अर्थ

प्राधिकरणलाई भारतबाट बिजुली किन्न स्वीकृति

नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गरी आयात गर्न स्वीकृति पाएको छ। भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत् खरिद गरी आयात गर्न सक्ने गरी स्वीकृति दिइएको जानकारी प्राधिकरणलाई बुधबार दिएको छ।  

अब प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेकाले यो नेपालको ऊर्जा विकासको लागि एउटा महत्वपूर्ण कोशेढुंगा भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए। ‘कसैको हस्तक्षेपबिना बजारले निर्धारण गरेको प्रतिस्पर्धी दरमा आवश्यकताअनुसार विद्युत् खरिद गरी आयात गर्न सकिने भएकाले दुई मुलुकबीचको विद्युत् व्यापारका लागि यसको ऐतिहासिक महत्व छ,’ शाक्यले भने, ‘ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालले पहुँच पाएकाले भारत हुँदै बंगलादेशसम्म विद्युत् व्यापारका लागि अर्को स्टेपसमेत खुला भएको छ।’ 

प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको बिजुली बिक्रीको स्वीकृतिका लागि भारतमा प्रस्ताव पठाएको छ। प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत् बर्खामा बिक्रीका लागि भारतसमक्ष प्रस्ताव गरेको कार्यकारी निर्देशक शाक्यले बताए। ‘भारतीय ऊर्जा बजारमा विद्युत् खरिद र बिक्रीका लागि प्रस्ताव गरेका थियौं, खरिदको स्वीकृति पाएको छौं भने बिक्रीका लागि माग भएको थप आवश्यक कागजात पठाएका छौं,’ शाक्यले भने। 

‘सुक्खा मौसम र पानी नपरेका कारण खोलामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादन उल्लेख्य मात्रामा घटेकाले विद्युत् माग र आपूर्तिको व्यवस्थापनमा चाप परेको छ, भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गर्न स्वीकृति पाएकाले तत्काल करिब ३० मेगावाट खरिदको प्रक्रिया अगाडि बढाएका छौं, त्यति बिजुली ल्याउन सक्यौं भने आपूर्ति व्यवस्थापन गर्न सकिन्छ।’

प्रकाशित: ३ वैशाख २०७८ ०२:५७ शुक्रबार

भारतबाट बिजुली किन्न श्रम स्वीकृति