अर्थ

बाली बिमा नहुँदा मारमा किसान

सरकारले बाली बिमा गर्ने घोषणा गरे पनि व्यवहारामा उक्त घोषणा कार्यान्वयनमा आउन सकेको छैन। बिमा कम्पनीहरूले बाली बिमा गर्न नमानेपछि बाली बिमा गर्ने सरकारको घोषणा कागजमै सीमित भएको छ। मोरङका किसानले बिमा कम्पनीले बालीको बिमा गर्न नमानेको गुनासो गरेका छन्। कटहरीका किसान गंगा सिंहले पटक–पटक तरकारी बालीको बिमा गर्न खोज्दा कुनै कम्पनीले बिमा गर्न नमान्ने बताए। 

उनले भने, ‘धेरैवटा कम्पनीमा बिमाका लागि जाँदा कसैले बालीको बिमा गर्न मानेन।’ गत वर्षदेखि बालीको बिमा गर्न कुनै पनि बिमा कम्पनी नआउँदा लाखौं रूपैयाँ लगानी डुब्न थालेको मोरङका किसानले बताए। दुई वर्षअघिसम्म कटहरीका किसानले लगाएको तरकारी खेतीको बिमा गर्न निजी बिमा कम्पनीहरू आउने गरे पनि दुई वर्षयता कोही नआएको बताए। किसानका अनुसार बिमा कम्पनीले पशु बिमा मात्रै गर्ने गरेका छन्। तर उनीहरूलाई बाली बिमा गर्न भन्दा कोही पनि तयार नभएको बताएका छन्।  

‘पहिला बाली र पशु बिमा गर्न बिमा कम्पनीका मान्छेहरू आउँथे,’ कटहरी गाउँपालिका–४ का गंगा सिंहले भने, ‘तर यस वर्ष पशु र बाली दुवैको बिमा गर्न कुनै पनि कम्पनी आएनन्। दुई वर्षअघिसम्म बाली र पशु दुवैको बिमा हुन्थ्यो र हामीलाई राहत हुने गरेको थियो। गत वर्ष पशुको मात्रै बिमा भयो। यस वर्ष पशुको समेत बिमा गर्न नआउँदा समस्या हुन थाल्यो।’

‘हामी किसान आफैंले पशुको बिमा गर्न कम्पनी खोज्दै गयौं,’ गंगा सिंहले भने, ‘बाली बिमा गर्न नआउँदा र गर्न नमान्दा लाखौं खर्च गरेर लगाइएका तरकारी बाली नष्ट भएर गयो। केही दिन अघि आएको असिना पानीले ५० औं विघामा लगाएको तरकारीमा धेरै क्षति पु¥यायो।’ म जस्ता किसानले सहकारी र बैंकबाट ऋण लिएर लगाएको बाली पूर्णरूपमा नष्ट हुँदा ऋण तिर्ने धेरै समस्या सिर्जना भएको छ। ‘सरकारले भाषणमा मात्रै किसानलाई राहत दिने भन्छ,’ सिंहले भने, ‘तर, व्यवहारमा लागू गर्न नसक्दा हामीलाई ठूलो नोक्सानी हुँदै आएको छ। बाली बिमाबाट केही राहत हुँदै आएको थियो। यस पटक भने न बिमा भयो, क्षतिबाट बचेको केही तरकारी बिक्री गर्न बजार नहुँदा अर्को समस्या झेल्नु परेको छ।’  

लाखौं रूपैयाँ लगानी गरेर लगाएको तरकारीले न मूल्य पाउँछ न बजार नै। उत्पादन भएका टमाटर उद्योगले लिनै छाडे, बजार नहुँदा तरकारीले उचित मूल्य पाउन सकेको छैन। उत्पादन भएको तरकारी बिक्री गरेर खेतमा काम गर्ने मजदुर, बैंकको ऋण तिर्नु पर्ने हुन्छ, बाली नै नष्ट भएपछि हामीले कहाँबाट ल्याएर ऋण तिर्नु र घर व्यवहार चलाउनु सिंहले भने। बिमा कम्पनीहरूले बाली बिमा नगर्दा सरकारले किसानलाई दिएको बाली बिमाको सुविधा पाउनबाट वञ्चित भएको उनीहरूले बताएका छन्। मेहनत र लगानी डुब्न नदिनका लागि सरकारले बिमा कार्यक्रम ल्याए पनि पूर्ण रूपमा कार्यान्वयन नहुँदा दुःख पाएको बताएका छन्। 

सरकारले कृषिमा गरेको बिमा कार्यक्रमअन्तर्गत पशु, बालीनालीलगायतका योजना रहे पनि मोरङमा पशु बिमा मात्रै सुविधा पाउने गरेको किसानहरूले गुनासो गरेका छन्।  ‘बिमा समितिको निर्देशिकामा प्रष्ट रूपमा बिमा कम्पनीहरूले कृषि बिमा गर्नुपर्छ भनेको छ,’ नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटीका मोरङका महासचिव गणेश श्रेष्ठले भने, ‘किसानहरूले नबुझदा पनि समस्या आएको हुनुपर्छ। बाली तथा पशुपक्षीको बिमा गर्न समितिले जिल्ला जिल्लामा एउटा कम्पनीलाई तोकेको हुन्छ र त्यसले गर्नै पर्छ। 

मोरङमा तोकिएको कम्पनीले पनि काम गरिहेको छ। सबै किसानलाई अझै पनि बिमाबारे स्पष्ट कुरा थाहा नहुँदा समस्या आएको हो।’ राष्ट्रिय बिमा समितिले हाम्रो कम्पनीलाई मोरङमा कृषि बिमाको जिम्मेवारी दिएको र कृषि बिमा गरिरहेको दाबी गरेका सानिमा जनरल इन्स्योरेन्स कम्पनीका शाखा प्रबन्धक सुजन कोइरालाले भने, ‘सरकारले किसानलाई बिमाको बारे स्पष्ट बुझाउन नसक्दा समस्या आएको हो। हामीले यहाँका किसानका बाली र पशुपंक्षी बिमा गरिरहेका छौं।’

प्रकाशित: २३ वैशाख २०७८ ०३:१४ बिहीबार

मारमा किसान बाली बिमा नहुँदा