अर्थ

सडक, पुल र बिजुली निर्माणमा केन्द्रित माडी

मुलुक नयाँ संरचनामा गएपछि धेरै स्थानीय तहले विकासमा कोल्टे फेर्न सुरु गरेका छन्। त्यसमध्येको एक हो, चितवनको माडी नगरपालिका। जिल्लाको दक्षिणी सिमानामा पर्ने यो नगरपालिका वर्षौंदेखि भौतिक विकास र सहज जीवनयापनको पर्खाइमा थियो। पछिल्लो समय भने यो नगरपालिकाले पूर्वाधार विकासमा कोल्टे मार्न थालेको छ। सडक, पुल, खानेपानी, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका विकास पूर्वाधारमा नगरपालिकाले प्राथमिकतामा राखेर काम गरेको छ। जसले गर्दा माडीबासीको जीवन भोगाइ सहज बन्दै गइरहेको छ।

संघीयताको संरचना आउनुअगाडि माडी नगरपालिकाका कुनै पनि खोलामा पुल थिएनन्, सडक कालोपत्रे थिएन। खोलाहरू जमिनको सतहभन्दा माथि बग्थे। सुस्त विकास निर्माणका कार्यलाई तीव्र बनाउन, जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्न र समस्त माडीको विकासका लागि नगरपालिकाले अहिले योजना बनाएर अघि बढेको छ। अहिले माडीका केही सडकहरू कालोपत्रे भएका छन्। नयाँ सडक निर्माण भएका छन् भने ग्राभेल, स्तरोन्नतिका कार्य पनि तीव्र गतिमा भइरहेका छन्। खोलाहरूमा धमाधम पुल निर्माणका कार्य भएका छन् भने खानेपानी आयोजनाका कार्य, विद्युतीकरणका कार्यका साथै पर्यटन प्रवद्र्धनलाई पनि प्राथमिकतामा राखिएको छ।  

बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने माडीका सडकको स्वरूप अहिले फेरिदै गएको छ नगरप्रमुख ठाकुरप्रसाद ढकालले बताए। ‘मूल बाटो केन्द्रीय बजेटमध्येबाट जीवनपुरबाट बगईसम्मको ८.८ किलोमिटरको सडक हुलाकी सडकको मापदण्डअनुसार निर्माण भइरहेको छ, यसका लागि ५२ करोड बजेट छुट्ट्याइएको छ,’ उनले भने, ‘३८ करोडको लागतमा मूल सडककै १५।५ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ। जसमा कालोपत्रे, गाभ्रेल, स्तरोन्नतिका कार्य छन्।’ बर्खायाममा पनि सजिलैसँग यात्रा गर्न सकिने ढकालको भनाइ छ।  

ग्रामीण सडकमा ग्राभेल, स्तरोन्नतिको कार्य गरिएको छ। यस वर्ष ४० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ। नगरपालिकाले आफ्नै साधनहरू खरिद गरेर विकास निर्माण कार्य गरिरहेको छ। माडी–ठोरी–भरतपुर सडकखण्डअन्तर्गत रिउ खोलाको किनारबाट परुवी खोलासम्मको निर्माण कार्य गरिएको छ। त्यस्तै वनकट्टास्थित रिउ किनारबाट देवेन्द्रपुरको परुवी खोलासम्मको १५.२ किलोमिटर सडक कालोपत्रे गरिएको छ भने चिरौली चोकबाट सिधुवा चोकसम्मको सडक पनि निर्माण गरिएको छ। परुवीबाट बगईसम्मको ९ किलोमिटर सडक निर्माणको क्रममा छ।

