अर्थ

स्थानीय तह पुनर्संरचनापछि पूर्वाधारयुक्त हुँदै उदयपुरगढी

उदयपुरगढी गाउँपालिका केन्द्र प्रवेशद्वार । तस्बिरः महेश्वर

स्थानीय तह पुनर्संरचनापछि उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीको रुप फेरिँदै गएको छ । झण्डै ५ दशकअघि गाईघाटमा सदरमुकाम सारेपछि दिनदिनै उजाडिदै गएको गढी क्षेत्रले ०७४ मा स्थानीयतह पुनर्संरचनापछि बन्न थालेको पूर्वाधारले नयाँ स्वरुप लिन थालेको हो ।  

तत्कालीन वडाहाकिम कार्यालय र पछि जिल्ला सदरमुकाम रहेको गढीबाट ०२९ सालमा हालको सदरमुकाम गाईघाटमा सारिएको थियो । सदरमुकाम सरेसँगै बसाई सर्ने क्रम बढेपछि गढीक्षेत्र उजाडिदै गएको थियो । एकपछि अर्को बसाई सराईले पातलिदै गएको आवादीले मनमोहक र चिसो वातावरणको गढीक्षेत्र ओझेल पर्दै गएर सुख्खा र उजाड ठाउँमा परिणत भएको तत्कालीन पञ्चावती गाविस अध्यक्ष सन्तबहादुर गुरुङ बताउँछन् ।  

गुरुङका अनुसार पुरानो सदरमुकाम भएकाले गुल्जार रहेको गढीमा पछिल्लो समय ०१३ सालमै स्थापित पञ्चावती मावि, पुनारो गढी, मुकाम हुँदाताकाका सरकारी अड्डा अदालत राखिएका भवनहरु सबै भग्नावशेषमा परिणत भए । जिल्लामै पहिलोपटक स्कुल खुलेको पञ्चावतिका मान्छे अन्यको तुलनामा शिक्षित र पढेलेखेका भएकाले राज्यको उपल्लो तहसम्म पहुँच राख्थे । ‘तर, सबै अवसर र जागीरको खोजीमा गाउँ छाड्ने, जागीर र कमाईपछि सहर केन्द्रित हुँदै गए, कोही गाउँ फर्केर आउँदै आएनन्’ गुरुङ भन्छन् ‘अनि गाउँ झन्झन् रुखिदै गयो र उजाडिदै गयो, माओबादी द्वन्द्वले केही बाँकी गाउँलेलाई पनि बिस्थापित गरेपछि झन् उराठ लाग्दो बन्यो ।’

द्वन्द्वकालमा सेना परिचालन भएपछि बचेखुचेका गाउँले युवा विदेश र सहर पलायन भए । तर, जव देशमा संघीयता र गणतन्त्र आयो उजाडिएको गढी क्षेत्र लोभलाग्दो हुदै गएको उनी बताउँछन् । राज्य पुनर्संरचनाक्रममा तत्कालीन पञ्चावती, भलायडाँडा, बर्रे, डुम्रे र तावाश्री गाविस समेटेर बनेको उदयपुरगढी अहिले जिल्लाकै अगुवा गाउँपालिका हुने दौरानमा छ । स्थानीयतह पुनर्संरचनाले केन्द्र बनाएपछि एकपछि अर्को भौतिक संरचना र पूर्वाधार निर्माणसँगै गढीले रुप फेर्दै गएको गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर बताउँछन् ।

साविक तावाश्री गाविस पूर्व अध्यक्षसमेत रहेका मगरले स्थानीय सरकार सञ्चालन ऐन ०७४ अनुसार अधिकार प्रयोग गर्दै सबभन्दा पहिले पूर्वाधारका संरचना निर्माणमा ध्यान दिएको बताए । बितेको ३ वर्षमा उजाड उदयपुरगढी क्षेत्र हराभरा र गुल्जार बन्दै गएको उनी बताउँछन् । ०५९ सालमा तत्कालीन माओबादी बिद्रोहीले शाही सेनालाई लक्षित गरी आक्रमण गर्दा ध्वस्त भएको जिर्ण स्वास्थ्यचौकी भवनलाई टालटुल गरेर काम चलाएको गाउँपालिकाले दोस्रो वर्ष नै प्रशासनिक भवन निर्माण थालेको थियो ।  

