अर्थ

पानी र चियाको स्ट्यान्डर्ड तोकिँदै

नेपाल गुणस्तर तथा नापतौल विभागले बोटलको पानी र चियाको स्ट्यान्डर्ड तोक्ने तयारी गरेको छ। बजारमा बिक्री भइरहेका पानीको गुणस्तरबारे प्रश्न उठिरहेका बेला विभागले पिउने पानीको स्ट्यान्डर्ड तोक्न लागेको हो।

अहिले बजारमा बिक्री भइरहेको पानीमा सामान्य फुड सेफ्टीको प्रमाणपत्रमात्र लिएर उत्पादन तथा बिक्री गरिरहेकाले स्ट्यान्डर्ड बनाउन लागेको विभागले जनाएको छ। ‘अहिलेसम्म पानीको आधारभूत स्वास्थ्य तथा सेफ्टीलाई मात्र ध्यान दिइएको छ,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘प्राकृतिक मिनिरल वाटरको स्ट्यान्डर्ड बनाउन लागेका छौं।’

नेपालले पानीको स्ट्यान्डर्ड नबनाउँदा अहिले पनि यहाँका कतिपय तारे होटलमा विदेशबाट पानी आयात भइरहेको छ। ‘नेपालको पानी विदेश समेत निर्यात हुन सक्ने सम्भावना छ,’ पुडासैनीले भने, ‘अन्तर्राष्ट्रिय बजारमा समेत विश्वास हुने गरी स्ट्यान्डर्ड तोक्छौं।’ स्ट्यान्डर्ड तोके पनि पानीको ब्रान्डिङ गर्न सजिलो हुने उनले बताए। पानीमा भएका तत्वको आधारमा मापदण्ड तोकिनेछ।यसैगरी, नेपाली चियाको पनि स्ट्यान्डर्ड तोक्न लागेको विभागले जनाएको छ। नेपालको चियाले अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेको बेला अर्गानिक स्ट्यान्डर्ड बनाउन लागिएको हो। नेपाली चियालाई ब्रान्डिङ गर्न सजिलो होस् भनेर विभागले पहिलोपटक मापदण्ड तोक्न लागेको हो।

त्यसैगरी, विभागद्वारा १६ वटा वस्तुको स्ट्यान्डर्ड तयार गरेको छ। कतिपय वस्तुको मापदण्ड छ भने केहीको परीक्षण गर्ने विधि, प्रक्रियाको पनि मापदण्ड तयार गरिएको छ। उपभोक्ताले प्रयोग गर्ने वस्तु र परीक्षण गर्ने विधि गुणस्तरीय हुन भनेर स्ट्यान्डर्ड तयार गरेको हो। पाइप, बायोग्यास सिलिन्डर लगायत वस्तुको स्ट्यान्डर्ड तयार गरेर नेपाल गुणस्तर परिषद् बैठकबाट पारित गर्ने तयारी गरेको छ। बजारमा विभिन्न प्रकारका गुणस्तरहीन औद्योगिक वस्तु बिक्री वितरण भइरहेको गुनासो आएपछि विभागले विभिन्न वस्तुका मापदण्ड तयार गरेको हो। विभागले तयार गरेको मापदण्ड नेपाल गुणस्तर परिषद्ले पारित गरेपछि कार्यान्वयन हुन्छ। परिषद्को अध्यक्ष उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहने व्यवस्था छ।  

विभागले यसअघि एभिएसन टर्बाइन फ्यूल, एलइडी बल्ब, स्यानिटरी नेपकिन, कर्भ स्टोन लगायत वस्तुको मापदण्ड तयार पारेको छ। अहिलेसम्म एक हजारभन्दा बढी गुणस्तर मापदण्ड तयार गरिएको छ। गुणस्तर मापदण्डमा वस्तुको गुणस्तर मात्र नभएर परीक्षण गर्ने विधिको पनि मापदण्ड हुन्छ। एउटै वस्तुको पनि विभिन्न परीक्षण हुन्छ। वस्तुको स्पेसिफिकेसन तयार गरेर त्यसका आधारमा स्ट्यान्डर्ड बनाइन्छ। सरकारले स्वास्थ्य र सुरक्षाका दृष्टिकोणले स्ट्यान्डर्ड अनिवार्य गर्न सक्छ।

विभागले करिब एक हजारभन्दा बढी स्ट्यान्डर्ड तयार गरेको भए पनि एक दर्जन बढी गुणस्तर स्ट्यान्डर्ड बाध्यकारी बनाएको छ। सिमेन्ट, डन्डी, एलपिजी सिलिन्डर, भल्व, एलिपजीको बोटलिङ प्रक्रिया, कर्कट जस्तापाता, जिआई वायर, बिजुलीको हाउस वायरिङ लगायतमा गुणस्तरलाई अनिवार्य गरिएको छ। ती वस्तुमा विभागले तोके अनुसारको गुणस्तर नभए कारबाही हुन्छ। सरकारले अनिवार्य गरेका गुणस्तर मापदण्ड पनि उद्योगीले उल्लंघन गर्ने गरेका छन्। त्यस्तो अवस्थामा विभागले अुनगमन गरेर कमसल वस्तु उत्पादन गर्नेलाई कारबाही गर्दै आएको छ।

गुणस्तर भन्नाले कुनै वस्तु, सेवा, प्रक्रिया वा प्रणालीको आफ्नो उद्देश्य पूर्ति भएको सुनिश्चित गर्न तयार गरिएको नियम, निर्देशिका वा चारित्रिक गुणको परिभाषाको रूपमा गरेको प्राविधिक विशिष्ट विवरण वा अन्य निश्चित मानांक सम्मिलित लिखित दस्तावेज हो। सरकारले नेपाल गुणस्तर निर्धारण गर्न र त्यस्तो वस्तुमा प्रमाण चिह्न प्रयोगको व्यवस्था गर्न सक्छ। कुनै उत्पादक, निर्माता, वितरक वा सेवा प्रदान गर्ने व्यक्ति वा संस्थाले कुनै वस्तु, सेवा, प्रक्रिया वा प्रणालीको सम्बन्धमा गुणस्तर प्रमाण चिह्न प्रयोगको लागि इजाजत वा गुणस्तर प्रमाणपत्र प्राप्त गर्न चाहेमा विभागले उपलब्ध गराउने गरेको छ।  

गुणस्तर कायम गर्ने उदेश्यले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन २०७७, नेपाल गुणस्तर नियमावली (प्रमाण चिह्न) २०४०, स्ट्यान्डर्ड नापतौल ऐन र स्ट्यान्डर्ड नाप र तौल लगायत ऐन, नियमावलीहरू छन्। वस्तुको गुणस्तर कायम गरी उपभोक्ता ठगिनबाट बचाउन विभागले विभिन्न मापदण्ड तयार गरेर कार्यान्वयन गर्दै आएको छ। कतिपय उत्पादनमा गुणस्तर अनिवार्य गरिएको छ। केहीमा स्वेच्छिक छ। 

प्रकाशित: ९ वैशाख २०७८ ०४:३४ बिहीबार

पानी र चियाको स्ट्यान्डर्ड तोकिँदै