माडीमा सबैभन्दा बढी क्षति पुर्‍याउने मगई खोलामा ४ किलोमिटरको ग्याभिनजालीसहितको तटबन्धन गरिएको छ। तीन वर्षको बीचमा पहिलो वर्ष दुई करोड, दोस्रो वर्ष साढे तीन करोड र गत वर्ष एक करोड रकम खर्च गरेर तटबन्धन सम्पन्न गरिएको छ। वडा नं २, ३, ४ र ५ का स्थानीयलाई नै क्षति पुर्‍याउँदै आइरहेको मगई खोला तटबन्धनपछि समस्या हल भएको छ। त्यस्तै प्रत्येक वर्ष क्षति पुर्‍याउँदै आइरहेको अनारधाधा खोलामा पनि तीन वर्षको अवधिमा तटबन्धन गरिएको छ। जसले गर्दा खोला छेउछाउका बस्ती र स्थानीयलाई सहज भएको छ भने खेतीपाती लगाउन पनि सहज भएको छ।  

नगरपालिकाले पूर्वाधार विकासमा सडक निर्माण, कालोपत्रे, स्तरोन्नति, खानेपानी, पुल निर्माणलगायतका क्षेत्रमा बढी जोड दिई काम गरिरहेको नगरप्रमुख ढकालले बताए। ‘हामी निर्वाचित भइसकेपछि माडी नगरपालिकाका कुनै पनि खोलामा पुल थिएन, कहीं पनि सडक कालोपत्रे थिएन’, नगरप्रमुख ढकालले भने, ‘अहिले मूल सडकमा कालोपत्रे भएका छन् भने सबै खोलामा पुल निर्माण कार्य भइरहेका छन्।’

माडीका मूल सडकमा १२ वटा पुल छन्। भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत माडीका साना, ठूला खोलामा गरी सबैजसो पुल निर्माणका क्रममा रहेका छन्। यो आर्थिक वर्षभित्रमा ८ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ। नगरपालिकाले चितेइखोलाको पुल निर्माणका लागि ३ करोड ९२ लाख, मगुवाई खोलाको लागि ११ करोड २७ लाख, परुयु खोलाको लागि ८ करोड २२ लाख, रतनी खोलाको लागि २ करोड ८२ लाख, बाँदरमुढे खोलाका लागि ३ करोड १५ लाख, रिमालखोलाका लागि पुल निर्माण गर्न ४ करोड १२ लाख बजेट छुट्ट्याएको छ।

त्यस्तै पतेरे खोलाको पुल निर्माणका लागि २ करोड ११ लाख, टुनामुना खोलाका लागि ६ करोड, घाघर खोलाका लागि ११ करोड ६९ लाख, बगई खोलाका लागि ११ करोड ७९ लाख, रिउ खोलाका लागि १४ करोड ६५ लाख बजेट छुट्ट्याइएको नगरप्रमुख ढकालले बताए। पुल र सडक निर्माण कार्य हुलाकी सडक आयोजना वीरगन्जले गरिरहेको छ। माडीका १२ वटा पुल निर्माणका लागि करिब ८२ करोड रूपैयाँ लागत लाग्ने बताइएको छ। खानेपानी आयोजनालाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको छ। नगरको वडा नम्बर ७ को कृतनपुर बजारमा बाहेक अन्य ठाउँमा खानेपानीको सहज पहुँज थिएन। अहिले बरुवा बजारमा भूमिगत खानेपानी आयोजनाबाट १ र २ वडामा पुग्ने गरी ट्याङ्की निर्माणको कार्य सकिएको छ भने पाइप बिछ्याउने कार्य भइरहेको छ। ३ र ४ नम्बर वडाका बस्तीलाई हुने गरी बोरिङ गर्ने कार्य भइरहेको छ भने ८ नम्बर वडामा ४ करोडको खानेपानीको आयोजना निर्माण कार्य भइरहेको छ।  

यस्तै वडा ५ मा एक करोडको लागतमा छरछरे खानेपानी आयोजना निर्माण, ९ वडामा गोविन्दबस्ती खानेपानी आयोजना, गणेकुञ्ज खानेपानी आयोजना र देवेन्द्रपुर खानेपानी आयोजना निर्माण कार्य भइरहेको छ। माडी नगरपालिकाले सबै जनताको घरमा एक घर एक धारा पुर्‍याउने उद्देश्यका साथ खानेपानी आयोजना निर्माणको कार्यलाई तीव्रता दिएको छ। खानेपानीको समस्या भएका बस्तीमा डिप बोरिङमार्फत जनताका घरघरमा खानेपानी पुर्‍याउने कार्य भइरहेको नगरप्रमुख ढकालले बताए। माडीमा विद्युतीकरणको कार्य पनि अन्तिम चरणमा पुगेको छ। 