०७५÷७६ र ०७६÷७७ मा गाउँपालिकाकै लगानीमा बहुवर्षीय योजनाअन्तर्गत १ करोड १२ लाखमा बनेको गाउँपालिका प्रशासनिक भवनबाटै हाशल कामकाज हुँदै आएको छ भने ८ वटै वडाहरु भवनयुक्त भईसकेका छन् । भवन नभएका २ र ६ नं. वडा भवन पनि चालुवर्ष निर्माण भईसकेको अध्यक्ष मगरले बताए । सभाकक्ष, कर्मचारी र वडाध्यक्ष कक्षसहितका सुविधा सम्पन्न भवनहरु २ नं. मा ९९ लाख र ६ नं. को ७७ लाख खर्च गरेर बनाइएको छ ।  

गाउँपालिका भवननजिकै पुरानो गढीको भग्नावशेष पुननिर्माण थालिएको छ । गतवर्ष ‘भ्रमण वर्ष’को अवरमा सरकारले देशभरका १ सय पर्यटकीय गन्तव्यभित्र पारेको उदयपुरगढीको पर्यटन विकासका लागि पुरानो गढीको पुननिर्माण थालिएको हो । राज्य एकीकरणको क्रममा तत्कालीन चौदण्डीगढी मातहतमा रहेको सहायक राज्य उदयपुरगढीलाई पृथ्वीनारयाण शाहका सेनाले कब्जा गरेको ठाउँ पुरानो गढी हो । त्यसको पुननिर्माण कार्यका लागि संघीय सरकारले गतवर्ष दिएको ५० लाख र गाउँपालिकाको २२ लाख गरी ७२ लाखको काम गतवर्ष नै भएको छ ।  

बङ्कर पुनर्निर्माण र गढीक्षेत्रको परिसरमा घेराबेराको काम भईसकेको गढी पुननिर्माणको काममा सरकारले चालुवर्ष २ करोड ७५ लाख बिनियोजन गरेको उपभोक्ता समितिका अध्यक्ष बोधकुमार घिमिरेले बताए । चालु वर्षकोे १ करोड ९३ लाखको काम गर्नेगरी अर्थ मन्त्रालयबाट अख्तियारी आर्ईसकेको घिमिरेले बताए । ‘पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज साझेदारी कार्यक्रम’ अन्तरर्गत बिनियोजित सो बजेटको चालुवर्ष काम थालेर अर्को वर्ष सम्पन्न गरिसक्ने लक्ष्यका साथ गाउँपालिकाले टेण्डर प्रक्रियाको तयारी गरिरहेको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीका अनुसार साढे ३ वर्षमा गाउँपालिका केन्द्र उदयपुरगढीसँग सबै वडालाई सडक सञ्जालसँग जोडिएको छ । निर्माणाधीन मदन भण्डारी लोकमार्गसँग जोड्न वडा नं. ६ को नेपालटारदेखि गढीसम्मको ९ किलोमिटर सडक यसैवर्ष स्तरोन्नतिसहित कालोपत्रे गर्न संघीय सरकारले ६ करोड ८२ लाख बिनियोजन गरेको सुबेदीले बताए । सो रकमबाट ग्राबेल भईसकेको गढी–नेपालटार सडकलाई आउँदो वर्षभित्र कालोपत्रे गरिसक्ने लक्ष्य लिइएको उनले बताए ।  

