अर्थ

राजस्व लक्ष्यको ९८ प्रतिशत

सरकारले चालु आवको फागुनसम्ममा ६ खर्ब ३ अर्ब ९२ करोड रूपैयाँ राजस्व असुली गरेको छ। यो वार्षिक लक्ष्यको तुलनामा करिब ६० प्रतिशत हो भने फागुनसम्मको लक्ष्यको (७८) प्रतिशत हो। यस्तै, चैत ११ सम्म ६ खर्ब ४१ अर्ब राजस्व असुली भएको अर्थ मन्त्रालयले जनाएको छ। सरकारले १० खर्ब ११ अर्ब रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेको थियो।

अर्थ मन्त्रालयमा बुधबार आयोजित दोस्रो चौमासिक समिक्षा कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले कोभिड १९ ले प्रभाव पारे पनि राजस्व लक्ष्य फेला पर्ने बताए। उनले पर्यटनबाहेक धेरै क्षेत्र सामान्य अवस्थामा फर्किसकेको भन्दै लक्ष्यभन्दा धेरै राजस्व असुल गरी परिणाम निकाल्न निर्देशन दिए।  

अर्थका अनुसार फागुन मसान्तसम्ममा चालुतर्फ चार खर्ब ५५ अर्ब रूपैयाँ खर्च भएको छ। यो वार्षिक लक्ष्यको तुलनामा ४८.१८ प्रतिशत हो। यस्तै, पुँजीगततर्फ ७९ अर्ब ८७ करोड रूपैयाँ खर्च भएको छ। यो वार्षिक लक्ष्यको २२.४४ प्रतिशत हो। अर्थसचिव शिशिरकुमार ढुंगानाले पूर्व निर्धारित कार्यक्रम अनुसार खर्च बढाउनका लागि सबै निकाय विशेष सक्रिय हुन जरुरी रहेको बताए।

राष्टिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले योजना बनाउँदा नै विशेष ध्यान दिन आवश्यक रहेको भन्दै सहजीकरणका लागि अर्थले विशेष भूमिका खेल्नुपर्ने बताए। गभर्नर महाप्रसाद अधिकारीले कोभिडले सिर्जना गरेको चुनौतीलाई सामाना गर्न सहुलियत कर्जा, पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा लगायतका कार्यक्रम ल्याएको जानकारी दिए।

प्रकाशित: १२ चैत्र २०७७ ०३:५१ बिहीबार

अर्थ मन्त्रालय अर्थमन्त्री विष्णु पौडेल राजस्व लक्ष्यको ९८ प्रतिशत