'भियतनामी बैंकलाई प्राइममा भिœयाउन अन्तिम चरणको छलफल हुन बाँकी छ,' प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले बुधबार नागरिकसँग भने, 'संयुक्त लगानीमा आउँदा बैंकले पुँजीका साथै लगानी कोष पनि लिएर आउने छ ।' उनले पुँजीमात्र वृद्धि गर्नु बैंकको उद्देश्य नभएकाले लगानी कोष र व्यवसाय विस्तारको सर्त राखिएको जानकारी दिए ।
'केही सानातिना कुरा मिल्न बाँकी छ,' उनले भने, 'पुँजी, लगानी कोष र प्राविधिक सहयोगबारे कुरा मिलिसकेको छ ।' उनले भियतनामी बैंकले प्राइमको ५१ प्रतिशत सेयर लिने जानकारी दिए ।
बैंक स्रोतका अनुसार, लगानी कोषको रकम सम्झौतालगत्तै नेपाल आउने छ । पहिलो चरणमा पाँच अर्ब रुपैयाँ आउने पक्का छ । आवश्यकताअनुसार यो रकम बढ्ने स्रोतले जानकारी दियो ।
चुक्ता पुँजी दुई अर्ब ३४ करोड रुपैयाँ रहेको प्राइम कमर्सियल बैंक र बैंकपे भियतनामबीच काठमाडौं र भियतनाममा गरी आधा दर्जनपटक छलफल भइसकेको छ । बैंकपे भियतनाम प्राविधिक समूहसहित नेपालमा लगानी गर्न सहमत भइसकेको छ । प्राइमले १० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांस वितरण गर्ने टुंगो गरिसकेकाले चुक्ता पुँजी दुई अर्ब ६५ करोड रुपैयाँ पुग्दैछ । भियतनामी बैंक आएपछि पुँजी करिब पाँच अर्ब रुपैयाँ पुग्ने बैंक स्रोतले जानकारी दियो ।
अहिलेका कतिपय प्रवद्र्धकले नयाँ बैंक आएपछि सेयर स्वामित्व झिक्नुपर्ने हुँदा उनीहरुलाई केही रकम दिनुपने विषयमा छलफल चलिरहेको छ । 'बैंक स्थापना गर्न लगानी गर्ने सेयरधनीलाई राम्रो प्रतिफल नदिई बिदा गर्न मिल्दैन,' बैंक स्रोतले भन्यो, 'प्रवद्र्धकलाई आकर्षक प्रतिफल दिन भियतनामी बैंकका अधिकारीसँग छलफल चलिरहेको छ ।'
प्राइमले पुँजी मात्र लगानी गरेर भिœयाउन नसकिने जनाएपछि बैंकपेले व्यवसाय विस्तारका साथै लगानी कोष ल्याउने सहमति जनाएको हो । बैंकपेले १÷२ प्रतिशत ब्याजमा पहिलो चरणमा पाँच अर्ब रुपैयाँ लगानी कोष नेपाल ल्याउने छ । 'अहिले एक वर्षे निक्षेपमा दीर्घकालीन लगानी गर्नुपर्ने नेपाली बैंकको बाध्यता छ,' बैंक स्रोतले भन्यो, 'बैंकपेले लगानी कोष ल्यायो भने दीर्घकालीन लगानी गरेर व्यवसाय विस्तार गर्न समस्या हुँदैन ।'
भदौ मसान्तसम्म ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको प्राइमले दीर्घकालीन प्रकृतिका जलविद्युत्, पूर्वाधार, व्यावसायिक कृषि र पर्यटन क्षेत्रमा बैंकपेबाट आउने लगानी कोषको रकम प्रयोग गर्नेछ । 'सस्तो ब्याजमा लगानी कोषको रकम प्रयोग गर्न पाइने हुँदा लगानीकर्ताले पनि राम्रो प्रतिफल पाउँछन्,' बैंक स्रोतले भन्यो, 'उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गर्न पनि सहयोग पुग्छ ।'
प्राइमले आफ्नै स्रोतबाट अहिलेसम्म २२ अर्ब रुपैयाँ लगानी गरेको छ । बैंकसँग अझै पनि ८ अर्ब रुपैयाँ तत्काल लगानी गर्ने रकम छ । बैंकपेको प्राविधिक टोलीले नेपालको लगानीबारे अध्ययन गरेपछि बैंकले अहिलेको स्रोत प्रयोग गर्न अझ सजिलो हुने छ । 'लगानी विस्तारका लागि बैंकपे संयुक्त लगानीका रुपमा आए नेपालको बैंकिङ तथा लगानी क्षेत्रलाई निकै फाइदा पुग्ने छ,' मानन्धरले भने, 'लगानी कोष र प्राविधिक टोली नै नेपाल आउने भएकाले हामी ५१ प्रतिशत सेयर दिन तयार भएका हौं ।'
मानन्धरले बैंकपेबाहेक पनि नेदरल्यान्ड, अस्टे«लिया र चीनका बैंकहरुसँग संयुक्त लगानीबारे छलफल भएको जानकारी दिए । 'अन्य बैंकसँग छलफल चले पनि अधिकांश विषय बैंकपेसँग मिलेको छ,' उनले भने, 'दसैंपछि सबै विषय टुंगो लागेपछि तिहारलगत्तै सम्झौता हुन्छ ।'
प्रकाशित: १७ आश्विन २०७० २३:२१ बिहीबार