उज्यालो माडी अभियानअन्तर्गत माडीबासीका प्रत्येक घरमा बिजुलीबत्ती पुर्‍याउन धमाधम काम गरिएको छ। सबै माडीबासीका घरघरमा बिजुलीबत्ती पुर्‍याउने लक्ष्यअनुसार नेपाल विद्युत् प्राधिकरणसँगको प्रस्तावपछि विद्युतीकरणको कार्यलाई सफल बनाइएको हो। साढे तीन वर्षअघि माडीका २७ प्रतिशत घरमा मात्र बिजुली बल्ने गरेकामा अहिले पूरै नगरबासीको घरमा उज्यालो पु¥याउन सफल भएको नगरपालिकाले बताएको छ। विद्युतीरकणमा माडी नगरपालिकाले विभिन्न व्यवस्थापनमा १४ करोड ३३ लाख लगानी गरेको छ।  

सडक कालोपत्रे गर्ने कार्यअन्तर्गत यस वर्ष वडा १ को बरुबा बजारबाट चैनपुर जाने दुई किलोमिटर सडक, अम्बाबासचोकबाट लक्ष्मीनिया जाने बाह्र सय मिटर सडक, सिर्जना चोकबाट दाङग्रे खोला पुग्ने २७ सय मिटर सडक कालोपत्रे गर्ने कार्यक्रम तय गरिएको छ। यस्तै २ वडाको बरुवा बजारबाट भैरवपुर पुग्ने १५ सय मिटर सडक, चिरौली चोकबाट नयाँपर्सा जाने ११ सय मिटर सडक, चिरौलीबाट सिम्रैली जाने बाह्र सय मिटर सडक कालोपत्रे गरिने नगरप्रमुख ढकालले बताए।  

यसै गरी ३ वडाको बगौडागाउँबाट धवाव जाने दुई किलोमिटर, बसन्तपुर बजारबाट इनारबरुवा जाने आठ सय मिटर, बसन्तपुरबाट पिपरिया जाने पाँच सय मिटर सडक यस वर्ष कालोपत्रे गरिने बताइएको छ। वडा ४ को सिम्रेनीबाट अम्रैलीबजार जाने चार किलोमिटर, स्कुलचोकबाट माथिल्लो खैरेनीको २७ सय मिटर, ५ वडामा दराई टोलबाट सिर्जनाचोकसम्म जाने १५ सय मिटर, सिर्जनाचोकबाट ढुकुरबारी जाने दुई किलोमिटर, रमाइलो डाँडाबाट बेलुवा जाने एक किलोमिटरलगायतका सडकमा कालोपत्रे गरिँदै छ। नगरपालिकाले नगरको ९ वटै वडामा यसै वर्ष सडक कालोपत्रे गर्ने योजना बनाएको छ।  

नेपालको सय गन्तव्यमध्ये एकको रूपमा सोमेश्वर गढी रहेको छ। पर्यटकीय, प्राकृतिक, धार्मिक तथा ऐतिहासिक रूपमा पनि यो गढीको व्यवस्थापनमा जुटेको छ। बैगुन्ठे, बाँदरमुडे पार्क पनि निर्माण गरिने बताइएको छ। पर्यटकीय क्षेत्र विस्तारका लागि घरबास पनि सञ्चालन गरिएको छ। शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि माडी नगरपालिकाले नमुना कार्य गरिरहेको छ। आगामी दिनमा रिउ करिडोरका कार्य, राष्ट्रिय निकुञ्जभित्रका सडक कालोपत्रे गर्ने कार्यलाई प्राथमिकतामा राखिने नगरप्रमुख ढकालले बताए।

प्रकाशित: १८ चैत्र २०७७ ०६:०९ बुधबार

सडक पुल बिजुली निर्माण केन्द्रित माडी