अर्थ

डिजिटल महाअभियानमा बढ्दो आकर्षण

काठमाडौंबाहिर पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल बैंक लिमिटेडले सुरु गरेको डिजिटल महाअभियान प्रभावकारी बन्दै गएको छ। सेवाग्राहीले बैंकबाट छिटोछरितो झन्झटरहित सेवा पाउने भएपछि उक्त अभियान प्रभावकारी बन्दै गएको हो।

डिजिटल महाअभियान चैतको पहिलो साता एक समारोहबीच नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले सुरु गरेका थिए। महाअभियानअन्तर्गत डिजिटल प्रविधिमार्फत क्युआर कोड (क्विक रेस्पोन्स कोड) एक सय ५० जनाले लिइसकेको नेपाल बैंक लिमिटेड सुर्खेत शाखाले जनाएको छ। यसबाट सेवा लिन सजिलो हुँदा सेवाग्राहीको आकर्षण बढ्दै गएको शाखा प्रमुख गणेश केसीले जनाए।

‘एउटा पसलमा सेवाग्राही सामान किन्न आउँछ। उसलाई उधारोमा सामान दिन पनि सकिँदैन। आएको सेवाग्राहीलाई रित्तो हात फर्काउन पनि सकिँदैन,’ उनले भने, ‘यस्तै परिस्थितिमा क्युआर कोडको महत्वपूर्ण भूमिका रहन्छ। क्युआर कोडमार्फत सेवाग्राहीले सामान पाउँछ भने व्यापारीलाई उधारोमा सामान दिनु पनि पर्दैन।’ यसले किनमेल सहज भएको उनको भनाइ छ। क्युआर कोडमार्फत सामान खरिद गर्न सहज हुने नेपाल बैंक लिमिटेडले जनाएको छ। समयको परिवर्तनशीलतालाई आत्मसात गरी प्रविधिको अनुशरण गर्दै नगदरहित अर्थतन्त्र निर्माणमा यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखिएको छ।

प्रकाशित: २४ चैत्र २०७७ ०१:५२ मंगलबार

डिजिटल महाअभियान बढ्दो आकर्षण