पर्यटन विभागले यस वर्षको वसन्त ऋतुमा एकपटकमा बढीमा एक सय ७० जना आरोहीलाई मात्र सगरमाथा आरोहण गर्न दिने भएको छ। विभागले एक सूचना जारी गर्दै निर्देशन जारी गर्दै एक सय ५० देखि एक सय ७० जनालाई मात्रै आरोहण गर्न दिने जनाएको हो। विगत वर्षमा मौसम अनुकूल भएको बेला सबै आरोही एकैपटक आरोहणमा जाँदा ट्राफिक जाम भएपछि यस वर्षको वसन्त ऋतुमा नयाँ निर्देशन जारी गरेको विभागले जनाएको छ।
यस वर्ष विभागले अनुमति लिएको आधारमा आरोहण तालिका बनाइदिएको छ। विभागले जारी गरेको सूचना अनुसार बाटो बनाउने र डोरी टाँग्ने काम सकिएपछिको पहिलो अनुकूल मौसममा अनुमति पत्र नं. ६, ७, ९, १४, १७, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, ३२, ३४, ३६, ३७ र ३८ मार्फत अनुमति लिएकालाई आरोहण गर्न भनिएको छ। त्यसै गरी, दोस्रो अनुकूल मौसममा ४०, ४१, ४३, ४५, ४६, ४७, ४९, ५०, ५१, ५२, ५५, ५७, ५९, ६२, ६३, ६७ र ६८ नं. अनुमतिमार्फत अनुमति लिएकालाई आरोहण गर्न भनिएको छ। अनुमति नं. ७२ देखि पछि अनुमति लिएकाले तेस्रो अनुकूल मौसममा आरोहण गर्नुपर्नेछ।
यद्यपि यो व्यवस्थाले अनुमति लिएका आरोहीको आरोहण असहज हुने भएमा आरोहण व्यवस्थापन गर्ने एजेन्सीले आपसी सहमति र समन्वय गरी १५० देखि १७० जनामा नबढ्ने गरी र आरोहणमा पनि असर नपर्ने गरी मिलाउन सक्ने विभागले जनाएको छ। यसका लागि पर्वतारोहण सञ्चालक संघले आरोहणको व्यवस्थापन गर्ने एजेन्सीसँग समन्वय गर्नुपर्ने उल्लेख छ। यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ३९ समूहका तीन सय ७१ जनाले अनुमति लिएका छन्।
प्रकाशित: १० वैशाख २०७८ ०३:१६ शुक्रबार