अर्थ

सुर्खेतमा श्रीले नियमित उडान भर्न सकेन

श्री एयरलाइन्सले कर्णाली प्रदेशका राजधानी सुर्खेतमा नियमित उडान भर्न सकेको छैन। उडानका लागि अनुमति प्रक्रिया लम्बिँदा र जहाज अभावमा श्रीले सुर्खेतमा नियमित उडान भर्न नसकेको हो। केही सातामै नियमित उडान भर्ने भन्दै श्रीले माघ २६ गते सफल परीक्षण उडान गरेको थियो। 

उडानका लागि अनुमति प्रक्रिया चलिरहेकोले तत्काल सुर्खेत उडान भर्न नसकिएको श्री एयरलाइन्सले जनाएको छ। जहाज अभावका कारण पनि श्रीले सुर्खेतमा नियमित उडान गर्न नसकेको हो। ‘अब हाम्रो नयाँ जहाज पनि आउँदैछ,’ श्री एयरलाइन्सका रिजर्भेसन प्रमुख सुरेश मलिकले भने, ‘त्यतिबेलासम्म सुर्खेतका उडानका लागि अनुमति पनि पाइसक्छौं।’ नयाँ जहाज आइसकेपछि र अनुमति प्राप्त भएपछि सुर्खेतमा नियमित उडान गर्ने उनले जनाए।

सुर्खेतमा अहिले कार्यालय व्यवस्थापनको काम सकिएको बताइएको छ। सुर्खेतमा ८० सिटे जहाज उडान गर्ने श्रीले जनाएको छ। वैशाखको तेस्रो सातासम्म नियमित उडान गर्ने गरी काम भइरहेको श्रीको भनाइ छ। ‘काठमाडौं–सुर्खेत ८० जना यात्रु नै बोक्छौं,’ रिजर्भेसन प्रमुख मलिकले भने, ‘सुर्खेत–काठमाडौं ६० देखि ६५ जनासम्म यात्रुलाई सेवा दिन्छौं।’ नियमित उडानपछि श्री एयरलाइन्सले दैनिक उडान भर्ने उनको भनाइ छ।

‘कर्णालीका जनतालाई सहज सेवा दिने उद्देश्यले उडान गर्न लागेका छौं,’ नेपालगन्जस्थित श्रीका प्रमुख परशुराम चाधैरीले भने, ‘आशा छ कर्णालीका जनताले यसमा साथ दिनेछन्।’ अहिले सुर्खेत–काठमाडौं रुटमा बुद्धले मात्र उडान गर्दै आएको छ। बुद्धले दैनिक एक मात्र उडान भर्दा टिकट नपाइने समस्याले कर्णालीवासी नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ। ‘काठमाडौं जान सुर्खेतमा टिकट पाउनै मुस्किल छ,’ सुर्खेतका जितबहादुर घर्तीले भने, ‘नेपालगन्ज गएर जहाजमा काठमाडौं जानुपर्ने बाध्यता छ।’ अरू निजी विमान कम्पनीहरूले पनि काठमाडौं–सुर्खेत उडान गरे कर्णालीवासीलाई सहज हुने उनको भनाइ छ।

प्रकाशित: १ वैशाख २०७८ ०५:१९ बुधबार

सुर्खेतमा श्रीले नियमित उडान भर्न सकेन