अधिकृत सुबेदीका अनुसार यो अवधिमा गाउँपालिकाका सबै वडामा गरी ३ सय १० किलोमिटर कच्ची सडक निर्माण भईसकेको छ । नेपालटार–गढी, गढी–डुम्रे, गढी–देउलीकुना–जरुवा, जरुवा–सिन्कौले, गढी–पानी घट्टा, गढी–बर्रे, गढी–डुम्रे–ताप्ली र गढी–नरेटार–हाडेबास–मईनटार हुँदै सिराहाको लाहान जोड्ने सडकहरु सबै सञ्चालनमा छन् । छिमेकी गाउँपालिकाहरु ताप्ली, रौतामाई र लिमचुङुङ तथा कटारी नगरपालिकासँग जोड्ने सडकहरु पनि कच्ची नै सही सुचारु रहेको अधिकृत सुबेदीले बताए ।  

शिक्षातर्फ गाउँपालिकामा रहेका ११ माध्यामिक (कक्षा १–१२) विद्यालय सबै भवनयुक्त छन् भने नभएका विद्यालयमा आगामी वर्ष भवन निर्माण गरिदिने योजना छ । गाउँपालिकाकै नेपालटारस्थित माविमा गतवर्षदेखि कृषि विज्ञानमा पठनपाठन सुरु भएको छ । उच्च शिक्षाका लागि गाउमै क्याम्पस सञ्चालन गर्ने तयारी पनि गाउँपालिकाले गरिरहेको छ ।  

खानेपानीतर्फ जिल्लामै पहिलो पटक लिफ्टििङ प्रविधिबाट वडा नं. ७ को बतासेका ३ सय घरधुरी परिबारलाई सुद्ध खानेपानी उपलब्ध गराइसकिएको छ । संघको ४५ लाख बजेटबाट निर्मित उक्त योजनामा ४५ वटा धारा निर्माण गरेर वर्षौदेखि खोला र कुवाको धमिलो पानी खान बाध्य स्थानीयलाई घरघरमै खानेपानीको सुविधा पु¥याइएको छ । यसअघि खानेपानी समस्या भोग्दै आएको गढीमा पनि लिफ्टििङ प्रविधिबाटै पानी ल्याईसकिएको सुबेदीले बताए ।  

सञ्चार सेवा पहुँचका लागि नेपाल टेलिकमको बिटिएर (टावर) निर्माण गरेर फोर जी सेवा सञ्चालनमा छ । पहिलेदेखिको प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गरिएको  छ । पहिलेदेखिकै स्वास्थ्य चौकीलाई १५ शैय्याको गाउँ अस्पतालमा रुपान्तरण गर्न पूर्वाधार र जनशक्ति व्यवस्थापनको कार्य भईरहेको गाउँपालिकाले जनाएको छ ।    

चारैतिर मनमोहक दृष्य देख्न सकिने, चिसो हावा चल्ने, मनोरम ठूलठूला वर–पिपलका रुख, ठाउँठाउँमा सुस्ताउन कुँदेर बनाइएका ढुंगे चौतारा, पञ्चावती माईको मन्दिरबाहेक भौतिक संरचना सबै भत्किसकेको गढी क्षेत्र पछिल्लो ३ वर्षमा घुमुघुमु लाग्ने भएको छ । संघीयता र गणतन्त्र आएसँगै भएको राज्य पुनर्संरचनाले उजाड र उराठलाग्दो भईसकेको गढीको जवानी फर्कदै गएको गाउँपालिका उपाध्यक्ष सानुकुमारी राउत बताउँछिन् । उनका अनुसार बितेको ३ वर्षमै निर्जन लाग्ने गढीमा हिजोआज सेवाग्राहीदेखि बिभिन्न ठाउँबाट आउने आन्तरिक पर्यटकले सँधै भरिभराउ हुन थालेको छ । हरियाली र गुल्जार बन्दै गएपछि वर्षौअघि बसाई सरिसकेका स्थानीयहरु आफ्नो पुख्र्यौली ठाउँ सम्झेर फर्कन थालेको राउतले बताईन् ।

प्रकाशित: १६ वैशाख २०७८ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App