्शी ढंगबाट अघि बढेको जनाउँदै निर्णयमा पुनःविचार गर्न मन्त्रालयमार्फत अनुरोध गरेको थियो। आयोजना अघि बढाउने सन्दर्भमा खरिद प्रक्रियामा गइसकेका हुनाले ठेक्का रद्द भएमा पर्न सक्ने प्रभावबारे पनि स्पष्ट पार्दै सेनाले पुनर्विचार गर्न पत्राचार गरेको छ।

यसअघि सेनाले समितिबाट माग भएका सम्पूर्ण कागजातसहित उपस्थिति भई आयोजनाको प्रगति र ठेक्का सम्बन्धमा लिइएको निर्णयबारे जानकारी गराएको थियो। प्रतिनिधिसभा र राष्ट्रियसभा मातहतका अरू दुई समितिलाई पनि आयोजनाबारे जानकारी गराउँदै सेनाले स्थलगत निरीक्षण गराएपछि आयोजना अघि बढाउन निर्देशन दिएका थिए।

हालसम्मको समग्र प्रगति ११.११ रहेको उक्त आयोजनाको चालु आर्थिक वर्षको अन्त्यसम्म १६.२१ पुर्‍याउने लक्ष्य छ। चार लेनको ७२.५ किमी लम्बाइको द्रुतमार्ग पहाडमा २५ र तराईमा २७ मिटर चौडा हुनेछ, जसमा ८७ पुल रहने छन्।  

एसियाली राजमार्गको मापदण्डका आधारमा बनाइन लागेको द्रुतमार्गको निर्माणपछि मध्य र पूर्वी तराईबाट काठमाडौं उपत्यकामा आवतजावत गर्न सडक यातायातको दूरी उल्लेख्य रूपमा घट्ने छ। ललितपुरको खोकनाबाट सुरु भई बाराको निजगढमा पूर्वपश्चिम राजमार्गमा मिल्ने उक्त मार्ग निर्माण नेपाली सेनाको व्यवस्थापनमा भइरहेको छ। राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्वको द्रुतमार्गले मुलुकको आर्थिक विकासमा कायापलट ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित: २ जेष्ठ २०७८ ०२:३१ आइतबार

द्रुतमार्गको दुवै प्याकेज सुरुङ निर्माण सम्झौता