अर्थ

कालीगण्डकी करिडोरः काम छाडेर व्यवसायी सम्पर्कविहीन

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत जिल्लामा पर्ने मोदीवेणी–अर्मादी खण्ड अलपत्र बनेको छ। काम छाडेर निर्माण व्यवसायी नै सम्पर्कविहीन बने पनि सो खण्डमा ट्र्याक खोल्ने कार्यसमेत अघि बढ्न नसकेको छैन।  

आगामी दुई वर्षभित्रै सो खण्डको सबै सडक कालोपत्र सक्ने लक्ष्य राखे पनि जिल्लाभित्र अझै ट्र्याक पूरा हुन सकेको छैन। ट्र्याक खुलाउने क्रममा गत चैत २५ गत कुश्मा नगरपालिका–५ मोदीबेनीघाट नजिकै कालीगण्डकी नदी किनारमा एस्काभेटर खसेपछि काम रोकिएको हो।  

सूर्य कन्स्ट्रक्सनले जिम्मा लिएको सो सडकको ट्र्याक खुलाउने क्रममा ब्रेकरले पहरो फुटाउँदै गर्दा माथिबाट आएको ढुङ्गाले लागी एस्काभेटर खसेको थियो। कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका प्रमुख सुबोध देवकोटाले पर्वत खण्डमा मोदीबेनीको करीब ५०० मिटर ट्र्याक खुल्न बाँकी रहेको जानकारी दिए।

यही वैशाखभित्रै सक्ने लक्ष्य रहेको जानकारी दिँदै उनले भने,“छिट्टै कालोपत्रेका लागि काम अघि बढाउने योजना हो। मेसिन खसेपछि काम रोकिएको छ।” काम कहिले शुरु गर्ने भन्ने टुङ्गो लागिनसकेको उनले बताए।  

करिडोरअन्तर्गत जिल्लामा रानीपानी–फलेबास–ढिक खण्डको २३ किमी कालोपत्रेका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। कडा चट्टान फुटाउने क्रममा मेसिनसहित मान्छे खसेर दुर्घटना भएपछि बाँकी काम कसरी अघि बढाउने भन्नेमा नै अन्योलता देखिएको उनको भनाइ छ। झण्डै दुई वर्षसम्म सम्पर्कविहीन भएको सो कन्स्ट्रक्सनलाई सम्पर्कमा ल्याएर काममा लगाइएको आयोजना प्रमुख देवकोटाले बताए।  

ठेकेदार कम्पनी नै सम्पर्कविहीन भएपछि मोदीबेनी क्षेत्रको ट्र्याक खोल्न ढिलाइ भएको थियो। पर्वत खण्डको ३९ किलोमिटर कालोपत्रका लागि रु एक अर्ब २३ करोड विनियोजन भएको छ।  

विसं २०७५ जेठ २१ मा काम सक्ने गरी २०७३ असार २२ मा सो कन्स्ट्रक्सनले सम्झौता गरेको थियो। जिम्मा लिएको १४ किमिमध्ये मोदीबेनी–फलेबास–ढिकसम्मकै केही भागको ट्र्याक अझै खोल्न सकेको छैन।  

कन्स्ट्रक्सनका प्रतिनिधि दीपक रैसवालले नयाँ मेसिन र चालक खोजेर काम अघि बढाइने जानकारी दिए। सडकले दक्षिणका एक नगरपालिका र तीन गाउँपालिकाको बस्ती जोड्छ। विसं २०६२ मा पर्वतको त्रिवेणी–रानीपानी–बाच्छा हुँदै रेखाङ्कन गरिएको करिडोर विसं २०६४ मा बागलुङतर्फ सरेको थियो।  

तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पालामा बागलुङ पुर्‍याइएको करिडोरको पर्वतमा कालीगण्डकी लोकमार्ग नामकरण गरी शाखा विस्तार गरिएको थियो। हाल सडकको दुवै जिल्लालाई समान प्राथमिकतासाथ विस्तार गरिएको आयोजनाले जनाएको छ। सडकअन्तर्गत मोदीवेणी र सेतीखोलामा मोटरेबल पुल निर्माण भइसकेका छन् भने लमायखोलामा पुल निर्माण प्रक्रियासमेत अघि बढेको छ।

प्रकाशित: ६ वैशाख २०७८ ०७:२५ सोमबार

कालीगण्डकी करिडोर व्यवसायी सम्पर्कविहीन राष्ट्रिय गौरवको आयोजना