धुँवा र धुलोका कणले भिजिविलिटी नपुग्दा शनिबार पोखराबाट हुने सबै हवाई उडान रद्द भएका छन् । शनिबार पोखराबाट विभिन्न गन्तव्यका लागि २८ वटा उडान तय गरिएको भएपनि भिजिविलिटी नपुग्दा सबै उडान रद्द भएको पोखरा विमानस्थलले बताएको छ ।
पोखरा विमानस्थलका अनुसार यहाँको भिजिविलिटी शनिबार निकै नै कम भएको थियो । विमानस्थलका सुचना अधिकारी देवराज सुवेदीले सबै उडान रद्द भएको जानकारी दिए । उनका अनुसार बुद्धका १०, यतीका ७, ताराका ५, समिटका ५ र श्री एयरलाइन्सको एक गरि २८ वटा उडान रद्द भएका छन । पोखराबाट काठमाडौं, भैरहवा, जोमसोमका लागि शनिबार उडान तय गरिएका थिए । पोखराबाट तारा र समिट एयरले जोमसोमका लागि ५–५ वटा उडान तय गरेका थिए । अरु सबै उडान काठमाडौं र एउटा मात्र भैरहवाका लागि थिए ।
‘शनिबार २८ वटा रद्द भएका छन्,’ उनले भने, ‘जहाज उडानका लागि भिजिविलिटी अपुग भएकोले उडान हुने सम्भावना नै भएन ।’ पोखरामा उडान हुन विमानस्थलको भिजिविलिटी ५ किलोमिटर हुनुपर्छ । तर शनिबार बिहान पोखराको भिजिविलिटी २५ सय मिटर रहेकोमा मध्यान्हमा झनै कम भएर एक किलोमिटरमा झरेको थियो । ‘शुक्रबार पनि चारवटा उडान भिजिविलिटी नपुगेकै कारण रद्द भएका थिए,’ सुवेदीले भने ।
प्रकाशित: १४ चैत्र २०७७ १०:१२ शनिबार