अर्थ

स्वयम्भूमा पुनः निर्मित भवनहरू हस्तान्तरण

क्याप्शन

२०७२ साल वैशाख १२ गतेको महाविनाशकारी भूकम्पले क्षतिग्रस्त भएका स्वयम्भू परिसरस्थित काग्यु कर्मपा सम्प्रदायको कर्मराज महाविहार र स्वयम्भू महाचैत्यका बुद्धाचार्य पुजारी निवासको पुनःनिर्माण सम्पन्न भएको छ। पुनःनिर्माण सम्पन्न घरहरू सोमबार सम्बन्धित घरधनीलाई हस्तान्तरण गरियो।

काठमाडौं महानगरपालिका १५ वडा कार्यालयको नेतृत्वमा स्वयम्भू पुनःनिर्माण समितिले पुजारी परिवारका १७ वटा घर र कर्मराज महाविहार (गुम्बा) को पुनःनिर्माण गरेको थियो। यसको लागि आवश्यक बजेटेको व्यवस्था कर्मराज महाविहारका प्रमुख १७ औंं अवतारी गुरु थिन्ले थाय दोर्जेले गरेका थिए।  

उनी र उनको सुखावती फाउन्डेसनबाट प्राप्त भएको १३ करोड ५३ लाख रूपैयाँ लागतमा महाविहारको भवन र पुजारी परिवारका १७ वटा घरहरू पुनःनिर्माण गरिएको थियो। कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अहिले राजधानीमा कुनै जीर्ण सम्पदा पुनःनिर्माण गर्न थाल्यो कि विरोध गरिहाल्ने समूह सक्रिय भइरहेको बताउँदै यस्तो अवस्थामा पनि स्वयम्भू जस्तो विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिकस्थलमा विहार र पुजारी परिवारको घर पुनःनिर्माण सम्पन्न गर्नसक्नु अत्यन्तै ठूलो कुरा भएको बताए।  

प्रमुख अतिथि तथा सोही क्षेत्रका सांसद जीवनराम श्रेष्ठले स्वयम्भूलाई ‘मंकी टेम्पल’ भनेर भन्दा पनि स्वयम्भू नै भनेर परिचित गराउनुपर्ने विचार राखे ।  

काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले जनप्रतिनिधिहरू आइसकेपछि धेरै नै सम्पदाहरू पुनःनिर्माण थालिएको बताइन् । 

प्रकाशित: १५ वैशाख २०७८ ०२:३७ बुधबार

स्वयम्भूमा पुनः निर्मित भवनहरू हस्तान्तरण