अर्थ

आगामी आर्थिक परिदृश्य चुनौतीपूर्ण: अर्थमन्त्री

क्याप्शन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण आगामी दिनका आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। अपेक्षित रूपमा आर्थिक पुनरुत्थान प्रक्रियाको पाटोमा अगाडि बढिरहेका बेला कोभिड–१९ को  दोस्रो लहरबाट निक्कै ठूलो धक्का लागेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले पर्यटन, अन्य सेवाहरू र उत्पादन क्षेत्रमा गम्भीर असर पुगेको बताए।

दक्षिण एसियाली एसियाली सहयोग संगठन (सार्क) अर्थमन्त्रीहरूको अनौपचारिक बैठकमा बुधबार बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘अर्थतन्त्रको उत्थानशीलता कायम गर्दै परिस्थितिलाई हरसम्भव वशमा राख्ने प्रयत्नका बावजुत निकट अवधिका आर्थिक परिदृश्य चुनौतीपुर्ण रहेका छन्।’

पौडेलले कोभिड–१९ ले व्यक्तिको आम्दानी तथा रोजगारीमा व्यापक कटौती गरेको र व्यवसायमा ह्रास र मागमा शिथिलता आएको बताए। यसले समावेशी वृद्धि, मानव विकास र गरिबी निवारणका सरकारका प्रयासमा चुनौती थपेको छ। पौडेलले गरिब एवं जोखिम समूह बढी प्रभावित भएकाले असमानताको खाडललाई अझ फराकिलो बनाउँदै लाने जोखिम पनि बढेको बताए।

अर्थमन्त्री पौडेलले जीवन र जनजीविकालाई बचाउन विश्वव्यापी ऐक्यबद्धता, सामूहिक प्रयत्न र सहयोग अपरिहार्य भएको बताए। उनले जनस्वास्थ्यमा आएको यस्तो संकटपूर्ण समयमा जीवन बचाउने खोपलाई विश्वकै अत्यावश्यक साझा वस्तुको रूपमा लिने गरी काम गर्न आग्रह गरे। खोपको आपूर्तिमा सबै देशले सहज रूपमा पहुँच कायम गर्न सक्ने र खरिद गर्न सक्ने अवस्था सुनिश्चित गर्न अपरिहार्य भएको उनले बताए।

कोभिड–१९ विरूद्धको खोपको उत्पादन र आपूर्तिका लागि भारत सरकारप्रति आभार प्रकट गर्दै अर्थमन्त्री पौडेलले त्यसले सार्क क्षेत्रभित्र खोप अभियान शीघ्र सञ्चालन गर्ने प्रयासलाई सम्भव बनाएको धारणा व्यक्त गरे। आर्थिक पुनरुत्थानको गतिलाई दिगो बनाउन साझा उद्देश्य र लक्ष्यसहित एकसाथ भएर सबैले काम गर्नुपर्ने समय आएको भन्दै अर्थमन्त्री पौडेलले रोजगारी सिर्जना र स्वदेशी उत्पादनमा केन्द्रित भई आर्थिक क्रियाकलाप बढाउने रणनीति एकसाथ तय गर्नुपर्ने बताए।

सार्क क्षेत्रले बजार र अर्थतन्त्रबीचको गहिरो अन्तरआवद्धताको माध्यमबाट क्षेत्रीय सम्वृद्धि हासिल गर्न सक्ने थुप्रै सम्भावना बोकेको भन्दै अर्थमन्त्री पौडेलले छोटो समयमा नै आर्थिक पुनरुत्थान गर्न सक्नेमा आशावादी रहेको धारणा व्यक्त गरे। एसियाली विकास बैंकको ५४औं वार्षिक बैठकको अवसरमा भर्चुअल माध्यमबाट सार्क अर्थमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूको बैठक भएको हो। बैठक अर्थमन्त्री पौडेलको अध्यक्षतामा भएको थियो।

अर्थमन्त्री पौडेलले कोभिड–१९ महामारीको सामना गर्न तथा आर्थिक प्रवर्धन लगायतमा विकासोन्मुख सदस्य देशहरूलाई वित्तीय तथा प्राविधिक सहयोग उपलव्ध गराएकोमा बैंकलाई धन्यवाद दिए। सार्कका महासचिव इसाला रुवान विराकुन र एसियाली विकास बैंकका आर्थिक अनुसन्धान तथा क्षेत्रीय सहयोग विभागका प्रमुख अर्थशास्त्री यासुकी सावदाले कोभिड–१९ बाट आर्थिक पुनरुत्थान: समावेशी तथा उत्थाशील आर्थिक वृद्धि विषयमा छुट्टा–छुट्टै प्रस्तुति दिएका थिए। अर्थमन्त्री एवं प्रतिनिधिमण्डलका प्रमुखहरूले कोभिड–१९ को प्रभावलाई न्यूनीकरण एवं आर्थिक सामाजिक पुनरुत्थान गर्न एकआपसमा सहयोग हुनुपर्ने कुरामा जोड दिएका थिए।

प्रकाशित: २३ वैशाख २०७८ ०२:२४ बिहीबार

अर्थमन्त्री विष्णुप्रसाद पौडेल आर्थिक परिदृश्य चुनौतीपूर्ण