अर्थ

भूकम्पीय आवास निर्माणको काम ९५ प्रतिशत सम्पन्न

अनुदानवापत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खाल्लेमा निर्माण गरिएको निजी आवास। तस्बिर: दमन राई/नागरिक

खोटाङमा भूकम्पीय आवास निर्माणको काम ९५ प्रतिशत नाघेको छ। २०७२ साल बैसाख १२ गते गएको भूकम्पपछिको पुःननिर्माणकाक्रममा निजी आवास अनुदानको प्रगति ९५.८३ प्रतिशत पुरा भएको हो। पुःननिर्माणतर्फ ९ हजार ३१० र प्रवलीकरणतर्फ ९७१ गरी १० हजार २ सय ८१ लाभग्राही पहिचान गरिएकामा ९५.८५ प्रतिशतले पहिलो किस्ता, ९०.२४ प्रतिशतले दोश्रो किस्ता र ७८.९९ प्रतिशत लाभग्राहीले तेश्रो किस्ता अनुदान लिएको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) को कार्यालय खोटाङले जनाएको छ।  

हालसम्ममा पुःननिर्माणतर्फ ९ हजार ६८ र प्रवलीकरणतर्फ ७ सय ८५ गरी ९ हजार ८ सय ५३ लाभग्राहीसँग सम्झौता गरिएकामा हालसम्म पुःननिर्माणतर्फ जिल्लाका ७ हजार ७८३ लाभग्राहीले निजी आवास अनुदान वापत तेश्रो किस्ता बुझेका छन्। यस्तै, पुःननिर्माणतर्फ ८ हजार ८ सय ९२ लाभग्राहीले दोश्रो किस्ता बुझेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार खोटाङका नासु एवं सूचना अधिकारी मणिराम ढकालले जानकारी दिए। यस्तै, पुःननिर्माणतर्फ ९ हजार ६८ र प्रवलीकरणतर्फ ७सय ८५ गरी ९ हजार ८ सय ५३ लाभग्राहीले पहिलो किस्ता बुझेको कार्यालयले जनाएको छ।  

भूकम्पपछिको पुःननिर्माणकाक्रममा २सय४२ लाभग्राहीले पहिलो किस्ता, ९ सय ६१ लाभग्राहीले दोश्रो किस्ता र १ हजार १ सय ९ लाभग्राहीले तेश्रो किस्ता लिएका छैनन्। कुल लाभग्राहीमध्ये पुःननिर्माणतर्फ २ सय ४२ र प्रवलीकरणतर्फ १ सय ८६ लाभग्राहीले हालसम्म सम्झौता नै नगरेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयका नासु एवं सूचना अधिकारी ढकालले जानकारी दिए ।  

चार जनाले फिर्ता गरे अनुदान  

निजी आवास पुःननिर्माणकाक्रममा खोटाङमा एक जना लाभग्राहीले पहिलो किस्ता वापतको ५० हजार अनुदान फिर्ता गरेका छन्। यस्तै दोहोरो भुक्तानी लिएका ३ जना लाभग्राहीले १ लाख ५० हजार फिर्ता गरेको छन्। प्राधिकरणका अनुसार डमी खातामा आवास अनुदान जम्मा गरिदिए पनि लामो समयसम्म निकासा नलिएका १ सय ५३ लाभग्राहीमध्ये १ सय १५ लाभग्राहीको ६० लाख अनुदान फिर्ता गरिएको छ।  

यस्तै, पुरानो प्रावधान अनुसार २० र नयाँ प्रावधान अनुसार ५ सय२४ लाभग्राहीलाई प्रवलीकरणबाट पुःननिर्माणमा परिवर्तनका लागि सिफारिस गरिएको छ। यस्तै, भूमिहिन लाभग्राही ५ जनामध्ये ४ लाभग्राहीलाई जग्गा खरिदका लागि २/२ लाख प्रदान गरिएको र जोखिम बर्गका ३९ लाभग्राहीमध्ये ३७ लाभग्राहीसँग सम्झौता भइसकेको ढकालले बताए।  प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष जिल्लाका तीन वटा गुम्बा पुःननिर्माणको काम सुरु गरिएको छ।

भूकम्पका कारण क्षती पुगेको ऐसेलुखर्क र दिक्तेलका एक÷एक वटा गुम्बा पुःननिर्माणका लागि उपभोक्ता समितिसँग सम्झौता भइसकेको छ । फेदीको एक वटा गुम्बा भने सय वर्ष पुरानो भएकाले टेण्डरमार्फत पुःननिर्माणको प्रकृया अघि बढाइएको प्राधिकरणका इन्जिनियर अर्जुन रावलले बताए । देछेन छोलिङ गुम्बा नामको सो गुम्बा पुःननिर्माणका लागि टेण्डर प्रकृयामा रहेको छ। भूकम्पबाट क्षती पुगेका जिल्लाका ७ वटा गुम्बा पुःननिर्माणमा परेकामा अझै चार गुम्बाको काम हुन बाँकी नै छ। भूकम्पपछिको पुःननिर्माणका क्रममा आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाका १० वटा गुम्बा मर्मत गरिएको थियो। 

प्रकाशित: १४ वैशाख २०७८ ०६:०८ मंगलबार

भूकम्पीय आवास खोटाङ