अर्थ

राजस्व छलीमा १४ लाख धरौटी

आन्तरिक राजस्व कार्यालय सुर्खेतले गोर्खा टोवाद्वारा उत्पादित सुर्तीजन्य पदार्थ राजस्व छली गरी बिक्रीवितरण गरेको भन्दै १४ लाख धरौटी माग गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले राजस्व छलीका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिई आन्तरिक राजस्व कार्यालयमा बुझाएपछि गोर्खा टोवासँग १४ लाख धरौटी माग भएको हो।

बिगो अनुसार १४ लाख धरौटी तोकिएको आन्तरिक राजस्व कार्यालयका प्रमुख राम मैनालीले बताए। ‘मुद्दा टुंगिएको छैन, तर बिगो अनुसार धरौटी तोकिएको हो,’ प्रमुख मैनालीले भने, ‘अब राजस्व छली अभियोगमा मुद्दा अगाडि बढ्छ।’ कर्णाली प्रदेश ०२–००१क०१२१ नम्बरको ट्रकमा राजस्व छलेर बिक्रीका लागि लगिएको सुर्ती प्रहरीले बरामद गरेको थियो। 

राजस्व छलीका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिई आफूहरूले आन्तरिक राजस्व कार्यालयमा बुझाएको सुर्खेतका प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले बताए। अन्य खाद्य सामाग्रीसँगै २५ बोरा राजस्व छलीका सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरी कार्यालयमा बुझाएको थियो।

प्रकाशित: २२ वैशाख २०७८ ०४:२७ बुधबार

राजस्व छलीमा १४ लाख धरौटी