अर्थ

रसुवागढी आइसिपीको ५८ प्रतिशत काम सकियो

चीनसँगको व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) को करिब ५८ प्रतिशत काम सकिएको छ। निर्माण सुरु भएको साढे २ वर्षमा करिब ५८ प्रतिशत काम सकिएको हो। आइसिपी निर्माणको ठेक्का पाएको श्यामसुन्दर/रबिना जेभी कन्सट्रक्सनले दिएको जानकारी अनुसार आइसिपी भवन निर्माणको साथै शसस्त्र प्रहरी बलको भवनको फाउन्डेसनको काम पनि भइरहेको छ। 

यसको करिब ३० प्रतिशत काम सकिएको छ। आइसिपी भवनको आरसिसी र पहिलो तलाको कोलम उठाउने काम सकिएको प्रोजेक्ट म्यानेजर योगेन्द्र तुम्बाहाङफेले बताए। ‘सुपर स्ट्रक्चरको काम करिब ५८ प्रतिशत सकिएको छ,’ उनले भने, ‘अहिले हामीले कामलाई गति दिएका छौं।’  

२०७५ पुसदेखि निर्माण सुरु भएपनि कामले गति लिन सकेको थिएन। अहिले आइसिपी निर्माणले गति लिएको प्रोजेक्ट म्यानेजर तुम्बाहाङफेले बताए। साइडमा अहिले ४५ जना कामदार छन्।  कानुनी प्रक्रिया, ट्रान्सफर्मरको व्यवस्थापनमा ढिलाइ, निर्माण सामग्रीको अभाव, कामदारको अभाव, नाकामा डाइभर्सन पुल निर्माण लगायतका कारण निर्माण कार्य सुस्त भएको थियो।

आइसिपी निर्माणको काम ठेकेदार कम्पनी श्यामसुन्दर/रबिना जेभीले गरिरहेको छ। निर्माण प्रक्रिया सुरु भएपछि आफूले ठेक्का पाउनुपर्ने माग गर्दै एमबी चक्रेश्वरी शिवशक्ति जेभीले २०७३ पुस १९ गते सर्वोच्च अदालतमा रिट हालेको थियो। अदालतमा परेको रिट निवेदन २०७५ जेठ २४ मा खारेज भएको थियो।

न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले रिट निवेदन खारेज गरेपछि निर्माणको काम सुरु भएको थियो। सम्झौता अनुसार २०७७ असार २५ गतेभित्र भवन निर्माण गरिसक्नुपर्ने थियो। अहिले ५ महिना म्याद थप्ने तयारी भएको छ। भवन निर्माणका लागि करिब ६२ करोड खर्च हुनेछ। विभागका अनुसार ६१ करोड ९८ लाख ६८ हजार ७५ रूपयाँ खर्च हुनेछ।  

भवन पाँच तलाको हुनेछ। यसमा भन्सार, अध्यागमन, क्वारेन्टिन र सुरक्षा निकाय रहनेछन्। भवन निर्माणपछि जाँचपास गर्न तथा अवैध क्रियाकलाप रोक्नका लागि सहज हुनेछ। २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। अहिले कोभिड–१९ का कारण चिनियाँ सीमित गाडीले रसुवासम्म सामग्री ल्याएर झार्ने काम गरिरहेका छन्।

प्रकाशित: २७ वैशाख २०७८ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App