अर्थ

२०२१ मा कार्बनडाइअक्साइड उत्सर्जन वृद्धि हुने

कोभिड–१९ ले सिर्जना गरेको आर्थिक मन्दीलाई मत्थर पार्न विश्वले जीवाश्म इन्धनलाई जोड दिँदा सन् २०२१ मा कार्बन डाइअक्साइडको उत्सर्जन उच्च बिन्दुमा पुग्ने देखिएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइए) ले मंगलबार सार्वजनिक गरेको ग्लोबल इनर्जी रिभ्यु–२०२१ का अनुसार ऊर्जा क्षेत्रले गर्ने कार्बन उत्सर्जनमा हुने बढोत्तरी इतिहासको दोस्रो ठूलो हुनेछ। यसअघि सन् २०१० विश्वव्यापी आर्थिक मन्दीपछि आर्थिक गतिविधिमा आएको तीव्रतासँगै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने वर्ष रहेको थियो। त्यस वर्ष कार्बन उत्सर्जन ६ प्रतिशतले बढेको थियो।  

जीवाश्म इन्धनअन्तर्गत अत्यन्त फोहोरी इन्धनको रूपमा मानिने कोइलाको प्रयोगमार्फत उत्पादन गरिने बिजुलीको उत्पादनमा एसिया तथा अमेरिकामा हुने बढोत्तरीले जलवायु परिवर्तन न्यूनीकरणको विश्वव्यापी अपेक्षालाई आघात पर्ने र त्यसका लागि सम्बन्धित सरकारले तत्काल पहल गर्नुपर्ने उक्त प्रतिवेदनमा उल्लेख छ। ‘जीवाश्म इन्धनको माग २०२१ मा अत्यधिक हुनेछ। कोइलाको माग ६० प्रतिशतले बढ्नेछ र यसले उत्सर्जनलाई ५ प्रतिशतले बढाउनेछ,’ उक्त वार्षिक प्रतिवेदनको मुख्य निष्कर्षमा भनिएको छ। ऊर्जा क्षेत्रअन्तर्गत कोइलाबाट हुने उत्सर्जनमा सन् २०२० मा ५० प्रतिशतले घटेकोमा एसियामा हुने अत्यधिक कोइला खपतले सन् २०२१ मा यो ८० प्रतिशतले बढ्ने देखिएको छ।  

जलवायुसम्बन्धी पेरिस सम्झौताले औद्योगीकरण हुनुभन्दा अघिको विश्वव्यापी स्तरको तुलनामा विश्वको तापमान वृद्धिलाई १ दशमलव ५ डिग्र्रीमा मात्र सीमित राख्न भनेको छ। यसका लागि यो दशकभित्रै कार्बन उत्सर्जनलाई ४५ प्रतिशतले घटाउनुपर्ने वैज्ञानिकले बताउँदै आएका छन्। कोभिड महामारीका कारण २०१९ मा कार्बन उत्सर्जन ७ प्रतिशतले घटेको थियो। विश्वव्यापी कार्बन उत्सर्जनमा हवाई क्षेत्रको हिस्सा २ प्रतिशत रहने मानिएको गत वर्ष यसको योगदान नगण्य रहेको थियो। विश्वका उदयमान अर्थतन्त्र भएका देशमा ऊर्जाको माग २०१९ को स्तरभन्दा बढी हुने उक्त प्रतिवेदनमा जनाइएको छ।

‘सन् २०२१ मा विश्वव्यापी ऊर्जाको माग ४ दशमलव ६ प्रतिशतले बढनेछ, जुन सन् २०२० मा ४ प्रतिशतले खुम्चेको थियो। सन् २०१९ को भन्दा २०२१ मा शून्य दशमलव ५ प्रतिशतले ऊर्जाको माग बढनेछ,’ सो प्रतिवेदनमा भनिएको छ। यो प्रस्तावित वृद्धिको ७० प्रतिशत हिस्सा उदयमान तथा विकासशील अर्थतन्त्र भएका राष्ट्रले लिनेछन्। समृद्ध अर्थतन्त्र भएका देशमा ऊर्जाको माग कोभिडअघिको स्तरभन्दा ३ प्रतिशतले कम हुनेछ, प्रतिवेदनको सारांशमा भनिएको छ।

प्रतिवेदनका अनुसार २०२१ मा जीवाश्म इन्धनमध्ये प्राकृतिक ग्यासको माग सबैभन्दा अत्यधिक हुनेछ। यसैगरी विद्युत्को माग १० वर्षयता सबैभन्दा बढी हुनेछ। ‘सन् २०२१ मा विद्युत्को माग ४ दशमलव ५ प्रतिशतले बढ्नेछ। यो २०२० मा आएको ह्रासभन्दा ५ गुणाले बढी हुनेछ। यसले विश्वको ऊर्जाको कुल मागमा विद्युत हिस्सालाई २० प्रतिशत पुर्‍याउनेछ,’ प्रतिवेदनमा उल्लेख छ। यो मागको ८० प्रतिशत हिस्सा उदयमान तथा विकासशील अर्थतन्त्र भएका राष्ट्रले लिनेछन्।

त्यसो त कोभिड–१९ ले नवीकरणीय ऊर्जाको क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ। २०२० मा नवीकरणीय ऊर्जाका मागमा ३ प्रतिशतले वृद्धि भएको थियो। २०२१ मा ऊर्जामा आधारित हरेक क्षेत्रमा नवीकरणीय ऊर्जाको हिस्सा बढ्ने तथा विशेषगरी विद्युत् क्षेत्रमा यसको माग अत्यधिक हुने प्रतिवेदनमा उल्लेख छ। नवीकरणीय विद्युत् उत्पादनमा चीनले अग्रणी स्थान लिने देखिएको छ। प्रतिवेदनका अनुसार २०२१ मा मागमा हुने कुल वृद्धिको ५० प्रतिशत हिस्सा चीनले लिनेछ भने त्यसपछि अमेरिका, युरोपियन युनियन र भारतमा यसको उच्च माग रहनेछ। विश्वको सौर्य ऊर्जा तथा वायुबाट निस्कने ऊर्जा उत्पादनमा यी राष्ट्रले तीन चौथाइ हिस्सा लिएका छन्।

विश्वमा हाल देखिएका महामारीका थप लहरले आवागमनमा अवरोध हुने भएकाले ऊर्जाको विश्वव्यापी माग घटे पनि विभिन्न मुलुकले घोषणा गरेको आर्थिक पुनरुत्थानका प्याकेज र खोपमा पहुँच बढ्दा आशाको सञ्चार भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार विश्वको अर्थतन्त्र सन् २०२१ मा ६ प्रतिशतले बढ्नसक्ने र यसले विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन (जिडिपी) लाई सन् २०१९ को तुलनामा २ प्रतिशत बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइए) लाई विश्वव्यापी ऊर्जासम्बन्धी तथ्यांक उपलब्ध गराउने आधारित र विश्वासिलो संस्था मानिन्छ। यसले ऊर्जा सम्बन्धी प्रक्षेपण गर्दा हाल सञ्चालनमा रहेका र तत्काल सुरु हुने परियोजनाको लेखाजोखा गर्दछ।

प्रकाशित: ९ वैशाख २०७८ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App