अर्थ

तीन अर्बको चिया निर्यात

इलामको साखेजुङस्थित कञ्चनजंघा चिया प्रशोधन कारखानामा तयारी चिया प्याकिङका लागि ग्रेडिङ गरिँदै।तस्बिर: भीम/नागरिक

मुख्य सिजनमै केभिड–१९ को महामारीले हरियोपत्ती टिपाइमा असर पुर्‍याएपनि नेपालको तयारी चिया निर्यातबाट आम्दानी भने बढेको छ। आव २०७६/०७७ मा २ अर्ब ७८ करोड रुपैयाँबराबरको चिया निर्यात भएकामा चालू वर्षको ९ महिनामै ३ अर्ब ६ करोड रुपैयाँको निर्यात भएको हो।

चिया तथा कफी विकास बोर्डका अनुसार गतवर्ष ११ हजार १ सय ८५ मेट्रिक टन तयारी चिया निर्यात भएको थियो । तर, चालू वर्ष ९ हजार ५ सय ७० मेट्रिक टन निर्यात भएपनि गतवर्षको तुलनामा आम्दानी चाहिँ बढेको छ । आव ०७५/०७६ मा २५ हजार २ सय ५ र आव ०७६/०७७ मा २४ हजार १ सय १८ मेट्रिक टन चिया उत्पादन भएको बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले कोभिड–१९ को महामारीले असर गरेपनि तयारी चिया निर्यातमा उल्लेखनीय वृद्धि भएको बताउँदै यसलाई उपलब्धिका रूपमा लिनुपर्ने बताए।

नेपालबाट भारत, जर्मनी, अमेरिका, चीन, रुस, नेदरल्यान्डलगायत देशमा तयारी चिया निर्यात हुनेगरेको छ । डा.भट्टराईले अन्य उपभोग्य वस्तु आयात गर्नुपरेपनि चियामा नेपाल आत्मनिर्भर भएको धेरै समय भइसकेको बताए । तर, देशभित्र चियाको उपयोग चाहिँ न्यून रहेको उनले जनाए। ‘नेपालमा चियाको खपत वार्षिक प्रतिव्यक्ति २ सय ग्रामभन्दा कम रहेको अनुमान छ,’ उनले भने, ‘तर, भारतमा यही अवधिमा प्रतिव्यक्ति साढे ३ सय ग्राम चिया खपत हुनुले हाम्रो देशको खपत न्यून देखाउँछ।’ उनले चियाको आन्तरिक खपत बढाउन चिया उद्यमी र सरोकारवालाले प्रयास गर्नुपर्ने बताए । ‘चियामा पाइने थिपल्याभिन तत्वले कोरोना भाइरसको असरलाई समेत रोक्नसक्ने द रिसर्च एसोसिएसनको अनुसन्धानबाट पत्ता लागेको पाइन्छ,’ उनले भने, ‘यो सन्दर्भ चाहिँ चियाको बजार विस्तार गर्ने अवसर पनि हो।’  

२५औं राष्ट्रिय चिया दिवस अवसरमा विज्ञप्ति जारी गर्दै डा.भट्टराईले चियाको आन्तरिक बजार प्रवद्र्धनमा नै बोर्ड रणनीतिक रूपमा अघि बढ्ने पनि जनाए। दिवस अवसरमा बोर्डले ‘स्वदेशमा उत्पादित चिया पिउने गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने नारा तय गरेको छ।

चियाको पहिलो टिपाइ चैतमा सुरु हुन्छ। तर, गत चैत ११ देखि भएको लकडाउनका कारण चिया टिपाइ हुन नसक्दा यसको उत्पादनमा असर पुगेको थियो । बोर्डले लकडाउनले चियामा असर गरेपनि अन्य देशको तुलनामा क्षति चाहिँ कम भएको जनाएको छ। स्वास्थ्य मापदण्ड पालना गरी चिया टिपाइ र प्रशोधन भएकाले अन्य कृषि उत्पादनको तुलनामा चिया चाहिँ बढी क्षतिबाट जोगिएको डा.भट्टराईको भनाइ छ।

प्रकाशित: १५ वैशाख २०७८ ०५:०२ बुधबार

तीन अर्बको चिया निर्यात