अर्थ

नक्कली पिसिआर रिपोर्ट बाेकेका एक सय ७२ जना विमानस्थलबाट फिर्ता

फाइल तस्बिर

कोरोना परीक्षणको नक्कली रिपोर्ट देखाएर विदेश जान खोजको आशंकामा एक सय ७२ जना नेपाली र भारतीय नागरिकलाई अध्यागमनले रोकिदिएको छ। पिसिआर परीक्षण नै नगरी कोरोना नभएको पुष्टि हुने नक्कली रिपोर्ट लिएर विदेश जान खोज्नेलाई रोकेको अध्यागमनको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार जजिरा एयर, एयर अरेबिया र सलाम एयरबाट खाडी मुलुक जान खोज्नेलाई रोकिएको हो।  

बुधबार खाडी जान लागेका यात्रुको कोरोना परीक्षण रिपोर्टमा शंका लागेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको विमानस्थल स्रोतले जनाएको छ। विमानस्थलबाट फर्किनेमा नेपालीसहित भारतीय र पाकिस्तानी नागरिक छन्।  

स्रोतका अनुसार सूर्या हेल्थ केयर र मेरिट मल्टिकेयर मेडिकल सेन्टरले जारी गरेको पिसिआर रिपोर्ट बोकेर विदेश जान विमानस्थल पुगेकालाई रोकिएको हो। पक्राउ गर्नेमा ६८ जना भारतीय, एक सय ६ जना नेपाली र दुई जना पाकिस्तानी छन्। सूर्या हेल्थ केयरको प्रयोगशालामा प्रहरीले मंगलबार छापा मारेर नक्कली पिसिआर रिपोर्ट बनाएको आरोपमा आठजनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ।  

अहिलेको स्वास्थ्य मापदण्ड अनुसार नेपालबाट बाहिरिने र भित्रिनेले ७२ घन्टाभित्र पिसिआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट अध्यागमनमा देखाउनु पर्छ। ती प्रयोगशालाले स्वाब नै परीक्षण नगरी नेगेटिभ रिपोर्ट घर अथवा भनेकै ठाउँमा पुर्‍याउँदै आएको प्रहरीको दाबी छ।

प्रकाशित: ९ वैशाख २०७८ ०४:२३ बिहीबार

विमानस्थलबाट एक सय ७२ जना फिर्ता