अर्थ

प्रत्यक्ष वैदेशिक लगानीको ५१ प्रतिशत सेवा क्षेत्रमा

नेपालमा आर्थिक वर्ष २०७५/ ७६ को अन्त्यसम्ममा प्राप्त प्रत्यक्ष विदेशी लगानीको आधाभन्दा बढी हिस्सा सेवा क्षेत्रमा  रहेको केन्द्रीय बैंकले गरेको एक सर्भेक्षणले देखाएको छ।  

नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार सो अवधिसम्म नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा लगानी भएको छ।  ४८.८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी भएको छ। सेवा क्षेत्रअन्तर्गत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको राष्ट्र बैंकले प्रतिवेदनको नतिजा उद्धृत गर्दै जानकारी दिएको छ। त्यसैगरी, औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.६ प्रतिशत र  जलविद्युत् क्षेत्रमा २० प्रतिशत वैदेशिक लगानी छ ।

प्रतिवेदन अनुसार संसारका ५३ देशबाट नेपालमा प्रत्यक्ष लगानी आएको छ।  आर्थिक वर्ष २०७५/ ७६ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८.८ प्रतिशतले कमी आई १८२ अर्ब ९२ करोड कायम भएको छ। कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ४८.२ प्रतिशत,र रिजर्भ ४२.८ प्रतिशतर  कर्जाको अंश ९ प्रतिशत छ ।  रिजर्भको अंश २७.० प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको  राष्ट्र बैंकको भनाइ छ।  

त्यसैगरी, २०७६ असार मसान्तसम्ममा नेपालमा ५३ देशहरूको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ। जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात ५६ अर्ब ५ करोड र  त्यसपछि क्रमशः चीनबाट २७ अर्ब ५६ करोड, सेन्ट किस्टस एन्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्यान्डबाट ११ अर्ब ५९ करोडर  सिंगापुरबाट ८ अर्ब ७३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ।  

प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्‍याउने  उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी स्थलगत सर्वेक्षण सम्पन्न गरेको विज्ञप्तिमा उल्लेख छ।  

‘आर्थिक वर्ष २०७५/७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये १५३ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक विश्लेषणका आधारमा प्रत्यक्ष ‘वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५/७६’ तयार पारिएको हो,’पुर्‍याउने राष्ट्र बैंकको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित: १० वैशाख २०७८ ०४:०८ शुक्रबार

प्रत्यक्ष वैदेशिक लगानीको ५१ प्रतिशत सेवा क्षेत्रमा