अर्थ

चार दिनदेखि हवाई सेवा प्रभावित

काठमाडौंको आकाशमा बढेको धुलो र धुँवाका कारण शुक्रबारदेखि देशभरको हवाई उडान प्रभावित भएको छ। बाक्लो तुँवालोको कारण विमानलाई चाहिने भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका दर्जनौं आन्तरिक र बाह्य उडान प्रभावित भएका छन्।

भिजिबिलिटीकै कारण उडान रद्द हुँदा तीन दिनदेखि विमानस्थल पुगिसकेका यात्रुसमेत फर्कन बाध्य छन्। शुक्रबार दिउँसो एकाएक भिजिबिलिटी कम भएपछि झण्डै तीन घन्टा विमानस्थल नै बन्द हुन पुगेको थियो। त्यसयता दर्जनौं आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका उडान रद्द भइसकेको विमानस्थल कार्यालयले जनाएको छ।  

सोेमबार मुख्यतया राजधानीसहित पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थलको हवाई सेवा अवरुद्ध हुन पुगेको छ। काठमाडौंस्थित विमानस्थल कार्यालयका अनुसार सोमबार आन्तरिकतर्फका ३९ उडान रद्द भएका छन्। उक्त उडानहरू काठमाडौं विमानस्थलबाट हुने उडान तालिकामा रहेका थिए।

कार्यालयका अनुसार नेपाल एयरलाइन्सको काठमाडौंबाट दाङ, भोजपुर, रुम्जाटार र ताप्लेजुङका उडान रद्द भएका छन्। त्यस्तै, बुद्ध एयरका पोखरा, भैरहवा र तुम्लिङटारका १५ वटा र यती एयरलाइन्सका पनि सोही गन्तव्यका नौ उडान रद्द भएका छन्।  

विहान केही समय उडानमा कुनै अवरोध नरहे पनि दिउँसोतिर एकाएक आकाश धुँवा र धुलोले ढाकिएपछि आइतबारसमेत आन्तरिकतर्फका ४२ उडान रद्द भएका थिए। त्यस्तै, शनिबार पनि ४२ उडान रद्द भएका थिए। पछिल्लो समय आन्तरिकतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० को हाराहारीमा उडान तथा अवतरण हुँदै आएका थिए।  

त्यस्तै, बाह्य मुलुकबाट आउने जहाजले समेत वायुमण्डलीय समस्या भोग्दै आएका छन्। पहिलो दिनदेखि नै आन्तरिक तथा बाह्य मुलुकबाट आएका जहाज डाइभर्ट हुन थालेकामा उक्त समस्या चौथो दिन पनि जारी देखिएको छ। भिजिबिलिटी नहुँदा सोमबारसमेत हङकङबाट आउने ड्रागन एयरको विमान आउन सकेन।

विमान बंगलादेश भिजिबिलिटी कम भएकै कारण आएन। एयर अरेबियाले पनि नेपालको उडान भरेन। स्रोतका अनुसार सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी १८ सयसम्म झरेको छ। विमान बंगलादेशलाई तीन हजार मिटरसम्म भिजिबिलिटी र एयर अरेबियालाई अवतरण गर्न दुई हजार मिटरसम्म भिजिबिलिटी आवश्यक पर्दछ।  

यसअघि अन्तर्राष्ट्रितर्फ दैनिक ३६ उडान तथा अवतरण हुँदै आए पनि शुक्रबार १८ मात्रै भएका थिए। त्यसयता ठूला जहाजहरू नेपाल आउँदा समस्यामा छन्। यता आरोहण सिजनको मुखैमा हवाई मौसमले साथ नदिँदा हेलिकप्टर व्यवसायीलाई समेत थप चिन्ता थपिएको छ। कोरोना भाइरसको संकटबाट तंग्रिदै गएको हेलिकप्टर सेवामा समेत धुँवा र धुलो समस्या बनेको छ।  

हेलिकप्टरले एक हजार मिटर हाराहारीको भिजिबिलिटमा उडान भर्न सक्ने भए पनि नांगो आखाँकै भरमा हेलिकप्टर पाइलटले उडान भर्न नसक्दा उक्त सेवा प्रभावित बनेको हो। हेलिकप्टर व्यवसायीका अनुसार हालको उपत्यकार्को  मौसम (सेनाका बाहेक) आकस्मिक उडानसमेत भर्न समेत नसकिने अवस्थाको छ।

हेलिकप्टर सोसाइटी अफ नेपालमा आवद्ध व्यवसायीका अनुसार कोभिडको समस्याबाट ग्राउन्डेड भएका हेलिकप्टर कम्पनीमध्ये कतिले उडान संख्या बढाउन सकेका छैनन्। कतिपय दिनमा एकदेखि दुईसम्म उडानमा सीमित छन्। यता वायु प्रदूषण बढेकै कारण शिक्षा मन्त्रालयले शनिबारसम्म देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित: १७ चैत्र २०७७ ०५:०१ मंगलबार

हवाई सेवा प्रभावित भिजिबिलिटीकै कारण