अर्थ

अन्नपूर्ण प्रथम आरोहणमा विदेशीको ध्यान

अन्नपूर्ण प्रथम आरोहणका लागि अन्नपूर्ण आधार शिविर पुगेको विदेशी आरोहीको समूह। तस्बिर सौजन्य:सुरेन्द्र पुन

कोरोना भाइरसका कारण थलिएको पर्वतारोहण क्षेत्रमा सुधारका संकेत देखिन थालेका छन्। नेपालका विभिन्न चुचुराको आरोहणका लागि विदेशी आरोहीको टोली आउन थालेको व्यवसायीको भनाइ छ। आरोहीको आगमनले पर्वतारोहण पर्यटनमा सुधार आउन सक्ने अपेक्षा गरिएको छ।  

अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहणका लागि अहिले पाकिस्तान, चीन, अमेरिका, क्यानडासहित विभिन्न मुलुकका आरोही अन्नपूर्ण आधार शिविरमा पुग्ने क्रममा छन्। आरोहीको पहिलो टोली पाकिस्तानी समूह केही दिनअघि नै आधार शिविर पुगिसकेको र अन्य विदेशी आरोही पनि केही दिनभित्रै आधार शिविर पुग्ने आरोहण व्यवस्थापन गरेका कम्पनिले बताएका छन्। नेपाली महिलाको आरोही समूह पनि आरोहणको तयारीमा रहेको छ।  

पाकिस्तानी सहितका आरोहीको आरोहण व्यवस्थापन गरेको इमेजिन नेपालका सञ्चालक मिङमा ग्याल्जेन शेर्पाकाअनुसार विभिन्न ४ वटा समूहका ४० जना विदेशी आरोही अहिले अन्नपूर्ण प्रथम आरोहणको तयारीमा छन्। शेर्पाका अनुसार ती मध्ये दुईजना पाकिस्तानी आरोही पनि रहेका छन्। पाकिस्तानी दुवै जना बिना अक्सिजन आरोहणको तयारीमा रहेका छन्। बिना अक्सिजन आरोहणको तयारीमा रहेका उनीहरू तयारीको क्रममा केहीदिन अघि नै आधार शिविर पुगिसकेको शेर्पाले बताए।

‘बिना अक्सिजन आरोहण गर्ने भएकोले पाकिस्तानी समूह केही दिनअघि नै आधार शिविर पुगेको हो। उचाइसँग अभ्यस्त हुनका लागि पाकिस्तानी आरोही अरूभन्दा केही दिनअघि नै आधार शिविर पुगेको हो,’ उनले भने। पाकिस्तानी बाहेकका आरोही भने अक्सिजन लिएर आरोहणमा जानेछन्।

‘विभिन्न चुचुरा आरोहण गरेका उनीहरू यो पटक अन्नपूर्ण प्रथमको आरोहण तयारीमा जुटेका छन्। अबको चारदिनभित्र बाँकी आरोही पनि आधार शिविर पुगिसक्छन्,’ उनले भने, ‘अहिलेसम्म सबैगरि १५ जना आरोही आधार शिविर पुगिसकेका छन्।’ शेर्पाका अनुसार अप्रिल २० भित्र ती आरोहीले आरोहण गर्नेछन्। उनीहरू अप्रिल महिनाभर नेपालमा रहनेछन्।  

कोरोना संक्रमणको मारमा परेको पर्यटन क्षेत्रमा आरोहणका लागि विदेशी आरोही भित्रिन थालेपछि व्यवसायी उत्साही बनेको उनले बताए। ‘एक वर्षदेखि विदेशी पर्यटक नेपाल भित्रिन पाएका छैनन्। यो अप्ठेरोमा पनि विदेशी आरोहीले नेपालको आरोहणमा चासो देखाएका छन्,’ शेर्पाले भने, ‘एकवर्ष आम्दानी विहीन भएको अवस्थामा अहिले आरोहीले चासो देखाउनु सकारात्मक हो।’ कोरोनाको समस्या भइरहँदा पनि नेपालका चुचुरा आरोहणमा विदेशी आरोहीले चासो देखाउनु सकारात्मक रहेको उनले बताए।  

‘कोरोना त्रासले गर्दा पर्वतारोहण व्यवसायी एकवर्षसम्म कुनै काम गर्न पाएनौं। अब केही हुन्छकी भन्ने अपेक्षा गरेका छौं,’ उनले भने, ‘अन्नपूर्ण मात्र नभई सगरमाथा र अन्य हिमाल आरोहणका लागि पनि विदेशी आउन थालेका छन्। पर्वतारोहण व्यवसायीको दैनिकी नै अप्ठेरो भएको बेला विदेशीको आगमनले उत्साही तुल्याएको छ।’ थोरै संख्यामा भएको आगमनले पनि नेपालको आरोहण क्षेत्रमा सकारात्मक सन्देश पुगेको उनले बताए। व्यवसायीले मात्र नभई पर्वतारोहण क्षेत्रमा लागेका मजदुरले पनि काम पाउने उनले बताए।  

आधार शिविर पुगेको आरोहीलाई म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बिदाई गरेको थियो। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्बुजा पुनका अनुसार ती आरोही म्याग्दी हुँदै आधार शिविर पुगेका थिए। उनीहरूलाई पुनसहितको समूहले आधार शिविर पु¥याएर फर्केका थियो। ‘पाकिस्तानी टिमका आरोहीहरू आरोहण अभ्यासमा जुटिसकेका छन्। 

अरू सहयोगीले व्यवस्थापन गरिरकेका छन,’ पुनले भने, ‘आरोहीको आगमनले गण्डकी प्रदेशको पर्वतीय पर्यटनमा सकारात्मक सन्देश प्रवाह भएको छ।’ आरोहणका लागि आएको टिम गत मंगलबार आधारशिविर पुगेको थियो।  पर्यटन विभागमा अनुसार यो सिजनमा अन्नपूर्ण प्रथम आरोहणका लागि अहिलेसम्म ४० जना विदेशी आरोहीले अनुमति लिएका छन्। ती बाहेक नुप्त्से र मनास्लु हिमाल आरोहणका लागि पनि विदेशीले आरोहण लिएको विभागको तथ्यांक छ। 

आरोहण अनुमति लिनेमा सबैगरि १५ जना महिला र ३० जना पुरुष आरोही रहेको विभागले बताएको छ।  नेपाल पर्वतारोहण संघका गण्डकी प्रदेश अध्यक्ष शेषकान्त शर्मा कोरोना भाइरसका कारण त्रासमा रहेको पर्यटन क्षेत्रले सानो आकारमा भए पनि विदेशी आरोही पाउँदा सकारात्मक सन्देश फैलिएको बताउँछन्। ‘कोरोनाले सबैभन्दा बढी मारमा परेको क्षेत्र पर्यटन नै हो। अहिले पनि अप्ठेरो कायम नै छ,’ उनले भने, ‘यही अप्ठेरोमा पनि विदेशी पाहुना धमाधम आरोहणका लागि आएका छन्। यसले सकारात्मक सन्देश दिएको छ।’

प्रकाशित: १६ चैत्र २०७७ ०३:१८ सोमबार

अन्नपूर्ण प्रथम आरोहण विदेशीको ध्यान