अर्थ

मेलम्ची सुरुङ असारमा फेरि परीक्षण गरिने

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ आगामी असारको पहिलो साता पानी रोकेर परीक्षण गरिने भएको छ। मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले असारको पहिलो साता पानी रोकेर सुरुङको निरीक्षण र परीक्षण गरिने बताए।

‘अहिले हिउँदे मौसममा पानीको हाहाकारलाई मध्यनजर गर्दै खानेपानी उपलब्ध गराइरहेका छौं,’ कार्यकारी निर्देशक खत्रीले नागरिकसँग भने, ‘मेलम्चीको पानी सुरुङमा पथान्तरण गरेसँगै सुरुङमार्गमा केही असर पारेको छ कि छैन भनेर निरीक्षण गर्न करिब दुई महिना पानी वितरण रोकेर परीक्षण गर्न लागिएको हो।’  

खत्रीले सुक्खा मौसममा खानेपानीको हाहाकार मच्चिन सक्ने भएकाले अहिले गर्नुपर्ने परीक्षणलाई केही पछि सारेको बताए। ‘अहिलेको तुलनामा वर्षातमा उपत्यकामा पानीको माग केही कम हुन्छ। त्यसैले सोही बेला सुरुङ परीक्षण तथा निरीक्षणको कार्यतालिका बनाएका हौं।’ आयोजनाले सुरुङ अनुगमन र परीक्षणको लागि कम्तीमा दुई महिना लाग्ने जनाएको छ। ‘भरिभराउ सुरुङ खाली गर्न मात्रै कम्तीमा १० दिन लाग्छ,’ उनले भने, ‘सुरुङ रित्तिएपछि सूक्ष्म निरीक्षण र अनुगमन गरेपछि आवश्यक मर्मतसम्भारको काम गरिनेछ।’  

कार्यकारी निर्देशक खत्रीले सुरुङमा प्राविधिक वा अन्य समस्या देखिएको खण्डमा मर्मतसम्भारको लागि दुई महिना लाग्न सक्ने अनुमान गरेर सोही अनुसार कार्यतालिका बनाएको बताए। मेलम्ची खानेपानी आयोजनाले वैशाख ६ गतेदेखि १७ करोड लिटर पानी उपत्यकामा ल्याइरहेको छ। आयोजनाले गत फागुन १० गते मेलम्ची सुरुङमा पानी पथान्तरण गरेको थियो। मेलम्ची नदीको पानी फागुन २२ गते सुन्दरीजल आइपुगेको थियो।  

आयोजनाले चैत १३ गतेदेखि सुन्दरीजलको प्रशोधन केन्द्रबाट उपत्यकावासीको घरघरमा पानी वितरण गर्ने काम गरिएको थियो। ‘मेलम्ची आयोजनाको परीक्षणकालमा दैनिक साढे आठ करोड लिटर पानी वितरण गरिएको थियो,’ कार्यकारी निर्देशक खत्रीले भने, ‘अहिले दैनिक सुन्दरजलमा रहेका दुईवटै प्रशोधन केन्द्रबाट दैनिक १७ करोड लिटर उपत्यकाबासीको घरमा पठाइएको छ।’ दैनिक १७ करोड लिटर पानी काठमाडौंतर्फ पथान्तरण भएपछि पनि मेलम्ची नदीमा प्रतिसेकेन्ड एक हजार एक सय लिटर (प्रतिदिन करिब नौ करोड लिटर) भन्दा बढी पानी बगिरहेको छ। आयोजनाका अनुसार अहिले मेलम्चीको पानी सुरुङबाट अति नै न्यून मात्रामा मात्रै (०.१ प्रतिशत) चुहावट भएको छ। आयोजनाले दैनिक १७ करोड लिटर पानी उपत्यका आएसँगै खानेपानीको चरम अभाव अन्त्य गर्न सहयोग पुग्ने जनाएको छ। मेलम्ची आयोजनाको हेडवक्र्सको काम एक महिनाभित्रै सम्पन्न हुने बताइएको छ।  

बाँध (हेडवक्र्स) निर्माण अन्तिम चरणमा पुगेको छ। अहिले मेलम्चीको पानी अस्थायी बाँधमार्फत सुरुङमा हालिएको छ। एक महिनाभित्रै स्थायी बाँधमार्फत पानी पठाइनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको औपचारिक वितरणको उद्घाटन गत चैत २० गते गरेकी थिइन्। अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले केही स्थानमा नयाँ र अधिकांश स्थानमा पुरानै वितरण प्रणालीमार्फत मेलम्चीको पानी वितरण गरिरहेको छ। थोत्रा र माक्किएका पाइपलाइनका कारण मेलम्चीको पानी अहिले उपत्यकामा तीन सय भन्दा धेरै स्थानमा चुहावट भइरहेको छ। सिन्धुपाल्चोकको अम्बाथानदेखि सुन्दरजलसम्म २६ किलोमिटरभन्दा लामो सुरुङ निर्माण गरेर मेलम्चीको पानी उपत्यका ल्याइएको हो। 

प्रकाशित: ८ वैशाख २०७८ ०२:५७ बुधबार

मेलम्ची सुरुङ फेरि परीक्षण