अर्थ

पोखरा–काठमाडौं हवाई सम्पर्क पाँचदिनदेखि विच्छेद

१४१ वटा उडान रद्द

वायु प्रदूषणले ढाकेको पोखरा । तस्बिरः उमेश पुन÷नागरिक

वायु प्रदूषणले पोखरालाई काठमाडौंसँग जोड्ने हवाई सम्पर्क पाँचदिनदेखि पूर्णरुपमा टुटेको छ । गत शुक्रबार अबेरपछि पोखरा–काठमाडौंका उडान रोकिन थालेका थिए । शनिबारदेखि बुधबारसम्म पोखरा–काठमाडौं रुटमा एउटै उडान हुन नसकेको पोखरा विमानस्थलले बताएको छ ।  

६ दिनको यो अवधिमा पोखरा विमानस्थलबाट मात्र १४१ वटा उडान रद्द भएका छन् । त्यसले विमानस्थल मात्र नभई पोखराको पर्यटन र हवाई क्षेत्रलाई समेत आर्थिक रुपमा नोक्सान पु¥याएको छ । बुधबार बिहान खुलेको पोखराको मौसम केही समयपछि बिग्रँदा दिनभर उडान हुन नसकेको विमानस्थलले बताएको छ । विमानस्थल प्रमुख बिक्रमराज गौतमका अनुसार बुधबार बिहान मौसम खुल्दा पोखरा–जोमसोम हवाई उडान भएपनि पछि मौसम बिग्रदा थप उडान हुन नसकेको बताए ।  

उनका अनुसार बुधबार बिहानपख ५ हजार मिटर भिजिविलिटी रहेको पोखराको मौसम पछि घट्दै जाँदा मध्यान्हपछि एकहजार मिटरमा झरेको थियो । पोखरा–जोमसोम उडान बिहान ६ बजे नै सुरु हुन्छ । दिउँसोमा हावा चल्ने भएकोले बिहान १० बजेपछि सामान्यतया पोखरा–जोमसोम उडान हुँदैन ।  

‘भिजिविलिटी पुग्दा पोखरा–जोमसोम ६ वटा उडान भएको थियो । तर पोखरा–काठमाडौं रुटमा उडान भने उडान हुन सकेन,’ उनले भने, ‘पोखरा–जोमसोम रुटमा भन्दा पनि फरक अवस्था पोखरा–काठमाडौं रुटमा रह्यो ।’ उनका अनुसार बुधबार पोखरा–जोमसोम रुटमा समिट एयरले २ र तारा एयरले ४ गरि ६ वटा उडान भएका थिए । ‘पोखरा–जोमसोम उडान त भयो, तर काठमाडौंका लागि भने एउटै पनि उडान हुन सकेन,’ गौतमले भने, ‘काठमाडौंबाट पोखराका लागि आएको जहाज पनि बीचबाटैबाट फर्किनुप¥यो । बिहान केहीबेरका लागि खुलेको मौसम पछि पुन बिग्रियो ।’

काठमाडौंबाट बिहान उडेको बुद्धको जहाज पोखरा आउनै थाल्दा मौसम खराबीले अवतरण गर्न नसकेको उनले बताए । ‘बिहानको भिजिविलिटी ठिक थियो । पोखराबाट हवाई उडान हुन पाँचहजार मिटरको भिजिविलिटी आवश्यक पर्छ,’ गौतमले भने, ‘तरपनि बुद्धको जहाज यहाँ अवतरण गर्न सकेन । एकाएक भिजिविलिटी घट्यो ।’  

बिहान ७ः२५ मा बुद्धको जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो । तर, पोखरा नजिकै गगनगौंडाको आकाशमा आइसकेपछि भिजिविलिटी नपुगेको भन्दै जहाज काठमाडौं नै फर्केको बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले बताए । उनका अनुसार गगनगौंडामाथिको आकाशमा आइसकेको जहाजले अवतरणका लागि प्रयास गरेपनि ड्याम्मै तुवाँलोले छेकेपछि काठमाडौं डाइभर्ट भएको बरालले बताए ।  

‘४५ सय फिटमा झरेको जहाजले अगाडि केही नदेखेपछि डाइभर्ट हुनु परेको थियो । ४५ सय फिट भन्दा तल झर्न मिल्दैन,’ बरालले भने, ‘ड्याम्मै तुवाँलोले छेकेपछि डाइभर्ट गर्नुको विकल्प भएन ।’ पोखराबाट जोमसोमको रुट फरक पर्नु, सानो जहाज र उत्तरतिरको विहानको भिजिविलिटी राम्रो हुँदा उडान सम्भव भएपनि काठमाडौं रुटमा भने भिजिविलिटी नपुगेको उनले बताए । बुधवार बुद्धका नौवटा उडान भएपनि भिजिविलिटी नपुग्दा उडानको सम्भावना नरहेको बरालले बताए ।  

मध्यान्हपछि पोखराको भिजिविलिटी २५ सय मिटरमा ओर्लेको भएपनि दिउँसो झनै घटेको थियो । विमानस्थलले बताएको छ । गत शुक्रबारदेखि पोखरा–काठमाडौं रुटमा कुनैपनि उडान हुन सकेको छैन । दैनिक दुईदर्जन हाराहारीमा पोखरा–काठमाडौं रुटमा विभिन्न हवाई कम्पनिले उडान गर्दै आएका थिए । पाँचदिन हवाई सेवा बन्द हुँदा विमानस्थललाई मात्र १५ लाख हाराहारीमा नोक्सान पुगेको विमानस्थल प्रमुख गौतमले बताए । त्यसबाहेक हवाई कम्पनि र पर्यटनमा पारेको असर झनै ठुलो रहेको उनले बताए । 

प्रकाशित: १८ चैत्र २०७७ ०९:५१ बुधबार

वायु प्रदूषण पोखरा–काठमाडौं उडान