अर्थ

सडक कालोपत्रेको काम सुस्त, म्याद सकिन लाग्दा आधा प्रगती

दिक्तेल–खानीडाँडा–आहाले सडकको पर्खालमा भएको प्वालमा हात हाल्दै प्रदेशसभा सांसद (हाल सामाजिक विकास मन्त्री) उषाकला राई । तस्बिर : दमन राई/नागरिक

खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती देखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक लगानीमा सुरु गरिएको दिक्तेल–आहाले (१०.९७४ किलोमिटर) खण्ड डिबिएसटी कालोपत्रेको म्याद सकिन लाग्दा ४८ प्रतिशत मात्र भौतिक प्रगती देखिएको छ । २०७६ साल चैत ७ गतेसम्मको सम्झौता म्याद गुज्रिएपछि थप भएको म्याद पनि आगामी २०७८ साल बैसाख २९ गते सकिँदै छ । थप भएको म्याद सकिन लाग्दा समेत सडक कालोपत्रेको कामको भौतिक प्रगती ४८ प्रतिशत र वित्तीय प्रगती ४७.७६ प्रतिशत मात्र देखिएको कन्सल्टेन्ट इन्जिनियर चञ्चलकुमार झाले बताए । निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले बाँकी म्याद भित्र सडक कालोपत्रेको काम नसक्ने निश्चित छ । 

निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले २०७६ साल चैत ७ गतेभित्र सम्पन्न गर्नेगरी २०७५ साल असोज १ गते सडक कालोपत्रेको सम्झौता गरेको थियो । दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने छोटो दुरीको मार्गका रुपमा स्थापित हुने सडक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भ्याट सहित २१ करोड १ लाख ८८ हजार खर्चमा कालोपत्रे सुरु गरिएको हो । आर्थिक वर्ष २०७७/०७८ मा सडक कालोपत्रेको वित्तीय प्रगती १४.२३ प्रतिशत र भौतिक प्रगती ९.१४ प्रतिशत मात्र भएको कन्सल्टेन्ट इन्जिनियर झाले जानकारी दिए । 

कम्पनीले नाली, रिटेनिङ वाल, ग्राभेल आरसिसि, साईड ड्रेन, ग्राभेल सहित ६.२५ मिटर चौंडा हुने सडकको ३.७५ भागमा पिच गर्नेगरी कालोपत्रेको ठेक्का लिएको हो । १८ महिनाभित्र पूरा गर्नेगरी ठेक्का लागेको कालोपत्रेको काम २०७५ साल मंसिर १ गते प्रतिनिधिसभाका सांसद बिशाल भट्टराईले शिलान्यास गरेका थिए । सुरुका दिनमा तिव्र गतिमा अघि बढाइएको सडक कालोपत्रेको काम क्रमशः सुस्त गतिमा अघि बढेपछि निर्माण कम्पनीको चौतर्फी आलोचना भइरहेको छ ।  

कालोपत्रेको काम गुणस्तरहिन  

दिक्तेलको अस्पतालचोकबाट खानीडाँडा बिमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रेको काम सुस्त र गुणस्तरहिन भएको पाइएपछि स्वयं राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालय खोटाङले २०७६ सालमा केही समय कालोपत्रेका काम रोकेको थियो । कालोपत्रेका काम गरिरहेको निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीलाई गुणस्तरहिन काम रोक्नका लागि ६ दिनअघि मौखिकरुपमा जानकारी गराएको कार्यालयले २०७६ साल पुस ९ गते लिखितरुपमा पत्राचार गरेर काम रोक्न लगाएको थियो । माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग १० टिन बालुवा गिटी घोलेर सडकको काममा प्रयोग भइरहेको गुनासो आएपछि कार्यालय ‘एक्सन’मा उत्रिएको थियो । 

त्यो बेला गुणस्तरहिन काम भएको पाइएपछि बालुवा, गिटी लगायतका ‘स्याम्पल’ नै उठाइएको थियो । लगत्तै २०७६ साल पुस २३ गते प्रदेशसभा सांसद उषाकला राई (हाल सामाजिक विकास मन्त्री), प्रदेशसभा सांसद रामकुमार राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायतको टोली सडकको कामको स्थलगत अनुगमनमा गएका थिए । सडक कालोपत्रेको काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनीका प्रमुख शिवप्रसाद चौंलागाईलाई २०७६ साल कात्तिक ५ गते दिक्तेलमा आयोजना गरिएको बैठकमा बोलाइएको थियो । तर, सो बैठकमा चौंलागाईले गरेका प्रतिवद्धता अनुशार सडकको काममा प्रगती भएन ।  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानीमा जोडिने दिक्तेल–रेग्मीटार सडक पुरा भएपछि दिक्तेलबाट र उदयपुरको गाईघाट पुग्ने सबैभन्दा छोटो मार्ग खुल्ने दाबी गरिएको छ । हाल सञ्चालनमा रहेको दिक्तेल–महुरे–फोक्सिङटारभन्दा छोटो हुने भएकाले भविष्यमा दिक्तेल–रेग्मीटार सडक पुर्वी तराई जानआउनका लागि बढि प्रयोगमा आउने जिल्ला समन्वय समिति खोटाङका प्रमुख चामलीङले बताए । सडकले मनमायाँ राई खानीडाँडा बिमानस्थललाई पनि छुने भएकाले दिक्तेलबाट बिमानस्थल आवत–जावत गर्ने स्थानीय लाभान्बित हुने छन् ।  

फेरियो निर्माण कम्पनीका प्रतिनिधि  

दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रेको काम सुस्त भएपछि निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले प्रतिनिधि परिवर्तन गरेको छ । सुरुमा कल्याण दाहाललाई प्रतिनिधि राखेको निर्माण कम्पनीले हाल खगेन्द्र राईलाई प्रतिनिधि चयन गरेको छ । याक्थुङहाङ/साप/सिरुवा जेभीको प्रतिनिधि बनेका राईले चैत ८ गते सडक कालोपत्रेको बाँकी कामका लागि सम्झौता गरेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालय खोटाङका नासु एवं सुचना अधिकारी मणिराम ढकालले बताए । 

प्रतिनिधि राईले कामको जिम्मा लिए लगत्तै आवश्यक निर्माण सामग्री जुटाएर बैसाख ५ गतेदेखि सडक कालोपत्रे अन्तरगतको कामलाई अघि बढाएको कार्यालयले जनाएको छ ।

प्रकाशित: १४ वैशाख २०७८ ०७:०२ मंगलबार

सडक कालोपत्रे दिक्तेल–खानीडाँडा–आहाले सडक