अर्थ

‘मेरो देश मेरै उत्पादन’ कार्यान्वयनमा

उद्योग संगठन मोरङले स्वदेशी वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेरो देश मेरै उत्पादन अभियान कार्यान्वयनमा ल्याएको छ। मोरङ व्यापार संघसँगको सहकार्यमा थालिएको अभियान कार्यान्वयनमा ल्याएको संगठनले जनाएको छ।  

मेरो देश मेरै अभियानसहित संगठनले दुईवर्षे कार्यकालका लागि तयार पारेको कार्ययोजना पनि कार्यान्वयनमा ल्याएको छ। संगठनमा सुयश प्याकुरेल नेतृत्वको नयाँ कार्यसमिति गठन भएपछि दुईवर्षे नयाँ कार्ययोजना कार्यान्वयनमा ल्याइएको हो। गत फागुन २८ मा सम्पन्न ४८औं वार्षिक साधारणसभाबाट प्याकुरेल निर्वाचित भएका थिए। 

संगठको चैत १९ गते बसेको कार्यसमितिले पदस्थापन कार्यक्रममा प्रस्तुत भएको कार्ययोजनालाई कार्यान्वयन गर्ने निर्णय गरेको हो। संगठनले आयात प्रतिस्थापन एवं निर्यात प्रवद्र्धन र स्थानीय स्तरमा व्यावसायिक अवसर एवं रोजगारी सिर्जना गर्ने लक्ष्यसहितको कार्ययोजना अघि सारेको छ।  

स्वदेशी उत्पादनको प्रवद्र्धनलाई अभियानका रूपमा सञ्चालन गर्ने, अध्ययन–अनुसन्धानमा आधारित बहस र पैरवी, दक्ष जनशक्ति उत्पादनका लागि व्यावसायिक सीप विकास लगायत क्षमता अभिवृद्धि कार्यक्रमहरू समेटिएको छ। यस्तै, सदस्य औद्योगिक प्रतिष्ठानलाई व्यावसायिक विकास सेवा, असल श्रम सम्बन्ध, विश्वविद्यालय र उद्योगबीचकोे सहकार्य, नवपवर्तन तथा सोचलाई व्यावसायिकतामा रूपान्तरण गर्न सघाउ पुग्ने कार्यक्रम छन्।

औद्योगिक प्रदर्शनीस्थल निर्माण तथा मेला प्रदर्शनीको आयोजना, क्रस बोर्डर इकोनोमिक जोन लगायत कार्यक्रम प्राथमिकतामा राखेर कार्यान्वयनमा लगिएको संगठनले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो। 

प्रकाशित: २३ चैत्र २०७७ ०३:२८ सोमबार

‘मेरो देश मेरै उत्पादन’ कार्यान्वयनमा